सय जना क्षमताको कारागारमा ३९० जना, जबरजस्ती करणी मुद्दाका कैदी र थुनुवा सबैभन्दा बढि
सुर्खेत : ७० पुरुष र ३० जना महिला गरी जिल्ला कारागार सुर्खेतको क्षमता एक सय जनाको हो। तर, कारागारमा मंगलबार साँझसम्म तीन सय ९० जना कैदी तथा थुनुवा छन्। जसमा तीन सय ४७ जना पुरुष छन् भने ४३ जना महिला।
मुगु र हुम्लामा कारागार छैन, जाजरकोटमा महिलाका लागि बन्दी गृह नहुँदा त्यहाँका सबै थुनुवा र कैदीलाई सुर्खेत नै ल्याउनुपर्छ।
जसमध्ये पनि पुर्पक्षका लागि थुनामा १०७ जना पुरुष र पाँच महिला छन् भने पुरुष कैदी २४० र महिला ३८ जना छन्। एक आश्रित बालक र बालिका पनि छन् कारागारमा।
पछिल्लो समय अपराधको मात्रा बढेकाले भवनले कैदी तथा बन्दीलाई थेग्न नसक्ने स्थिति रहेको कारागारका सूचना अधिकारी (नायब सुब्बा) भुवन गौतमले बताए। नयाँ पक्की भवनमा सारेपछि पहिलाको तुलनामा केही सहज भने भएको उनको स्वीकारोक्ति छ।
‘नयाँ भवन बनेपछि पालमा राख्नुपर्ने अवस्था अन्त्य भएकाले पहिलाभन्दा केही सहज छ त,’ उनले भने, ‘अहिलेको भवन पनि पुरानो ‘इष्टिमेट’ अनुसार बनेकाले केही समस्या त भइहाल्छ। फेरि अर्को कुरा पछिल्लो समय अपराधको मात्रा पनि बढ्दो छ।’
सूचना अधिकारी गौतमका अनुसार मुगु र हुम्लामा कारागार छैन, जाजरकोटमा महिलाका लागि बन्दी गृह नहुँदा त्यहाँका सबै थुनुवा र कैदीलाई सुर्खेत नै ल्याउनुपर्छ।
जबरजस्ती करणीका कैदी तथा थुनुवा यहाँ सबैभन्दा बढि छन्।
कर्तव्य ज्यानमा पुर्पक्षका लागि ४१ पुरुष र १४ महिला गरी ५५ जना थुनुवा र कैदी छन्। जसमध्ये १५ थुनुवा र ४० कैदी हुन्। ज्यान मार्ने उद्योगमा आठ जना पुरुष कैदी तथा थुनुवा हुँदा महिला छैनन्।
यस्तै, जबरजस्ती करणीका कैदी तथा थुनुवा यहाँ सबैभन्दा बढि छन्। ३८ थुनुवा र ७० कैदी गरी १०८ जना पुरुष र सोही मुद्दामा १ जना महिला गरी १०९ जना जबरजस्ती करणी मुद्दा खेपिरहेका कैदी तथा थुनुवा कारागारमा छन्।
जबरजस्ती करणी उद्योगमा ८ जना, लागूऔषधमा ९५ जना, सवारी ज्यान मुद्दामा १२ जना कारागारमा थुनिएका छन्।
सार्वजनिक अपराध र अभद्र व्यवहारमा एक पुरुष थुनुवा छन् भने बहुविवाह र बालविवाहमा ३० जना छन्।
वन पैदावर मुद्दामा एक कैदी पुरुष रहँदा संरक्षित वन्यजन्तुमा दुई पुरुष थुनुवा र सात कैदी छन्। मानव बेचविखन दुई कैदी पुरुष, एक थुनुवा र दुई महिला कैदी छन्।
त्यसैगरी किर्ते र सरकारी छापको दुरुपयोगमा तीन पुरुष र दुई महिला कैदीबन्दी हुँदा ठगी/लेनदेनमा तीन पुरुष थुनुवा र ६ कैदी छन्। ठगीमै एक महिला कैदी छन्।
कुटपिट अङ्गभङ्ग मुद्दामा एक पुरुष थुनुवा रहँदा चोरीमा ४२ कैदी तथा थुनुवा छन्।
फागुन २४, २०७९ बुधबार ०७:४५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।