मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति दिएको छैन : प्रचण्ड

मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति दिएको छैन : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका छन्। 

एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो जवाफ आएको हो।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले मुस्ताङको विषयमा बडो चर्चा भइरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको उनले बताए।

उनले भने, ‘हिजोआज एउटा चर्चा छ। मुस्ताङमा बौद्ध युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो। पक्कै पनि त्यहाँ स्थानीय तहबाट युनिभर्सिटी खोल्ने भन्दा पनि कलेज खोल्ने चर्चा धेरै पहिले देखि भएको रहेछ। तर नेपाल सरकारले कहीँ कतै स्वीकृति दिएको स्थिति होइन।’

एमाले अध्यक्ष ओलीको नाम नलिई प्रधानमन्त्री दाहालले यस विषयमा कसैलाई आरोप/प्रत्यारोप गर्ने पक्षमा नरहेको बताए।

उनले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशीहरु बढि जानकार रहेको र ती अमूल्य खनिज पदार्थको ठीक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने उल्लेख गरे। 

फागुन २३, २०७९ मंगलबार १८:०१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।