प्रचण्डविरुद्धको रिट : तत्काल पक्राउ गरेर अनुसन्धान गर्न अन्तरिम आदेशको माग (निवेदनसहित)
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मंगलबार सर्वोच्चमा दर्ता भएको रिटमा उनलाई तत्काल पक्राउ गर्नुपर्ने मागसमेत गरिएको छ।
प्रचण्डले यसअघि दिएको अभिव्यक्तिलाई नै आधार बनाएर सर्वोच्चमा दायर भएको रिटको तेस्रो मागमा उनलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन विपक्षीहरूको नाममा अन्तरिम आदेश माग गरिएको छ।
निवेदनमा भनिएको छ, ‘प्रचण्डको हामी निवेदकहरू समेतको परिवारको सदस्य मारेको स्वीकारोक्तियुक्त आपत्तिजनक अभिव्यक्ति (भाषणको ट्रान्सकृष्ट) सूचना सञ्जाल युट्युब तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा हालसम्म प्रसारित/प्रकाशित भैरहेका हुनाले निजलाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउनु (नबढाएमा पीडितलाई अपुरणीय क्षति पुग्न जाने विधिको शासन माथि प्रश्न चिन्ह उठ्ने सुविधा र सन्तुलनको मान्यता विपरित पनि हुने भएकोले) भनी विपक्षीहरुका नाममा सर्वाेच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी पाऊँ।’
अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले दाहालविरुद्ध रिट दायर गरेको रिटमा दाहालसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, कानून मन्त्रालय, सत्य निरुपण तथा मेलमिलाप आयोग र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ।
मंगलबार दर्ता भएको यो रिटलाई लिएर नेकपा माओवादीभित्र यसअघि नै खैलाबैला मच्चिएको थियो भने मंगलबार बिहान बसेको माओवादी धारका नेताहरुको बैठकले प्रतिवाद गर्ने निर्णय पनि गरेको छ।
रिटकर्ताको निवेदन खारेज गर्ने सर्वोच्चका रजिष्ट्रारको आदेश सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासले गत शुक्रबार बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो।
रिटको पेशी राष्ट्रपति निर्वाचन भएको दिन बिहीबारलाई तोकिएको छ।
फागुन २३, २०७९ मंगलबार १४:०७:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।