प्रचण्डविरुद्ध सर्वोच्चमा रिट, बिहीबारलाई तोकियो पेशी

प्रचण्डविरुद्ध सर्वोच्चमा रिट, बिहीबारलाई तोकियो पेशी

काठमाडौं : प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

ज्ञानेन्द्र राज आरणलगायतले प्रधानमन्त्री दाहालविरुद्ध रिट दायर गरेका हुन्। माओवादी सशस्त्र युद्धमा मारिएका १७ जनाको परिवारले संयुक्त रूपमा उनीविरुद्ध निवेदन दिएका हुन्।

१ माघ २०७६ मा टुँडिखेलमा भएको एक कार्यक्रममा दाहालले सशस्त्र द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका थिए।

त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत गएका थिए।

सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) आदेश गरेको थियो।

त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार कानुन व्यवसायीहरु पुनः रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्।

रिटको पेसी बिहीबारलाई तोकिएको छ।

फागुन २३, २०७९ मंगलबार १२:५२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।