अंश मुद्दा हालेपछि निशाले भनिन्– म, शरद र युवान ठिक छौं
काठमाडौं : अभिनेत्री निशा अधिकारीले श्रीमान् शरद भेषावकर विरुद्ध हालेको अंश मुद्दाको खबरबीच आफूहरू ठिकठाक रहेको बताएकी छन्।
आफ्नो सामाजिक सञ्जालमा लामो स्टाटस पोस्ट गर्दै उनले उनले होली मनाएको आफ्नो एक तस्बिरसहित उक्त स्टाटस पोस्ट गरेकी हुन्।
निशाले यो आफूहरूको निजी मामला भएको बताए पनि अंश मुद्दा हाल्नुको कारणबारे केही खुलाएकी छैनन्। यो विषयलाई परिपक्वता र करुणाका साथ सुल्झाउने उनको भनाइ छ।
स्टाटसमा उनले लेखेकी छन्, ‘म न त लुकाउने छु न त धेरै व्याख्या गर्न जाँदैछु। यो हाम्रो व्यक्तिगत मामिला हो र हामी अत्यन्त परिपक्वता र करुणाका साथ सबैभन्दा राम्रो तरिकाले काम गरिरहेका छौँ।’
निशाका पति शरद भेषावकर क्रिकेटर हुन्। शरदले पछिल्लो समय राष्ट्रिय टीमबाट स्थान गुमाएका छन्।
निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी थिइन्। निशा र शरदको एक छोरा पनि छन्।
एकल सन्तानका रूपमा रहेका नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा हालेकी हुन्। विवाह गरेको पाँच वर्षमै यी दुईको सम्बन्धमा दरार आएको हो।
निशाले सम्बन्ध विच्छेदको मुद्दा भने दिएकी छैनन्। सम्बन्ध विच्छेद नगरीकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधान छ।
फागुन २३, २०७९ मंगलबार ०८:५५:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।