अनमोललाई छड्के-२ को झड्का, निगममाथिको विश्वासले करिअरै धरापमा

अनमोललाई छड्के-२ को झड्का, निगममाथिको विश्वासले करिअरै धरापमा

काठमाडौँ : छड्के-२ मा पहिला अभिनेता विपिन कार्की अनुबन्ध भएका थिए। उनले सिर्जनात्मक असमझदारी भन्दै फिल्म छाडेपछि उनको स्थानमा अनमोल केसी अनुबन्ध हुँदा नै नेपाली फिल्मका जानकारहरूका लागि सरप्राइज भयो।

फिल्मको लेखनकै क्रममा जन्मिएका क्यारेक्टर अनुसार अभिनेताको चयन हुने हो। सायद लेखक समेत रहेका निर्देशक निगमले पहिला विपिनलाई अफर गर्नुको कारण क्यारेक्टर नै त होला।

जब विपिनले छाडे अभिनयका आधारमा उनको विकल्प अनमोल हुन सक्दैनथे। सौगात मल्ल अनुबन्धित भएको भए पनि छक्क पर्ने अवस्था हुने थिएन। निगमले अनमोललाई अफर गरे। अनमोलले हुन्छ भने।

फिल्म रिलिज भएपछिको समीक्षा अनि रित्तो हलले विपिनले भनेको सिर्जनात्मक असमझदारी के रहेछ प्रस्ट भयो। अभिनेता अनमोलको क्रेज गज्जब छ युवा पुस्तामा। त्यही क्रेजले होस्टेल बाहेकका उनका कमजोर फिल्मले पनि राम्रै व्यापार गरेको थियो।

तर छड्के २ मा आएर उनका फ्यानहरू पनि दिक्क भएको देखियो। यो अनमोलको फिल्मी करिअरका लागि ठुलै झड्का हो।

फिल्मको सुटिङ अगाडि वर्कसप पनि भएकै हो। चितवनमा वर्कसप चलिरहँदा निर्देशक निगमले भनेका थिए'अनमोल अहिलेसम्मको भिन्न भूमिकामा देखिने तयारीका लागि उनले क्यारेक्टर एडप्ट गरिरहेका छन्। एउटा स्टारले आफ्नो क्यारेक्टरलाई जीवन्त बनाउन गरेको यो सङ्घर्षले टिमलाई ऊर्जा मिलेको छ। अनमोलले हामीले सोचेको भन्दा बढी मेहनत गरिरहेका छन्।’

अनमोलको अभिनय गर्दै आएको क्यारेक्टरहरू हेर्ने हो भने छड्के- २ मा उनले जोखिम उठाएकै हुन्। मिहिनेत गरेको पनि देखिन्छ। तर समस्या निर्देशन र कथामा थियो।

वर्कसपमा अनमोल जस्तै निगमले कथा र निर्देशनको वर्कसप लिएको भए फिल्मको व्यापार यत्तिको धुलोपिठो हुन्नथ्यो कि! अनमोलको करिअर यसरी दाउमा पर्दैनथ्यो होला की!

अनमोलले कुनै फिल्म गर्नु अगाडि त्यसको स्टोरीदेखिको सबै पक्ष उनको बुबा भुवन केसी अनि बुबाकी प्रेमिका जिया केसीले हेर्छिन् भनिन्छ। अर्को उनको करिअरप्रति चिन्तित फिल्मबारे राम्रै ज्ञान भएका कला पत्रकारहरू पनि उनका सल्लाहकार छन्।

उनी आफैँ पनि स्क्रिप्टमा निकै चनाखो छन् पनि भनिन्छ। तर छड्के-२ हेर्दा यी सबै मार्केटिङका लागि फैलाएको अफवाह पो हो कि भन्ने शङ्का पनि बढाएको छ अनमोलबारे।

अनमोललाई झड्का दह्रै लागेको छ छड्के-२ बाट। तर एकै फिल्म असफलहुँदैमा करिअरै ढली हाल्ने भने हैन। तर भोलिका दिनमा पनि यस्तै फिल्ममा अभिनय गर्ने हो भने त कति दिन धानिएला र उनको स्टारडम।

यो समय उनको बुबाको समयको जस्तो पनि हैन। अहिलेको फिल्मी बजारमा जति छिटो उदाइन्छ त्यति सजिलै अस्ताइन्छ पनि। यति त उनलाई पनि पक्कै जानकारी होला नै।

फागुन २२, २०७९ सोमबार २२:१७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।