श्रीमतीले बलात्कार मुद्दा दायर गरेपछि नवाजुद्दीनले तोडे मौनता

श्रीमतीले बलात्कार मुद्दा दायर गरेपछि नवाजुद्दीनले तोडे मौनता

एजेन्सी : भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीले आफ्नी श्रीमती आलिया जैनबको आरोपमा पहिलो पटक मौनता तोडेका छन्।

नवाजले समाजिक सञ्जाल इन्स्टाग्राममार्फत मौनता तोड्दै आलियाले लगाएको सबै आरोपलाई नाटक भएको बताएका हुन्।

‘के कसैलाई थाहा छ मेरा छोराछोरीहरू गत ४५ दिनदेखि बन्धकमा छन् र विद्यालय जाँदैनन्,’ नवाजले लेखेका छन्, ‘हरेक दिन विद्यालयबाट अनुपस्थित रहेको चिठी आइरहेको छ।’

हालसम्म आफू मौन रहेकाले जताततै गलत सबित भएको पनि उनले उल्लेख गरेका छन्।

नवाजले थपे, ‘म र आलिया विगत केही वर्षदेखि सँगै बस्दैनौँ। हाम्रो सम्बन्ध विच्छेद भइसकेको छ। तर, सन्तानको खातिर मात्रै जोडिएका थियौं। सामाजिक सञ्जाल प्लेटफर्म, प्रेस र केही व्यक्तिहरूको समूहले मेरो चरित्र हत्यालाई एकतर्फी रूपमा र भिडियोहरू मार्फत आनन्द उठाए।’

आलियालाई बच्चाको राम्रो पालनपोषणका लागि विगत दुई वर्षदेखि हरेक महिना १० लाख भारतीय रूपैयाँ दिने गरेको नवाजले बताएका छन्।

आलिया छोराछोरी लिएर दुबई जाँदा उनलाई नवाजले स्कुलको शुल्क, मेडिकल र यात्रा खर्चसहित हरेक महिना ५–७ लाख भारतीय रूपैयाँ पठाउने गरेको उल्लेख गरेका छन्।

आलियाले पैसाको कारण आफू र आफ्नी मेरी आमालाई विभिन्न आरोप लगाएको नवाजले बताएका छन्। यसअघि पनि आलियाले यस्तो गरेको र पैसा पाएपछि मुद्दा फिर्ता लिएको बताएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार नवाजकी आमा मेहरुनिसा सिद्दिकीले केही समयअघि आफ्नी बुहारी आलियाविरुद्ध उजुरी दर्ता गरेकी थिइन्।

सम्पतिको विषयलाई लिएर आलियाविरुद्ध उजुरी परेको थियो। सोही समयदेखि उक्त विवाद बढ्दै गएको हो। आलियाले आफूलाई घरमा नजरबन्दमा राखेको आरोप समेत केही समय अगाडि लगाएकी थिइन्।

आलियाले गतसाता नवाजविरुद्ध बलात्कारको मुद्दा समेत दर्ता गरेकी थिइन्। यतिमात्रै नभएर केही दिनअघि आलियाले आफूलाई र छोराछोरीलाई घरबाट निकालेको आरोप लगाउँदै भिडियो सार्वजनिक गरेकी थिइन्।

फागुन २२, २०७९ सोमबार २१:०२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।