ताहाचलका मसला साहुजी सुरज : एघार वर्षमै अंशबण्डा अनी सोह्रमै बिहे

ताहाचलका मसला साहुजी सुरज : एघार वर्षमै अंशबण्डा अनी सोह्रमै बिहे

३० वर्षदेखि ताहाचलको साँघुरो पसलबाट टोलभर मसलाको सुगन्ध फैलाइरहेका छन्, सुरज तिमल्सिना। सबेरै उठेर पसलमा आएपछि ११ बजेसम्म मसला पिसेर सक्छन्। अनि पालो श्रीमतीको। आफूचाहिँ खानपिन गरेर ‘अर्डर’ आएका ठाउँमा ‘डेलिभरी’का लागि जान्छन्। दिउँसोको चार बजेसम्म काम सकेर फेरि श्रीमतीलाई पालो दिन्छन्। अनि बेलुकी आठ बजेसम्म उनै बस्छन् पसलमा।

१६ वर्षमै ऋण खोजे अनि पसल खोले। ऋण खोजेको पैसा मसला पिस्ने दुईवटा मेसिनमै खर्च भयो। सुरूमा मेसिनसहित जम्मा १७ प्रकारका मसला राखे।

पुर्ख्यौली पेशा नभए पनि उनको दाइ मसलाकै काम गर्थे। दाइसँग काम गर्दै जाँदा उनी पनि यसमा होमिए। यसअघि बानेश्वर र चाबहिलमा समेत मसलको काम गरेका उनले ताहाचल पसल राखेको भने २७ वर्ष पूरा भयो।

काभ्रेमा जन्मिएका सुरज कक्षा १० पास गर्नेबित्तिकै विवाह गरेर काठमाडौं आए। ठूलो परिवारमा जन्मिएका उनी एघार वर्षको नहुँदै अंशबण्डा भयो रे। विवाह पनि चाँडै नै। आमाबुवाको सहारा बनेका उनले परिवार छाड्न नमिल्ने भएपछि मागी विवाह गरेका रहेछन्।

‘बाल्यकाल यस्तै हो पढ्ने। अलि–अलि खेतीपाती। त्यतिखेर पढ्नुभन्दा कमाउनु नै ठूलो हुन्थ्यो,’ आफू काठमाडौं आएको बेला सम्झन्छन् उनी, ‘त्यै भएर बिहे गर्नेबित्तिकै आएको। उनी(श्रीमती)लाई त पाँच वर्षपछि मात्र ल्याएको। आएकै दिनदेखि पसलमा साथ दिइन्।’

१६ वर्षदेखि नै उनी आफ्नो दाइ र दाइको साथीको संगतले व्यवसाय गर्न तम्सिए। ऋण खोजे अनि पसल खोले। ऋण खोजेको पैसा मसला पिस्ने दुईवटा मेसिनमै खर्च भयो। सुरूमा मेसिनसहित जम्मा १७ प्रकारका मसला राखे।

‘अहिले त बजारमा पाइने सबै मसला राखेको छु। करिब ५० प्रकारका मसला छन्,’ दङ्ग पर्दै उनी सुनाउँछन्।

उनी मसला पिस्ने, बेच्ने अनि अर्डर अनुसार विभिन्न होटेल, अस्पतालको क्यान्टिनहरूमा पुर्याउन पनि जान्छन्।

‘जिरा, धनियाँ, ल्वाङ, सुकमेल, मरिच, गरम मसला, बेसार, खुर्सानी अनि विशेष भनेको पछिल्लो समय चाउमिन मसला हो,’ उनले सरासर सुनाए, ‘अनि चिकेन, भेज सबै छ। सबैभन्दा बढि बिक्री हुने चाहिँ जिरा-धनियाँ नै हो। मिट मसला, करी मसला, चाट मसला पनि राखेको छु।’

सुँघेरै थाहा पाउँछन्, मसलाको सुगन्ध र गुणस्तर!
मसलाको गुणस्तर सुँघेरै थाहा पाउँछन् उनी। मसलाका पारखीहरू बजारमा पाइने बिग्रेको मसलाको ठगीमा पर्न नसक्ने उनको तर्क छ। अहिले तुलनात्मक रूपमा धेरै मान्छेहरूले मसला कम खाने गरेको पनि उनको अनुभव छ।

‘एक किलो लानेले अहिले आधा किलोसम्म मात्र लाने गर्छ। मसलाले गर्मी हुने अनि मोटोपना बढ्ने भएपछि मसलाको खपत कम भयो,’ उनी अगाडि थप्छन्, ‘तर, ग्राहक भने अझै मेरैमा आउँछन्।’

भर्खर–भर्खर पसल खोलेको बेला लोडसेडिङले धेरै दुःख पाएको सम्झन्छन् उनी।

‘तीन घण्टा मात्र बत्ती आउने भएकाले त्यसै बेला सबै काम सक्नुपर्थ्यो। त्यो बेला आफ्नोसँगै ग्राहकको मसला पिसिसक्नुपर्थ्यो’, उनी सुनाउँछन्।

अहिले भने दिनभरजसो आरामले काम गर्न पाएकोमा खुसी छन् सुरज। केहि सुधार भए पनि व्यापारको हिसाबले अहिले पनि खासै फरक नभएको उनको अनुभव छ। नयाँ ग्राहक बढेका छैनन्। पुरानै ग्राहकको नियमितताले खुसी छन् उनी।

पसल राखेको ४ वर्षसम्मका उनले सबै ऋण तिरे। लकडाउनको असर उनको पसलमा पनि पर्यो। तर, सबैले फोन गरेरै बोलाउन थालेपछि उनी बेला–बेला जान थाले। धेरै समय नखोले पनि जति समय खोलिन्थ्यो त्यति समय उनलाई भ्याइ–नभ्याइ हुन्थ्यो। उधारोबाहेक अहिले पनि दैनिक १२ हजारसम्मको व्यापार हुने उनी बताउँछन्।

३० वर्षमध्ये बीचको केही समयमा उनले जग्गा प्लटिङको काममा पनि हात हालेका रहेछन्।

इन्डियन मसला धेरै प्रकारको, धेरै क्वालिटीको आउँछ। दुई नम्बरी भए पनि यहाँ प्याकिङ्ग भएर चलाइहाल्छ। कसले रोक्न सक्छ र!

‘त्यै भएर त्यो मौकामा घर त बनाइहालेँ। नत्र यो पसल चलाएर घर बनाउन सक्ने अवस्था नै छैन,’ उनी भन्छन्, ‘केहि वर्ष मात्र गरेँ, त्यसपछि त प्लटिङ गर्न दिइएन। अनि पूरै समय फेरि पसललाई नै दिएँ।’

‘मास्कले पोल्छ’
सुरजलाई मसलाको काम गर्दा अहिलेसम्म अप्ठयारो महसुस गर्नुपरेको छैन। तर, भविष्यमा चाहिँ गाह्रो हुने हो कि भन्ने डर रहेछ।

उनी थप्छन्, ‘मसलाको गन्धले नाकलाई भन्दा छातीलाई गाह्रो हुन्छ कि भन्ने छ। मास्क लगाएर पनि हुँदैन, झन् पोल्छ।’

मसला पिस्दा सहने क्षमता हुनुपर्ने बताउँछन् सुरज। खुर्सानी, जिरा, धनियाँ सबै पिस्दा उत्तिकै गाह्रो हुने उनको अनुभव छ।

‘सहने क्षमता चाहिँ हुनुपर्छ। अब विदेश जानुभन्दा त नेपालमै गर्नु राम्रो नि त!,’ उनी अगाडि भन्छन्, ‘यसले अलिकति असर त गर्ला तर सिमेन्ट जस्तो त नहोला नि! यो त जे भए पनि खाद्यान्न नै हो।’

उमेरले ४४ वर्षका भए सुरज। उमेर बढेसँगै मसला पिस्न पनि पहिलाको जस्तो सजिलो महसुस नहुने बताउँछन् उनी।

‘युवा जोसमा बल सँगै आँट पनि हुन्थ्यो। त्यै भएर गाह्रो भएको मतलब भएन,’ उनी हाँस्दै सुनाउँछन्, ‘अहिले चाहिँ बानी भएर मतलब भइरहेको छैन।’

बीचमा उनलाई काम नै छाड्न पनि मन नलागेको होइन। तर श्रीमतीले आँट दिइन्। श्रीमतीले काम गरेको देख्दा उनलाई थप ऊर्जा मिल्थ्यो।

‘दैनिक डेढसय किलो मसला पिस्छु’
अहिले पनि सुरजको पसलमा दैनिक डेढ सय किलोसम्म मसला पिसिन्छ। उनको पछिल्लो समय प्रतिष्पर्धा भारतीय मसलासँग हो रे।

उनी अगाडि थप्छन्, ‘इन्डियन मसला धेरै प्रकारको, धेरै क्वालिटीको आउँछ। दुई नम्बरी भए पनि यहाँ प्याकिङ्ग भएर चलाइहाल्छ। कसले रोक्न सक्छ र!’

सुरजले अलैँचीबाहेक अरु सबै मसला विदेशबाट मगाउँछन्। अलैँची चाहिँ काभ्रे, इलाम अनि रामेछापबाट ल्याउँछन्।

बच्चाहरूले पनि यहाँ काम छोड्नु भनेकै हो। तर, अब उनीहरू आफैँ कमाउने भइसक्यो। हामी बुढाबुढीलाइ यति भए पछि मज्जाले पुग्छ।

अहिले बजारमा सबै भन्दा महँगो सुकमेल छ रे। झन्डै ७ हजारसम्म पुगिसकेको सुकमेलको भाउ अहिले दुई हजार रुपैयाँ किलो छ। सबैले मन पराउने मसलाको गन्ध भनेको पनि सुकमेलकै भएको उनको दाबी छ।

सुरजलाई अहिले आफ्नो पसल साँघुरो लाग्दैछ। तर, पुरानो ग्राहकको लोभले छोडेर अन्त गइहाल्न पनि मन लागेको छैन।

‘नयाँ ठाउँ खोज्दा खोज्दै यता आइपुगेको। कालिमाटी होलसेल हो त्यै भएर त्यसको वरपर गर्न खोजेको थिए। कुलेश्वरमा धेरै महंगो भयो। त्यै भएर त्यसको अपोजिट हेर्दा यहाँ आइपुगे,’ उनले सुनाए।

अहिले फाट्टफुट्ट नियमित ग्राहक आए पनि दशैंको समयमा भने थामिनसक्नु भीड हुने गरेको उनी बताउँछन्। विशेष चाडबाहेक विहान र बेलुका चाहिँ उनको पसलमा अहिले पनि उत्तिकै भीड लाग्ने गर्छ। त्यसकारण पनि उनलाई अन्त सर्न चाहँदैनन्।

अनि फेरि सोच्छन्, ‘बच्चाहरूले पनि यहाँ काम छोड्नु भनेकै हो। तर, अब उनीहरू आफैँ कमाउने भइसक्यो। हामी बुढाबुढीलाइ यति भए पछि मज्जाले पुग्छ।’

फागुन २२, २०७९ सोमबार १९:४६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।