अनुगमनबाट जोगिन सटर नै बन्द गरेर भागे व्यवसायीहरू

अनुगमनबाट जोगिन सटर नै बन्द गरेर भागे व्यवसायीहरू

बुटवल : बजार अनुगमनबाट जोगिन रुपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईका स्थानीय व्यवसायीहरू सटर बन्द गरेर भागेका छन्।

सोमबार बजार अनुगमन गर्न जिल्ला अनुगमन समिति धकधई बजार पुगेको थियो। समितिले केही पसलहरूमा अनुगमन सुरु गरेपछि व्यवसायीले पसल बन्द गरेर अनुगमन समितिलाई छलेका हुन्।

धकधई बजारका ७ वटा पसलमा एकैपटक समितिले अनुगमन गरेको थियो। त्यसपछि अन्य व्यवसायी धमाधम सटर बन्द गरेको अनुगमन समिति संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए।

‘सटर बन्द गरेर अनुगमनलाई असहयोग गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याइने छ’, उनले भने, ‘केहीलाई फोन गरेर ३ दिनभित्र प्रशासनमा कागजपत्र लिएर हाजिर हुन् निर्देशन दिएका छौं, अन्यलाई फेरि अनुगमन गरेर गलत भेटिए कारबाही गर्छौं।’

समितिले केही पसलहरूमा अनुगमन गरेको थाहा पाएपछि होलसेल मार्ट, किराना, खाद्यान्न, इलेक्ट्रिक, होटल तथा रेष्टुरेन्ट, मिठाई, पान लगायतका व्यवसायीले व्यवसाय बन्द गरेर भागेको अर्यालले जानकारी दिए।

‘हामीले पसल बन्द नगर्न आग्रह गरे पनि अटेरी गरेर धमाधम पसल बन्द गरेको पाइयो,’ उनले भने, ‘प्रक्रियागत रुपमा राम्रो ढंगबाटै व्यवसाय गरेका कुनै पनि व्यवसायी अनुगमनबाट डराउनु पर्दैन। गलत गर्ने मात्रै यसरी भाग्छन्।’

समितिले भैरहवा–परासी सडक खण्डमा पर्ने ओमसतिया गाउँपालिका–४, बालापुर र बसन्तपुरका ४ वटा पसल तथा रोहणीको धकधई क्षेत्रका ७ वटा पसलहरूमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा भन्सार छली गरी अवैध रुपमा नेपाल भित्र्याइएका भारतीय सुर्ती र गुट्खाजन्य वस्तु बरामद गरिएको छ। बरमद गरिएको गुट्खा तथा सुर्तीजन्य पदार्थ नष्ट गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

समितिका अनुसार दुई बोरा सुर्ती तथा गुट्खाजन्य पदार्थ जफत गरिएको छ ।

सुर्ती तथा गुट्खाजन्य पदार्थ बाह्य मुलुकबाट आयात गर्दा खरिद गरेको मूल्यको ८० प्रतिशत भन्सार महसुल, १३ प्रतिशत मूल्य अभिबृद्धि कर, प्रतिकिलो ८ सय २१ रुपैयाँ अन्तःशुल्क र ६० रुपैयाँ स्वास्थ्य जोखिम कर लाग्छ। यस्ता कर छली गर्न व्यवसायीले अवैध बाटोबाट गुट्खा तथा सुर्तीजन्य पदार्थ नेपाल भित्र्याइरहेका छन्।

लुम्बिनी प्रदेशको उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक दामोदर भण्डारीले अनुगमनका क्रममा दर्ता तथा नवीकरणबिना सुर्तीजन्य पदार्थ बिक्रीवितरण गरिरहेको र अवैध भारतीय गुट्खा बिक्री गरेको पाइएको बताए।

उनले अवैध सुर्तीजन्य पदार्थ जफत गरेर र व्यवसायीलाई सचेत समेत गराइएको जनाए। अहिले रुपन्देही लगायत नेपाली बजारमा अवैध बाटोबाट भारतीय गुट्खा भित्रिँदा कर छली दैनिक बढ्दो छ। यसलाई रोक्न समितिले अनुगमनलाई तीव्रता दिएको हो।

फागुन २२, २०७९ सोमबार १६:३१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।