भग्नावशेष जस्तो देखिन्छ देशकै जेठो क्याम्पस त्रिचन्द्र, भूकम्पको सात वर्षसम्म भएन पुनर्निर्माण
काठमाडौं : त्रिचन्द्र कलेज परिसर भित्र हाल हिँडडुल गर्न पनि डर लाग्दो छ। यो कलेज अहिले झट्ट हेर्दा कलेज जस्तो देखिँदैन। यो त अनकन्टार ठाउँमा वर्षौदेखि अलपत्र रहेर बसेको एउटा भग्नावशेष भवन जस्तो मात्र देखिन्छ।
देशकै जेठो क्याम्पस त्रिचन्द्रको शिरमा रहेको कलेजको नाम ठम्याउन पनि मुस्किल छ। सेतो रंग लगाएको भवनमा काला टाटोहरू देखिन्छन्।
भूकम्प गएको यति लामो समयसम्म किन कलेज पुनर्निर्माण भएन त? उनी भन्छन्, ‘अर्थले पैसा नदिँदा त्रिचन्द्र कलेज पुनर्निर्माणमा ढिलाइ भयो।’
यता कलेजसँगै जोडिएको घण्टाघरलाई भने टिलिक्क सेतो रंगले टल्काइएको छ। जसको कारण बाहिर बाट हेर्दा सँगै रहेको त्रिचन्द्र पनि सुन्दर देखिन्छ। तर, जब कलेज भित्र छिरिन्छ, कलेजको वातावरणले घण्टाघरको सुन्दरतालाई पनि लोप बनाइदिएको महसुस हुन्छ।
बाहिरबाट हेर्दा सामान्य देखिने यस कलेज परिसरले ठूलो क्षेत्र ओगटेको छ। कलेजको भवन भित्र छिर्नासाथ ‘डिपार्टमेन्ट अफ मेटेरियोजोजी’मा आँखा ठोक्किन पुग्छ। यस भवनको नजीकै लेखिएको छ, ‘अनुशासन नै विद्यार्थीको गहना हो।’
तर यता कलेजको भित्ता र झ्यालढोका भरी जथाभाबी अपशब्दहरू लेखिएका छन्। भित्ता भरी दागैदाग छन्।
त्यसपछि पहिलो तलामा पुग्दा ‘जिओग्राफी डिपार्टमेन्ट’को कार्यालय देखिन्छ। यसको सँगै ‘डिपार्टमेन्ट अफ जीओलोजी’ र शिक्षण समितिको कार्यालय कोठा देखिन्छन्। तर ति सबै कोठाहरू नाम मात्रका कोठा जस्ता लाग्छन्। जसभित्र छिर्न पनि ज्यान जोखिममा राख्नुपर्ने अवस्था छ।
कलेज पुनर्निर्माणमा ढिलाइ: सम्बन्धित निकाय नै अनभिज्ञ
२०७२ मा गएको भूकम्प वर्षौसम्म जीर्ण रहेको भवन अहिले धमाधम बन्दै गरेको छ। कलेज परिसर मर्मत सामग्रीले भरिएको छ भने जताततै कामदारहरू काम गरिरहेका भेटिन्छन्।
शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन ईकाइ भवनका आयोजना निर्देशक कोशनाथ अधिकारीका अनुसार अर्थ मन्त्रालयले उक्त क्याम्पसलगायत अन्य ३७ वटा कलेजको पुनर्निर्माणको डिजाइनका लागि साढे ६ करोड बजेट विनियोजन गरेको थियो।
सोही अनुसार अहिले त्रिचन्द्र कलेज पनि पुनर्निर्माण हुँदैछ। त्रिचन्द्र कलेजको भवन, भवन मात्र नभएर सम्पदा पनि भएकाले यसलाई जस्तो अवस्थामा पहिले थियो त्यही अवस्थामा बनाउन प्रयास गरिने बताइएको छ। भवनहरूको संरचना अध्ययन गरेर जगैदेखि कमजोर भएको भवनलाई पनि शैलीमा बनाउन लागिएको छ।
केही समय अगाडि सम्म पठनपाठन भइरहेको भवनहरूलाई भने प्रबलिकरण गर्ने योजना छ। काम गर्न भर्खरै सुरु भएकाले बिस्तारै भवनहरूको संचरना अध्ययन गर्दै निर्माण काम अघि बढ्ने अधिकारीले बताए।
अधिकारीका अनुसार त्रिचन्द्र कलेजका लागि मात्र ३४ करोड ७९ लाख ४६ हजार ९ सय ६७ रुपैयाँ बजेट परेको छ। कार्य समापन गर्नको लागि दुई वर्षको लागि सम्झौता गरिएको छ।
भूकम्प गएको यति लामो समयसम्म किन कलेज पुनर्निर्माण भएन त? उनी भन्छन्, ‘अर्थले पैसा नदिँदा त्रिचन्द्र कलेज पुनर्निर्माणमा ढिलाइ भयो।’
यो बाहेक उनले यो विषयमा थप केही बोलेनन्।
सोही कलेजका उपप्राध्यापक डा. विप्लव ढकाल भन्छन्, ‘भुकम्पपछि नै तत्काल भवन पुनर्निर्माण होस् भन्ने हाम्रो अपेक्षा थियो। कलेज भित्र पसेर हामीलाई पढाउन पनि जोखिम थियो। सम्बन्धित निकायमा के कुरा मिलेन र यत्रो समय पुनर्निर्माणमा लाग्यो मलाई ठ्याक्कै थाहा छैन।’
‘जे होस्, यत्रो वर्षपछिको पर्खाई पछि कलेज पुनर्निर्माण हुँदैछ। कलेज पहिलेकै ढाँचामा निर्माण होस्। हाम्रो यही आशा छ,’ उनी थप्छन्।
त्रिचन्द्र कलेजको उद्घाटन सकिएपछि चन्द्र शमशेरले भनेका थिए कि म आफ्नै खुट्टामा आफैंले बन्चरो हान्दै छु।
यता त्रिचन्द्र कलेजका सूचना अधिकारी वालकृष्ण पौडेल कलेज पुनर्निर्माणमा भएको ढिला सुस्ती बारेको प्रश्न आफूलाई होइन राज्यलाई सोध्नुपर्ने बताउँछन्।
उनी भन्छन्, ‘राज्यले नदेखेको कलेज पक्कै होइन, कलेज पुनर्निर्माणमा सरकारको प्राथमिकतामा यो कलेज किन परेन यस प्रश्नको जवाफ मसँग छैन।’
‘कलेज पुनर्निर्माण भइसकेपछि पनि हामीले यस कलेजलाई शैक्षिक क्षेत्रमा प्रयोग गर्न पाउँछौं, पाउँदैनौं हामीलाई शंका छ। त्यसैले हामीले यस कलेज बनेपछि पनि केका लागि प्रयोग गर्ने भन्ने बारे सोचेका छैनौं। जे जस्तो भए पनि कलेज बनेपछि हामीले प्रयोग गर्न पाउनु पर्छ भन्ने हाम्रो माग छ,’ उनी थप बताउँछन्।
यस्तो छ कलेजको इतिहास
विक्रम संवत् १९७५ भदौ १२ गते स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसले १०५ औं वार्षिकोत्सव मनाई सकेको छ। त्यो बेला प्रधानमन्त्री चन्द्रशमशेर थिए। उनैले यस कलेजको निर्माण गरेका थिए।
कलेजका भवनहरू बनाउन उनलाई १४ महिना लागेको थियो। ढुंगा, इँटा, चुना, सुर्की, काठ, फलाम जस्ता सामग्री प्रयोग गरेर भवन निर्माण गरिएको थियो। यसपछि भवनलाई राजा त्रिभुवनले १९७६ असोज २७ गते चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर उद्घाटन गरेका थिए।
एक शताब्दी भन्दा लामो गौरवपूर्ण इतिहास बोकेको यस क्याम्पसमा तत्कालीन राजा महेन्द्र पढेका थिए। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि कीर्तिनिधि विष्ट, झलनाथ खनाल र शेरबहादुर देउवासम्म यही क्याम्पसका विद्यार्थी हुन्।
यतिमात्र होइन यस कलेजसँग वालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, गोपालप्रसाद रिमाल, गोविन्द बहादुर मल्ल जस्त बालप्रतिभालाई प्रतिभा जन्माएको इतिहास छ।
३१ डिसेम्बर १९१६ (वि.सं. १९७३) मा काठमाडौंमा रहेका तत्कालीन रेजिडेन्सी कर्णेल बेलीलाई कलेज स्थापनाका लागि पहल गर्दै चन्द्र शमशेरले पत्र लेखेका थिए। त्यसपछि देशमा ठुलै तहल्का मच्चिएको थियो कि उच्च शिक्षा अध्ययन गर्नको लागि अब नेपालमा नै कलेज खुल्दैछ।
त्यो त्यस्तो समय थियो कि शासकहरूलाई मन नपर्ने शब्द बोल्न समेत पाइँदैन थियो।
त्रिभुवन-चन्द्र कलेज नाम जुराएर १२ भदौ १९७५ मा यस कलेजको स्थापना भएको थियो। तर, पछि वि.सं. १९८१ मा यस कलेजले नयाँ नाम पायो ‘त्रिचन्द्र बहुमुखी क्याम्पस।’ स्वयम् चन्द्र शमशेरको पहलमा स्थापना भएको यो कलेज खुल्दा उनी आफैँ खुसी थिएनन् अरे।
घण्टाघरसँगै मानविकी विभाग थियो। त्यही मानविकी विभागमा लक्ष्मीप्रसाद देवकोटाले पढेका थिए भने पछि उनले त्यही विभागमा नै पढाएका थिए।
पुरुषोत्तम शमशेर जबराले ‘श्री ३हरूको तथ्य वृत्तान्त भाग २’ पुस्तकमा लेखेका छन्, ‘त्रिचन्द्र कलेजको उद्घाटन सकिएपछि चन्द्र शमशेरले भनेका थिए कि म आफ्नै खुट्टामा आफैंले बन्चरो हान्दै छु।’
यही भनाइबाट पनि प्रस्ट हुन सकिन्छ कि त्यो बेला राणाहरू शिक्षण संस्था खोल्ने कुरामा उति सकारात्मक थिएनन्। तर, बेलायतले नेपालमा कलेज खुलोस् भन्ने चाहनु र राणाहरू अंग्रेजका समर्थक हुनुले यस कलेज खुल्नुमा दबाब दिएको थियो।
त्रिचन्द्र कलेजको शतवार्षिकी पुस्तकमा उल्लेख भए अनुसार सन् १९२८ सम्म म्याट्रिकुलेसन परीक्षा दिन पटना नै जानुपर्थ्यो। पछि सन् १९२९ मा आएर मात्र त्रिचन्द्र क्याम्पसमा परीक्षा केन्द्र कायम भयो। सुरुमा यस कलेजमा इतिहास, गणित, तर्कशास्त्र, अंग्रेजी, संस्कृत र नेपाली पढाइ हुन्थ्यो। जसका लागि नौ जना प्राध्यापक थिए।
त्यो पनि त्रिचन्द्र कलेज
२०४० सालमा त्रिचन्द्र कलेजकै विज्ञान विभागबाट बी.एस.सी गरेका अनुसन्धानकर्ता लोकमणी पौडेलका अनुसार त्यो बेला कलेजमा जम्मा १८ सय विद्यार्थी थिए। उनलाई सम्झना भए अनुसार विज्ञान विभाग जमल पट्टी थियो। घण्टाघरको अगाडि बाटोसँगै रानीपोखरीको छेउमा जोडिएर पुस्तकालय प्रशासन भवन थियो।
उनी भन्छन्, ‘प्रशासन भवन र विज्ञान विभाग भवनको बीचमा म्यानेजमेन्ट भवन थियो र त्यो नजिकै कलेजको क्यान्टिन थियो। घण्टाघरसँगै मानविकी विभाग थियो। त्यही मानविकी विभागमा लक्ष्मीप्रसाद देवकोटाले पढेका थिए भने पछि उनले त्यही विभागमा नै पढाएका थिए।’
लाइब्रेरी नजिकै दक्षिणमा सानो बगैंचा थियो। कलेज नजिकै कृषि विकास बैंक थियो। अञ्चलाधीशको कार्यालय थियो। कलेज भवन वरपर बजार थिए।
त्यो बेलाको कलेजको माहोल सम्झना गर्दै उनी भन्छन्, ‘अहिलेको त्रिचन्द्र कलेजसँग पहिलेको त्रिचन्द्र कलेजको तुलना नै हुँदैन। त्यो बेलाको त्रिचन्द्र कलेज धेरै राम्रो थियो। अहिले उक्त कलेजको बाटो हिंड्दै गर्दा लाग्छ त्यो बेलाको पनि त्रिचन्द्र कलेज र अहिलेको पनि।
फागुन २२, २०७९ सोमबार १४:२२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।