बेलायतले आप्रवासी कानून कडा बनाउँदै

बेलायतले आप्रवासी कानून कडा बनाउँदै

एजेन्सी: बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीहरूलाई चेतावनी दिँदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताएका छन्। बेलायतले युरोपबाट आफ्नो सिमाना पार गर्ने आप्रवासीहरूको निरन्तर दबाब सामना गरिरहेको बेला प्रधानमन्त्री सुनकले आइतबार यस्तो कडा टिप्पणी गरेका हुन्।

सुनकको सरकारले यस हप्ताको अन्त्यमा अवैध अध्यागमनलाई कडाइ गर्ने कानूनलाई अगाडि बढाउने अपेक्षा गरिएको फक्स न्युजले उल्लेख गरेको छ। "अवैध आप्रवासन बेलायती करदाताहरूका लागि उचित छैन, कानूनी रूपमा यहाँ आउनेहरूका लागि यो उचित छैन र अपराधी गिरोहहरूलाई उनीहरूको अनैतिक गतिविधि जारी राख्न दिनु उचित होइन। म अवैध आप्रवासीका डुङ्गाहरू रोक्ने मेरो बाचा पूरा गर्न कटिबद्ध छु", उनले भने।

बेलायतमा गैरकानूनी आप्रवासीहरूलाई सीमा पार गरेपछि त्यहाँ शरण लिनका लागि दावी गर्न अनुमति दिने कानून छ।

सामान्यतया, आप्रवासीहरूलाई उनीहरूको मुद्दा चलिरहेको बेलामा बस्न अनुमति दिइन्छ तर नयाँ कानूनले त्यस्ता आप्रवासीहरूलाई शरण दावी गर्नबाट रोक्ने बताइएको छ। लामो समयदेखि फ्रान्सबाट जोखिमपूर्ण बाटो भएर बेलायत पुग्ने शरणार्थीहरूको सङ्ख्या बढ्दै गएको पाइएको छ।

फागुन २२, २०७९ सोमबार १२:५४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।