सुर्खेतमा हरियाली फर्काउन ‘बृहत् हरियाली होली’ मनाइँदै
सुर्खेत: हाेलीकाे अवसर पारेर सुर्खेतमा 'बृहत् हरियाली होली पर्व' मनाइँदै छ। जलवायु परिवर्तन र बढ्दो शहरीकरणका कारण मासिदै गएको हरियाली फर्काउने उद्देश्यले साेमबार बिहान वीरेन्द्रनगरको धुलियाविटदेखि बाङ्गेसिमलसम्मको मुख्य सडक क्षेत्रको बीचमा रोपिएका विभिन्न बिरुवाहरूको गोडमेल गरेर बृहत् हरियाली होली पर्व मनाइको हाे।
'क्लिन एण्ड ग्रीन सुर्खेत'का अभियन्ता डाक्टर नवराज केसीको अगुवाइमा संरक्षणको अभावमा सुक्दै गएका बोटबिरुवाको गोडमेल गरिएको हो। कार्यक्रममा विद्यार्थी, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
‘सुर्खेतमा जति पनि मानिसहरू आउनुहुन्छ, सबैभन्दा पहिला हेर्ने भनेको मुख्य सडक हो। अर्थात् सुर्खेतको मुहार यही हाइवे बन्दै गएको छ। मुख्य आकर्षणको केन्द्रमा रोपिएका बिरुवाहरू संरक्षणको अभावले सुक्दै गएका छन्’, डाक्टर केसीले भने, ‘हामीले सुर्खेतलाई कुन रङ्ग दल्ने भन्ने हो। हामीले आउने पुस्तालाई प्रेरणा दिने गरी सुर्खेतको अनुहारमा हरियो रङ्ग अर्थात हरियाली पार्ने हाम्रो योजना हो।’
पछिल्लो समय रत्न राजमार्गको वीरेन्द्रनगर खण्डमा सडकको बीचमा रोपिएका विभिन्न प्रजातिका बिरुवाहरू संरक्षणको अभावमा सुक्न थालेका छन्।
फागुन २२, २०७९ सोमबार १०:०१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।