मदन-आश्रित घटनामा ओलीको दोहोरो चरित्र : सत्तामा हुँदा चुपचाप, सत्ता बाहिर हुङ्कार

मदन-आश्रित घटनामा ओलीको दोहोरो चरित्र : सत्तामा हुँदा चुपचाप, सत्ता बाहिर हुङ्कार

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जनाको हत्या भएको दाबी गरे।

उनी सुखानीको बलिदानको स्मृतिमा आयोजित ५० औँ दिवसमा पार्टीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्न गएका थिए। उनले मदन-आश्रीतको हत्या भएको दोहोर्याएनन् मात्रै त्यसयता जो-जसले यो घटनाको छानबिनको माग गरे ती २१ जना पनि मारिएको दाबी गरे।

तर उनले मारिएकामध्ये एक जनाको मात्रै नाम लिए डिल्ली गौतमको। मदन-आश्रीतको मृत्युपछि आन्दोलित भएको एमालेले विभिन्न स्थानमा विरोध प्रदर्शन हुँदा झापामा प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

एमालेले देशव्यापी आन्दोलन गर्दै निरन्तर संसद् अवरुद्ध गरेको थियो। सरकारले पटक-पटक आयोग गठन गर्यो भने एमालेले ओलीकै संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

प्राय : मदन-आश्रित स्मृति दिवसमा एमालेका नेताहरूले मदन-आश्रीतको मृत्युको घटना सम्झँदै षड्यन्त्रपूर्ण हत्या भएको भन्दै छानबिनको माग गर्छन्।

जब उनीहरू सत्तामा हुन्छन् मागको स्वर झिनो हुन्छ। सत्ता बाहिर पुगेपछि चर्को।

आफू दुई पटक प्रधानमन्त्री हुँदा समेत छानबिनमा चासो नदिएका ओलीको आइतबार स्वर अलि चर्को थियो उनले भने ‘मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो। हामीले छानबिन होस् भनेर माग गर्यौँ। त्यो माग गर्दा मात्रै २१ जनालाई गोली हानेर हत्या गरियो।’

२०५० जेठ ३ गते राजनीतिक कामको सिलसिलामा पोखराबाट चितवन फर्कने क्रममा चितवनको दासढुंगामा जिप दुर्घटना भएर दुवै नेताको मृत्यु भएको थियो। पटक-पटक गठन भएको आयोगले यसलाई दुर्घटनाको रूपमा उल्लेख गरेका छन्। तर एमालेका नेताहरू निरन्तर देशी-विदेशी तत्त्वको षड्यन्त्रमा मारिएको दाबी गर्न छाडेका छैनन्।

एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीसँगै माधव नेपाल,झलनाथ खनाल प्रधानमन्त्री भए। दुवैले मदन-आश्रित घटनाको नयाँ कोणबाट अनुसन्धान गराउने प्रयास गरेनन्।

मदन-आश्रित मारिएको दाबी गर्ने ओली दुई पटक प्रधानमन्त्री भइसके। मदनकी श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपतिको दोस्रो कार्यकाल सक्काएर बिदा हुँदै छिन्। तर मदन-आश्रीतको घटनाको छानबिनमा उनले पनि चासो देखाएकी छैनन्।

मदन-आश्रित हत्याबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक जाँचबुझ आयोगमा बयान दिने क्रममा भण्डारीले' यो सुनियोजित र षड्यन्त्रपूर्ण राजनैतिक हत्या' भएको दाबी गरेकी थिइन्।

उनले भण्डारीको बारेमा ०४६ सालको आन्दोलनदेखि प्रखर रूपमा नेपालको राजनीतिमा चर्चित हुनु, मदन भण्डारीको लामो आयु छैन भन्ने हल्ला चल्नु, आम निर्वाचनको अन्तिम सभा टुँडिखेलको मञ्चमा हुँदा मदन जानुअगाडि टेलिफोनमा त्यस्तो चर्को चर्को भाषण गर्ने होइन, छाला टाँगिन्छ भन्नु' लाई उल्लेख गरेकी थिइन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको सत्ता सहकार्य दुई महिनामै भत्कियो। एमाले प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुग्ने पक्कापक्की भएको बेलामा ओलीले पुन मदन-आश्रित मृत्यु घटनालाई राजनीतिक हतियार बनाउने प्रयास गरे'२१ जनाको हत्या' भन्दै।

फागुन २१, २०७९ आइतबार २१:०८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।