फेसन डिजाइनर गीताको प्रसव पीडा र खुशी : बच्चा निकाल्दा धुवाँ सुँघाएर बेहोस बनाए, होसमा ल्याउन गालै रातो हुनेगरी थप्पड हाने

फेसन डिजाइनर गीताको प्रसव पीडा र खुशी : बच्चा निकाल्दा धुवाँ सुँघाएर बेहोस बनाए, होसमा ल्याउन गालै रातो हुनेगरी थप्पड हाने

नेपालगन्जमा जन्मिएकी गीता परियार पेसाले ब्युटिसियन तथा फेसन डिजाइनर हुन्। तराईमा जन्मे-हुर्केकी गीताको बिहे भने काठमाडौंमा भयो।  

पहाडी केटोसँग विवाह भएपछि सुरु सुरुमा त उनले  ‘कल्चरल सक’ को अवस्था बेहोर्नुपर्यो। संस्कार, संस्कृति र सोच फरक पर्दा मानिसले के कस्ता पीडा , समस्या भोग्नुपर्दो रहेछ भन्ने अनुभूति उनीसँग छ। 

मागी विवाह गरेकी गीताले माइतीघरबाट कर्मघरतिर जाँदा के कस्ता समस्या बेहोर्नुपर्छ भन्ने थाहा नपाउँदै बच्चा जन्माइन्। पितृसत्तात्मक सोच भएको समाजमा थरी थरीका हन्डर, ठक्कर खाएको उनको अनुभव छ।

विद्यालय जीवनमै सिकेको सिलाइकटाई तालिममा थप दक्षता हासिल गरेपछि उनी फेसन डिजाइनर भइन्। अहिले उनी पार्लर र टेलर खोलेर आफ्नो व्यवसाय गरिरहेकी छन्। 

गीता दुई पटकसम्म स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर ३० बाट दलित महिला सदस्य पदमा उम्मेदवार पनि बनिन्। तर दुवै निर्वाचनमा पराजित भइन्।

राजनीति र जिन्दगीको ठेगान नहुने बताउने गीता एक सन्तानकी आमा हुन्। उनै गीता परियारले उकेरासँग बाँडेको आफ्नो प्रसव पिडा र खुशी उनकै शब्दमा।

०००

बुबाको माया लामो समयसम्म पाउन सकिन। म १० वर्षको हुँदा बुबाको मृत्यु भयो। मेरा तीन दाइहरु थिए। उमेरको फरकमा जन्मिएकाले मलाई मेरा दाइहरुले नै बुबाको माया दिएर हुर्काउनुभयो।

उमेर पनि यत्ति धेरै फरक कि, म ६ महिनाको हुँदा मेरी दिदीको बिहे भएको थियो। सानैदेखि भाउजूको काखमा हुर्कन पाए मैले।

एसएलसीसम्मको पढाइ नेपालगन्जमै भयो। माइलो दाइले मलाई नर्स बनाउने सपना देख्नुभएको थियो। जुम्ला गयो भने विदेशीले सस्तोमा पढाइदिन्छ रे भन्ने सुनेर त्यता पनि जान खोजेकी थिएँ, एसएलसी पास भएपछि। तर भारत नजिक भएकाले उतै पढ्न जाने योजना बन्यो।

त्यही समयमा मेरो माइलो दाइ र भाउजू काठमाडौंबाट नेपालगन्ज जानुभयो। उहाँहरू काठमाडौंतिरै बस्नुहुन्थ्यो।


दाइले अर्को वर्षदेखि बहिनी पढ्नका लागि भारत गइहाल्छ, यही वर्ष काठमाडौंमा भेला भएर तिहारमा भाइटीका लगाऔं भन्ने प्रस्ताव राख्नुभयो।

तिहार मनाउन काठमाडौं आएकी मलाई राम्रो परिवारको केटो भनेर बिहे छिनोफानो गरेर पो नेपालगन्ज पठाउनुभयो। तर मलाई बिहे गर्न मनै थिएन। त्यति बेला भर्खर १९ वर्ष मात्र पुगेकी थिएँ। 

अहिलेको चर्चित गायक नरेन्द्र प्यासीको फुपू मेरो आमाको एकदम राम्रो मित्र। उही फुपूले खोजेको केटासँग मेरो इन्गेजमेन्ट भयो।

इन्जेगजमेन्ट भएको झन्डै २ महिना जति म आमासँग रिसाएँ, बोल्दै बोलिनँ। एकदिन उहाँले म नबोलेको भन्दै धेरै चित्त दुखाउनुभयो। अनि बल्ल बोलें। इन्गेजमेन्ट भएको झण्डै ४ महिनापछि फागुनमा म फेरि काठमाडौं आएँ र विवाह भयो।

बिहेमा म रुँदा रुँदा बेहोस भएकी थिएँ। मेरो माइला दाइ त अन्माएपछि एक्लै छाड्न नसकेर बेहुलाको घरैसम्म पुर्याउन आउनुभएको थियो रे। मलाई मेरो विवाह कसरी भयो भन्ने पनि थाहा भएन। अनुप सिंह बागदाससँग मेरो विवाह भयो।

विवाहपछिको नयाँ घरबारे हरेक महिलाको एक कल्पना हुन्छ, मैले विवाह गरेको घर यस्तो होस्, त्यस्तो होस् भन्ने। तर जब कर्मघरमा पुगें, मेरो कल्पनाका केही कुरा भेटिनँ। खाना पनि नमिल्ने, संस्कार नमिल्ने मात्रै हैन, सोच बिचार समेत मिल्दैनथ्यो। त्यसले सुरुवाती दिन नै कष्टपूर्ण भयो।

माइतीले जे सोचेर विवाह गरिदिनुभएको थियो, त्यो केही थिएन कर्मघरमा। सायद त्यही भएर पनि होला, मेरो मनमा इगो पलायो। जस्तोसुकै दुःख परे पनि माइतीलाई भन्न जान्न। त्यसैले मैले जे जस्तो संघर्ष गरें, त्यो कुरा धेरै पछि मात्रै मेरा दाइभाइले थाहा पाए। 

कर्मघरमा मेसो पाएकै थिइनँ। विवाह गरेको तीन महिना नपुग्दै म त गर्भवती भएछु।

सधैं जसो म चिया पकाएर सबै परिवारको सदस्यलाई लगिदिन्थें। चिया लिएर जेठानी दिदीको कोठामा जाँदै थिएँ, सिँढीमा चिप्लिएर लडें। आँखानेर अझै त्यो समयमा काटेको खत बाँकी छ।

घाउ गहिरो लागेपछि मेडिकल गइयो। जाँच गराउँदा उहाँले नै भनिदिनुभयो, पेटमा बच्चा छ भनेर। त्यो भन्दा अघि पेटमा बच्चा आएको थाहै पाएको थिइनँ। बच्चा दुई महिनाको भइसकेछ। 

बच्चा पेटमा आएपछि म झनै रनभुल्लमा परें। चार महिनासम्म मलाई खाना रुचेन। एकदम गन्हाउँथ्यो। तर भोमिट गर्दा भने पेटबाट धेरै फोहोर निस्किन्थ्यो। 

केही नखाँदा पनि के निस्केको होला? अहिले सम्झँदा पनि अचम्म लाग्छ।  खाना पेटमा नपरेपछि शरीर कमजोर हुने नै भयो। तैपनि घरमा काम गर्नुपर्थ्यो। 

बसेको ठाउँबाट उठ्न नसक्दा ‘सबैले पेट बोक्छन्, एक्लैले पाएको जस्तो के गरेको’ भन्नुहुन्थ्यो। 

चार महिना कटेपछि भने खाना रुच्न थाल्यो। खाना रुचेपछि त म काम गर्न सक्ने भइहालें। यी र यस्ता कुराहरूले मैले पेटमा बच्चा आएको मेरो प्रेग्नेन्सी समय इन्जोय नै गर्न पाइनँ।

बच्चा पेटमा आएपछि सुरुमा सरस्वती पाध्यले मलाई जाँच गर्नुभयो। तर बच्चा भने थापाथली अस्पतालमा जन्माएँ। आमाहरू सबैले थापाथलीमै बच्चा जन्माउनुभएको रहेछ, उहाँहरूले नै त्यहाँ लैजानुभयो।

व्यथा लाग्दा अरूलाई त पेट धेरै दुख्छ भन्थे, मलाई भने घुँडा दुख्यो। घुँडा यति धेरै दुख्यो कि, उठेर बाथरुम समेत जान नसक्ने भएँ। 

घरको काम गरिरहेकी थिएँ। भाँडा माझिरहेको समयमा खप्नै नसक्ने भएर पेट दुख्यो। जेठानी दिदीले व्यथा लागेको थाहा पाएर अस्पताल पुर्याउनुभयो।

अस्पतालमा जाने बित्तिकै डाक्टरले अहिले नै बच्चा जन्मँदैन भने। त्यसपछि गएकाहरू मलाई त्यहीँ छाडेर घर फर्किए। केही समयपछि राउन्डमा आएका नर्सहरूले जाँच्दा त पेटमै बच्चाले दिशा गरिसकेको रहेछ रे। एप्रोन पनि राम्रोसँग नलगाएर नाङ्गै गुडाउँदै अपरेसन गर्ने कोठामा लगे।

अहिले जस्तो लठ्याउने सुई त्यो समयमा थिएन। एउटा ठूलो भाँडोजस्तो माथिबाट धुवाँ फाल्दै मेरो नजिक आयो। बेहोस हुन लामो समय लागेको थियो मलाई।

बच्चा निकालेपछि पनि मेरो होस आएनछ। एकजना बुढा डाक्टर हुनुहुन्थ्यो। म ब्युँझदा उहाँले गालै रातो हुने गरेर थप्पड हानिरहनुभएको थियो। धुवाँ सुँघाएर बेहोस बनाउने र थप्पड हानेर होसमा ल्याउने गरिदों रहेछ त्यो समयमा अस्पतालमा।

बुढा डाक्टरले मलाई माया गरेर छोरी भन्नुहुन्थ्यो। रातको समयमा सबै मज्जासँग सुत्थे, मलाई भने मर्ने गरेर खोकी लाग्थ्यो। अपरेसन गरेको पेट समातेर खोक्थें। पिसाब निस्केला जस्तो हुन्थ्यो। लामो समयसम्म म बिरामी परें। १६ दिन त अस्पताल नै बस्नुपर्यो। छोरो जन्माएँ। तर अस्पताल बस्न परेकाले उसको न्वारन समेत भएन। 

छोरो साह्रै राम्रो थियो जन्मिँदा। अहिले त खै के भएर काले भएको छ, त्यतिबेला त गोरो, पुटुक्क गाला परेको थियो। वार्डका सबै मानिस मेरो छोरो हेर्दै कस्तो राम्रो भनेर जान्थे।

१६ दिनसम्म अस्पताल बस्दा मलाई एक्लोपनले एकदम सतायो। केही खान मन लाग्थेन। जाउलो, सुप बाहेक अरु खानेकुरा खान पनि मिल्दैनथ्यो। घरबाट लगेको जाउलो खान मन नलाएर कहिलेकाहीँ फालिदिन्थें। त्यो देखेर सासुआमा, खान्छौ कि नाइँ, खाने भए ल्याइदिन्छु हैन भने ल्याउन्न भन्नुहुन्थ्यो। 

मेरो सबै परिवार ब्याण्ड पसलबाट चलेको थियो। मेरा श्रीमानको छुट्टै आयस्रोत थिएन। छोरो २ वर्षको हुँदा हामीलाई छुट्टै राखिदिनुभयो।

छोरो पढाउनुपर्ने छ। दुवैको जागिर छैन। काठमाडौंको ठाउँमा बस्नुछ। धेरै तनाव आयो। हातमा सिलाईको आधारभूत सीप थियो। इष्टिच्युटमा गएर कोर्स गरें। 

विवाहमा दाइले कल दिनुभएको थियो। एक पसलमा गएर कपडा ल्याउने र सिलाउने गर्न थालें। अनि पछि ब्युटिसियनको तालिम लिएँ। 

श्रीमान-श्रीमती मिलेर छोरा पढायौं। घर व्यवहार चल्दै गयो। आफैँ आत्मनिर्भर भएपछि धेरै सजिलो हुने रहेछ। त्यसैले सकेसम्म जस्तो भए पनि सीप चैं सिक्नुपर्ने रहेछ। नत्र दुःखै मात्र पाइन्छ।

सामान्य सिलाईको सिप तालिम लिएर निखारे। ब्युटिसियन तालिम पनि लिए। अहिले मेरो टेलर र पार्लर छ। छोरो बीबीए अन्तिम सेमेस्टर पढ्दैछ। जीवन रमाइलैसँग बित्दैछ।

२१ फागुन, २०७९, १७:५६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।