अर्घाखाँची सिमेन्टमा मजदूर मृत्यु प्रकरण : एक महिनासम्म घटना गुपचुप, मिडियामा आएपछि मृतकका परिवारलाई १०/१० लाख क्षतिपूर्ति

अर्घाखाँची सिमेन्टमा मजदूर मृत्यु प्रकरण : एक महिनासम्म घटना गुपचुप, मिडियामा आएपछि मृतकका परिवारलाई १०/१० लाख क्षतिपूर्ति

बुटवल: घटना भएको एक महिनासम्म गुपचुप राखी थामथुम पार्न खोजिएको रुपन्देहीको अर्घाखाँची सिमेन्टमा मजदूरको मृत्यु भएको प्रकरण बाहिर आएसँगै परिवारले क्षतिपूर्ति पाएका छन्। रुपन्देहीको सियारी गाउँपालिका- २ मा रहेको अर्घाखाँची सिमेन्ट उद्योगमा गत माघ १६ गते त्यहाँ कार्यरत चार जना मजदूरको मृत्यु भएको थियो।

प्रहरीले घटनाको मुचुल्का गरेको भए पनि घटना बाहिर सार्वजनिक नगरी थामथुम पार्न खोजिएको थियो।

सीमा नाकाबाट कुखुरा र चल्ला बरामद गर्दा समेत मिडियाबाजी गर्ने रुपन्देही प्रहरीले चार जना मजदूरको ज्यान गएको घटना गुपचुप राखेको थियो। एक महिनापछि भए पनि सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि भने चार कामदारका परिवारले प्रतिपरिवार १० लाखका दरले क्षतिपूर्ति पाउने भएका हुन्।

पुरानो समाचार

अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रवन्धक उद्धव कार्कीले बीमाबापतको रकम र सरकारी मापदण्ड अनुरूपको सुविधामाथि उद्योगले तीन लाख थपेर प्रतिपरिवार १०/१० लाख रुपैयाँ दिइएको बताए।

गत माघ १६ गते भएको घटनामा भारतको उत्तरप्रदेश फतेहपुर जिल्ला ग्रामका ५० वर्षीय जितेन्द्र कुमार, बिहारको गोपालगञ्ज ग्रामका २७ वर्षीय शशिकान्तकुमार कुशवाह, समस्तीपुर ग्रामका ४८ वर्षीय श्रीराम सिंह र रुपन्देहीको कोटहीमाई- ४ का ३८ वर्षीय अङ्गद हरिजनको मृत्यु भएको थियो।

उद्योगको कोल मिलको ब्याग हाउसमा कोइला अत्यधिक तातेका कारण भएको आगलागीमा उनीहरूको मृत्यु भएको थियो।

रुपन्देही प्रहरीका अनुसार भैरहवास्थित युनिर्भसल शिक्षण अस्पतालमा उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो।

सोही घटनामा २ जना घाइते समेत भएका थिए। घाइते हुनेमा भारतको उत्तरप्रदेश महाराजगञ्जका ४३ वर्षीय शिवलाल हरिजन र बिहारका ४१ वर्षीय राजकिशोर यादव छन्।

उनीहरू अहिले निको भइसकेका छन्।

फागुन २१, २०७९ आइतबार १३:०४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।