'बाहुबली २' लाई पछि पार्दै 'पठान' बन्यो सर्वाधिक कमाउने हिन्दी फिल्म, बलिउडमा 'तीन खान'कै दबदबा
एजेन्सी: शाहरुख खानको 'पठान'ले एकपछि अर्को इतिहास रचिरहेको छ। हालै मात्र पठान हिन्दी भाषामा सर्वाधिक कमाउने फिल्मको सूचीमा एक नम्बरमा उक्लिएको छ।
पठानले 'बाहुबली २' को कीर्तिमान भङ्ग गरेको हो। हिन्दी भाषा (डब)मा बाहुबली २ ले ५१०.९० करोड भारु कमाएको थियो। पठानले चाहिँ केवल ३८ दिनमा ५११.७० करोड भारु कमाएर कीर्तिमान बनाएको हो।
पठानको तमिल र तेलुगु भाषाको आकडा जोड्ने हो भने यो कुल ५२९.९६ करोड भारु हुन जान्छ।
यस्तै विश्वव्यापीरूपमा पठानले एक हजार २६ करोड भारुको कमाइ गरेको छ।
यो आधारमा (बलिउड मात्र) पठानभन्दा अघि केवल आमिर खानको 'दङ्गल' छ। यसले दुई हजार २४ करोड भारु कमाएको थियो।
तेस्रो स्थानमा चाहिँ सलमान खानको 'बजरङ्गी भाइजान' छ। यसको विश्वव्यापी कमाइ ९६९.०६ करोड भारु छ।
यो आकडाले पनि देखाएको छ- बलिउडमा अझै 'तीन खान'कै दबदबा छ।
फागुन २१, २०७९ आइतबार ०८:४५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।