सुन्दरता निखार्ने डा. सरिनाको उपचार अनुभव : सर्जरीले आन्टीलाई दिदी बनायो
डा. सरिना राजभण्डारी नाक, कान, घाँटी विशेषज्ञ तथा फेसियल प्लाष्टिक सर्जन हुन्। चिकित्सकीय विधा अन्तर्गत व्यक्तिको सुन्दरता निखार्नु उनको दैनिकी हो।
उनै सुन्दरता निखार्ने डा. सरिनालाई कुनै बेला आफ्नै नाक भने ठूलो र नमिलेको जस्तो भद्दा लाग्थ्यो। चटक्क देखिनेगरी नाकको आकार मिलाएर घटाउने रहर थियो उनलाई।
करिब पाँच वर्षअघि ताइवानको ताइपेइमा फेसियल सर्जरी सम्बन्धी थप ज्ञान तथा सीप सिक्न जानुअघिसम्म पनि डा. सरिनालई आफ्नै नाक चित्त बुझिरहेको थिएन। त्यो बेलासम्म उनलाई आफ्नो नाक सर्जरी गरेर घटाउने इच्छा थियो।
डा. सरिनाले ताइवानमा फेलोसिप पाएर फेसियल सर्जरी गर्न पुगेपछि भने अधिकांशले थेप्चो नाकलाई सर्जरी गरी अग्लो बनाएको देखिन्।
आफूलाई सर्जरी सिकाउने गुरुहरूलाई धेरै पटक ठट्यौलीमा उनले आफ्नो नाक सानो बनाइदिन समेत अनुरोध गर्थिन्। तर, गुरुहरूले भने उनलाई तिम्रो नाक मिलेको छ। बनाउनुपर्दैन भन्ने जवाफ दिन्थे।
त्यहि पनि उनलाई भने चित्त बुझिरहेको थिएन।
‘नाक सोझो बनाउन सर्जरी गर्दा झनै बाङ्गिएपछि आएका युवकलाई फेरि सर्जरी गर्नुपर्छ भन्दा डराउनुभो। तर त्योबाहेक अर्को विकल्पै थिएन। उहाँको नाकको दोस्रोपटक सर्जरी भयो।’
सन् २०१८ मा तापइपेइस्थित नेशनल डिफेन्स मेडिकल सेन्टरमा फेसियल सर्जरी सम्बन्धी ज्ञान तथा सीप सिक्न पुगेकी थिइन् उनी। त्यहाँ एक वर्षसम्म बस्दा अस्पतालमा नाक मिलाउन पुगेका धेरै व्यक्तिलाई नजिकबाट निहालिन् उनले।
त्यो अस्पतालमा नाक बनाउन पुगेका व्यक्तिहरूले चिकित्सकसँग डा. सरिनालाई नै हेर्दै ‘उहाँको जस्तै नाक बनाइदिन’ अनुरोध गरेको नजिकबाट देखिन् उनले। नाक बनाउन पुग्नेहरूलाई सरिनाको नाक प्राकृतिक तथा सुन्दर लाग्ने रहेछ।
नाक बनाउन पुगेका केही व्यक्तिले त डा. सरिनालाई नै सोध्थे, ‘यस्तो राम्रोगरी तपाईंको नाक कहाँ बनाउनुभएको? मेरो पनि यस्तै बनाइदिनुन।’
केही सर्जनहरूले समेत नाक बनाउन पुगेका अन्य व्यक्तिको पनि सरिनाको जस्तै बनाउनका लागि ‘तपाईंको नाक कसले सर्जरी गरेर बनाउनुभएको?’ भनेर सोधेछन्।
तर, उनको नाक प्राकृतिक नै थियो। बनावटी थिएन। त्यसैले जसले सोधे पनि उनी आफ्नो नाक प्राकृतिक नै भएको भन्दै जवाफ दिन्थिन्।
एक जना मात्रै हैन। दुई जना हैन। नाक बनाउन अस्पताल पुग्नेमध्ये धेरै व्यक्तिहरूले डा. सरिनाको नाकको तारिफ गरेछन्। त्यसपछि भने उनलाई नाक सर्जरी गरेर घटाउने सोच हराउँदै गयो।
‘ताइवानमा फेलोसिप गर्न पुगेपछि मेरो नाक ठिकै रहेछ भनेर घटाइँन,’ डा. सरिनाले सुनाइन्।
युवाको बाङ्गिएको नाक सिधा बनाएपछि...
सर्जरी गरेर नाकको आकार मिलाइदिएपछि एक जना युवा खुसी भएको प्रसङ्ग डा. सरिना कहिल्यै भुल्दिनन्।
प्रसंग एक वर्षअघिको हो। पोखराका करिब २१ वर्षका युवाको नाक बाङ्गो-बाङ्गो थियो। नाक सोझो बनाउन उनले शल्यक्रिया गरेछन्। तर जटिलता निम्तिएर झन् बाङ्गिएछ।
नाक बाङ्गो देखिन थालेपछि युवा झनै तनावमा परेछन्। सामाजिक सञ्जालबाट डा. सरिनाबारे थाहा पाएपछि खोज्दै ती युवा काठमाडौं आए र भेटे।
डा. सरिनाले युवाको नाकको स्वास्थ्य परीक्षण गर्दा भित्री हड्डी बाङ्गो देखियो। जसले गर्दा श्वास फेर्न समेत युवालाई असहज भइरहेको थियो। बाहिरबाट समेत युवाको नाकको आकार बाङ्गो देखिएको थियो।
चुच्चो नाक बनाएपछि धेरैले गाली गरेछन्। नाक किन बनाएको भनेर हैरान पारेपछि युवती फेरि आइन् र थेप्चो बनाएर गइन्।
युवालाई पुनः सर्जरी गरेर नाकको आकार मिलाउन डा. सरिनाले सल्लाह दिइन् तर युवा डराए। यसअघि नै शल्यक्रिया गरि सकेकाले फेरि बिग्रने हो कि भन्ने डर थियो उनलाई। यद्यपि शल्यक्रिया बाहेक अन्य विकल्प थिएन। युवा सर्जरीका लागि सहमत भए।
युवा अस्पताल भर्ना भए। डा. सरिनाको टिमले युवाको नाकको सर्जरीका लागि करङको सानो हड्डी निकाल्यो। चिकित्सकको टिमले त्यो हड्डी सर्जरी गरी नाकमा राखेर आकार मिलाउन थाल्यो। केही घण्टाको मेहनतपछि सर्जरी सफल भयो।
नाकको आकार मिलेपछि युवा अस्पतालबाट डिस्चार्ज भए। नाक सिधा भएर आकार मिलेपछि युवाको खुसीको सीमै रहेन। नाकको आकार मिलाइदिने डा. सरिनाको टिमप्रति युवा निक्कै कृतज्ञ भए।
‘चुच्चो नाक बनाएकी युवतीलाई घरमा गाली गरेपछि फेरि थेप्चो बनाइन्’
त्यसो त सुन्दरतासँग सम्बन्धित सर्जरी गर्दा सबै व्यक्तिमा पूर्ण सन्तुष्ट नहुन पनि सक्छन्। व्यक्तिले चाहेकै जस्तो सुन्दरता नपाउन पनि सक्छन्।
कतिपय व्यक्तिको भने सुन्दरतासँग सम्बन्धित सर्जरी गरेपछि पनि घर परिवारले असन्तुष्टि जनाउन सक्छन्। घर परिवारले असन्तुष्टि जनाए पुनः सर्जरी गरेर नाक लगायत पुरानै अवस्थामा फर्काउनका लागि आउने गरेको अनुभव डा. सरिनाले सुनाइन्।
केही सयमअघिको यस्तै एउटा प्रसँग सुनाइन् उनले। २१/२२ वर्षकी युवती डा. सरिनाकहाँ पुगेकी थिइन्। एक जना दिदीसँग पुगेकी ती युवतीको नाकको आकार थेप्चो थियो। त्यसैले ती युवतिलाई थेप्चो नाकको आकार मिलाएर चुच्चो बनाउने इच्छा लागेछ।
सबै तयारीपछि युवतीको इच्छा अनुसार डा. सरिनाको टिमले थेप्चो नाकको आकार चुच्चो तथा लामो बनाउने सर्जरी थाल्यो। सर्जरी सफल भएपछि युवतीको चाहेअनुसार नै नाकको आकार मिल्यो। नाकको आकार मिलाएर युवती घर फर्किइन्।
तर, घर फर्केपछि भने ति युवतीले परिवारमा गाली खाइछन्। भइरहेको प्राकृतिक नाकलाई बिगारेर चुच्चो र लामो बनाएको भन्दै परिवार तथा आफन्तबाट गाली खाइछन्।
एक वर्षसम्म त जसले जे भनेपनि युवती मिलाएको अग्लो नाक लिएर नै हिँडिन्। तर, धेरैले नाक किन बनाएको भनेर हैरानै हुनेगरी सोधेपछि युवती पुनः डा. सरिनाकहाँ पुगिन्। थेप्चो नाकको अवस्थामै फर्काइदिन उनले डाक्टरसँग आग्रह गरिन्।
अनुहारको सर्जरी गर्नु भन्दाअघि बस, माइक्रो, टेम्पोमा मलाई आन्टी भनेर बोलाउँथे। अहिले त दिदी भन्छन्।
त्यसपछि डा. सरिनाको टिमले ती युवतीको नाक पुरानै अवस्थामा फकाउनका लागि सर्जरी थाल्यो। यसअघि नाक चुच्चो बनाउन राखिएको करङको हड्डी निकालेर पूरानै अवस्थामा फर्काइयो।
युवती दुःखी हुँदै पूरानै अवस्थाको थेप्चो नाक बनाएर घर फर्किइन्। आफैँले गरेको काम भत्काउनुपर्दा डा. सरिनालाई पनि अलि खल्लो महसुस भयो।
‘सर्जरीले आन्टीलाई दिदी बनायो’
त्यसैगरी करिब डेढ वर्षअघि करिब ४० वर्षकी महिला चाउरी परेको अनुहारको छाला मिलाउन डा. सरिनाकहाँ पुगिन्। सर्जरीबाट महिलाको अनुहारको छाला तन्काएर मिलाइदिइन् उनले। जसले ती महिलाको छालामा चमकता देखियो। सुन्दर देखिइन्।
सर्जरीपछि आफ्नो अनुहारमा जवानी देखिएकोमा खुसी हुँदै ती महिला घर फर्किइन्। सर्जरीको एक महिनापछि महिला फलोअपका लागि डा. सरिनाकहाँ पुगिन्।
फलोअपमा पुग्दा ती महिलाले खुसी हुँदै डा. सरिनालाई सुनाइन्, ‘अनुहारको सर्जरी गर्नु भन्दाअघि बस, माइक्रो, टेम्पोमा मलाई आन्टी भनेर बोलाउँथे। अहिले त दिदी भन्छन्।’
बाल्यकालमा कुवेत र धरान
काठमाडौंको असनमा जन्मिएकी सरिनाको केही वर्ष बालापन भने कुवेतमा बित्यो। बुवा डाक्टर भएको र कुवेतमा बसेकाले उनले पनि कक्षा तीनसम्मको अध्ययन उतै गरिन्।
त्यसपछि बुवाआमा नेपाल फर्किएर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्न थाले। सरिनाले सात कक्षासम्मको अध्ययन त्यता सकिन्। आठदेखि एसएलसीसम्मको अध्ययन भने काठमाडौंमा गरिन् उनले।
बानेश्वरस्थित लोयला हाइयर सेकेन्डरी स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी उनले माइतीघरको सेन्ट जेभियर्स कलेजबाट आइएस्सी गरिन्। त्यसपछि सुरू भयो डाक्टरी अध्ययन।
काठमाडौं विश्वविद्यालय अन्तर्गत नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि सन् २००४ मा भर्ना भएकी उनले २०१० मा पूरा गरिन्। एमबीबीएसपछि पाटन अस्पतालमा करार मेडिकल अधिकृतका रूपमा काम गरेकी उनले करिब दुई वर्ष आकस्मिक विभागमा काम गरिन्।
त्यसपछि डा. सरिनाले कास्कीको पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्समा स्नातकोत्तर तहको नाक, कान, घाँटी (इएनटी) विषयमा एमडी अध्ययन गर्न थालिन्। सन् २०१२ मा अध्ययनका लागि भर्ना भएकी उनको सन् २०१५ मा एमडी पूरा भयो।
फेसियल सर्जरीमा केन्द्रित
एमडीपछि काठमाडौंको कीर्तिपुर अस्पतालमा इएनटी विशेषज्ञका रूपमा डा. सरिनाले काम गर्न थालिन्। त्यहाँ उनले बिग्रिएको नाक र तालु फाटेका जस्ता समस्या भएका व्यक्तिको सर्जरी सिक्ने राम्रो मौका पाइन्।
नाकको आधार मिलाउने सर्जरीलाई चिकित्सकीय भाषामा राइनो प्लाष्टिक सर्जरी भनिन्छ।
कीर्तिपुरमा काम गर्दा गर्दै डा. सरिनालाई अनुहारको सुन्दरता निखार्ने फेसियल सर्जरी सिक्ने इच्छा बढ्दै गयो। त्यही बीचमा उनले भारत र बैंकक पुगेर नाकको आकार मिलाउने (राइनो) र फेसियल सर्जरी सम्बन्धी ज्ञान तथा सीपसमेत सिक्ने मौका पाइन्।
अनुहार र नाक मिलाउने सीपका लागि ताइवान
कीर्तिपुरमा काम गरेपछि फेलोसिप पाएर डा. सरिना सन् २०१८ मा ताइवान् पुगिन्। उनले ताइवानको तापइपेइस्थित नेशनल डिफेन्स मेडिकल सेन्टरमा एक वर्ष फेसियल सर्जरी सम्बन्धी ज्ञान तथा सीप सिकिन्। त्यसपछि डा. सरिना नेपाल फर्किइन्।
सुन्दरता निखार्न म कहाँ ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष आउँछन्।
डा. सरिना ताइवानमा हुँदा दुई हप्ता दक्षिण कोरियाको सोलमा पुगेर फेसियल सर्जरी सम्बन्धी ज्ञान तथा सीप सिक्ने मौका समेत पाइन्। नेपाल फर्केपछि समेत सोलमा पुगेर एक महिना फेसियल कस्मेटिक सम्बन्धि थप ज्ञान तथा सीप सिकिन् उनले।
ताइवानमा फेसियल सर्जरी सम्बन्धी एक वर्षे अध्ययन सकेर डा. सरिना नेपाल फर्किएपछि काठमाडौंको स्टार अस्पतालमा काम गर्न थालिन्। त्यहाँ उनले इएनटी विशेषज्ञ र कस्मेटिक सर्जनका रूपमा काम गरिन्। त्यसपछि ग्राण्डी हुँदै उनी अहिले फ्रन्टलाइन अस्पतालमा कार्यरत छिन्।
विशेषगरी पाको उमेर हुँदैजाँदा छाला चाउरी पर्दै जान्छ। त्यसैले लत्रिएको तथा चाउरी परेको छाला मिलाउने व्यक्ति पनि वयस्क तथा पाको उमेरका नै हुने भए। आजकाल त सुन्दरताका लागि सर्जरी गर्न चाहने व्यक्तिको संख्या बढिरहेको उनले सुनाइन्।
पुरुषको तुलनामा महिलाले बढी सुन्दरतासँग सम्बन्धित सर्जरी गर्ने भए पनि पुरुषको संख्या पनि कम भने नभएको डा. सरिनाले अनुभव सुनाइन्। उनले सुन्दरता निखार्नका लागि आफूकहाँ करिब ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष पुग्ने गरेको अनुभव सुनाइन्।
फागुन २०, २०७९ शनिबार १९:४०:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।