‘राजतन्त्र–जिन्दावाद’ नभन्नुस्

‘राजतन्त्र–जिन्दावाद’ नभन्नुस्

काठमाडौं : व्यवसायी दुर्गा प्रसाईंले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गरेका छन्।

राजतन्त्र पुनःस्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गरेका प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन्।

यसअघि उनका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ लगातका नारा लगाउँदै प्रर्दशन गरिरहेका थिए। तर प्रसाईंले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरे।

प्रसाईंले राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने शर्त राखे। प्रसाईंले आफू पूर्वराजा शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको पनि उनले बताए।

‘म तपाईंहरूलाई राजतन्त्र जिन्दावाद नभन्न आग्रह गर्दछु। किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरू पनि आन्दोलनमा आउनुपर्यो नि! हामीसँगै आउनुपर्यो। भिड्नुपर्यो। हामीलाई साथ दिनुपर्यो। राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईँ। म राजा देखाएर सांसद बनेर जान्न।’

माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईं हाल सो पार्टी पनि परित्याग गरी राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान सञ्चालन गर्दैछन्। व्यवसाय गरिखाने, रोजगारीको अवसर सृजना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ।

फागुन २०, २०७९ शनिबार १७:०१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।