टिकटकमा छ्यापछ्याप्ती ‘छक्का पन्जा ४’, १५ सेकेण्डदेखि ८ मिनेटसम्मका क्लिप

टिकटकमा छ्यापछ्याप्ती ‘छक्का पन्जा ४’, १५ सेकेण्डदेखि ८ मिनेटसम्मका क्लिप

काठमाडौं : शुक्रबारबाट नेपाली सिने क्षेत्रमा दुई ठूला ब्यानरका चलचित्र प्रदर्शनमा आए। एकातिर दीपकराज गिरी सहितको समूहको ‘छक्का पन्जा ४’, अर्कोतिर अनमोल केसीको ‘छड्के २.०’।

यी दुवै फिल्म दर्शकका लागि प्रतिक्षित नै थिए। अनमोलको एकल फ्यान फलोइङ अनि छक्का पन्जा समूहको ब्रान्डको फ्यान फलोइङका कारण दुवै फिल्म दर्शकमाझ प्रतिक्षित हुनु स्वभाविकै थियो।

तर पहिलो दिनको कमाइ र दोस्रो दिनको शो संख्या हेर्दा मेगास्टार भनिएका केसीमाथि छक्का पन्जा समूह हाबी भएको देखिन्छ। शनिबार हलहरूले दिएको शो संख्या हेर्दा पनि छड्केले शुक्रबार राम्रो व्यापार नगरेको अनुमान लगाउन सहजै सकिन्छ।

नेपालको सबैभन्दा ठूलो फिल्म चेन क्यूएफएक्सले शुक्रबारको तुलनामा शनिबार छड्केलाई दिइएको शो संख्या ह्वात्तै घटाएको छ। अपरान्ह ४ बजेपछि क्यूएफएक्सले छड्केलाई देशभर जम्मा पाँच शो पाउँदा छक्का पञ्जाले ४० शो पाएको छ।

यसैबीच चलचित्र ‘छक्का पन्जा ४’ ले राम्रो शो पाएर दर्शकको समेत साथ पाइरहँदा चलचित्रका क्लिपहरू सामाजिक सञ्जाल टिकटकभर देखिएका छन्।

चलचित्र हेर्न जाने दर्शकले भिडियो खिचेर छोटा-छोटा क्लिप राखिदिँदा टिकटकभर फिल्मका क्लिपहरू देख्न सकिन्छ। १५ सेकेण्डदेखि ८ मिनेटसम्मका क्लिपहरू टिकटकमा राख्दा यसले फिल्मको आम्दानीमा धक्का लाग्ने देखिएको छ।

यसले तत्कालको आम्दानीमा धक्का नलागेपनि पछि हुने डिजिटल राइट्स र विदेश प्रदर्शन अधिकार किनेकाहरू समस्यामा पर्ने फिल्म निर्माण टिमले जनाएको छ।

चलचित्रका कलाकार तथा निर्मातामध्येका एक केदारप्रसाद घिमिरेले फिल्मको भिडियो नखिच्न आग्रह गरेका छन्। उकेरासँगको कुराकानीमा उनले टिकटकमा देखिएको फुटेजका कारण डिजिटल अधिकार र अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार किनेकाहरू मारमा पर्ने बताए।

‘तत्कालका लागि त असर गर्ने देखिँदैन। हिजो र आज सम्पूर्ण शोहरू हाउसफूल नै छ। कतिपय स्थानमा टिकट नपाएको भनेर फोन आइरहेका थिए,’ उनले भने, ‘तर, यसले डिजिटल अधिकार र विदेशमा प्रदर्शनको अधिकार किनेकाहरूलाई भने मार पर्ने देखिन्छ।’

टिकटकभर फिल्म देखिन थालेपनि डिजिटल अधिकार किनेको ओएसआर डिजिटलले यसबारे प्रहरीमा उजुरी गर्ने तयारी गरेको छ। आफूले ठूलो लगानी गरेर किनेको फिल्म सामाजिक सञ्जालभर छ्यापछ्याप्ती आउन थालेपछि कम्पनीले प्रहरीमा उजुरी दिन लागेको हो।

चलचित्र निर्माण टिममा पनि यस विषयमा छलफल भएको र भिडियो नखिच्न आग्रह गर्ने तयारी भएको उनले बताए। फिल्मको डिजिटल राइट्स ओएसआर डिजिटलले किनेको छ भने विदेशमा प्रदर्शनको अधिकार फरक–फरक कम्पनीहरूले किनेका छन्।

फागुन २०, २०७९ शनिबार १६:५०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।