मुस्ताङमा भारतलाई विश्वविद्यालय खोल्न दिनु चीनविरुद्धको गद्दारी हो : केपी ओली

मुस्ताङमा भारतलाई विश्वविद्यालय खोल्न दिनु चीनविरुद्धको गद्दारी हो : केपी ओली

काठमाडौं : एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन्।

मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरूको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीले आरोप लगाए।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबीसमेत गरे।

‘मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो। राष्ट्रियतामाथिको प्रहार हो। मित्र राष्ट्र चीन विरुद्धको गद्दारी गर्न खोजेको हो। २०३१ साललाई ठूलो स्केलमा दोहोर्याउन खोजेको हो। आफ्नै राष्ट्रको सार्वभौमसत्तालाई अस्वीकार गर्न खोजिएको हो। स्वाधिनतालाई अस्वीकार गरेको हो,’ उनले भने, ‘विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो। विदेशीहरूको खेल मैदान बनाउन खोजेको हो। त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो। त्यहाँबाट पहिला २०३१ सालमा वाङदी भन्नेले मुस्ताङबाटै अगाडि बढाएको थियो। मार्फाबाट अब लिएर जाने लोमाङथाङका भन्दा माथि। जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय।’

अध्यक्ष ओलीले मान्छेनै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको बताए। उनले भारतलाई खुशी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीहरूको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति समेत जनाए।

नेपालीहरु मारेर भएपनि विदेशीहरूलाई खुशी पार्ने काममा सरकार लागि परेको अध्यक्ष ओलीको आरोप थियो। उनले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

उनले अगाडि थपे, ‘हाम्रो भान्सामा विषादीयुक्त चिज आउन दिने, भान्सा–भान्सामा नेपालीलाई खान दिने, मालिक खुसी हुन्छन कि हुँदैनन्। त्यति हो कुरा। मालिक खुसी हुन्छन् भने नेपाली मरेर के भयो? नेपालीका भान्सामा विषादी आएर के भयो? भन्ने तर्कले अहिले प्रधानमन्त्रीजीको आदेशमा सब्जी, तरकारी आदिइत्यादिको विषयमा विषादीको कुनै जाँचबुझ गर्न पाइने छैन भन्ने आयो।’

अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको बताए। उनले स्ववियू निर्वाचनमा अनेरास्ववियूलाई विजयी गराउने काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

फागुन २०, २०७९ शनिबार १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।