झुकेनन् पुष्पा उर्फ अल्लु अर्जुन : भूमिका​​​​​​​ छोटो भएपछि शाहरुखको 'जवान'लाई अस्वीकार गरे

झुकेनन् पुष्पा उर्फ अल्लु अर्जुन : भूमिका​​​​​​​ छोटो भएपछि शाहरुखको 'जवान'लाई अस्वीकार गरे

एजेन्सी: दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको चर्चित डायलग छ- "मै झुकेका नहीँ ।" गत वर्षको चर्चित फिल्म 'पुष्पा'को यो डायलग यतिबेला अल्लु अर्जुनको वास्तविक जीवनमा पनि लागू भएको छ।

र उनले सानो तिनो होइन, ठूलै ठाउँबाट आएको अवसर लत्याएर नझुकेका हुन्।

चार वर्षपछि ठूलो पर्दामा फर्किएका शाहरुख खानले फिल्म 'पठान'मार्फत डुब्न लागेको बलिउडलाई उकासेर पुनर्स्थापित गरिदिएका थिए। सन् २०२३ मा उनी 'जवान'मार्फत पुनः बलिउडमा चार चाँद लगाउन आउँदै छन्।

जवानको निर्देशन चाहिँ दक्षिण भारतीय चलचित्रका निर्देशक एट लीले गर्दैछन्।

उनै एट ली 'जवान'मा अल्लु अर्जुनलाई समेत राख्न भनेर उनलाई कथा सुनाउन गए। अल्लुले कथा सुने। राम्रो भएको प्रतिक्रिया दिए। तर, फिल्म खेल्न भने राजी भएनन्।

अल्लुले आफू पुष्पाको सिक्वेलको तयारीमा भएको र आफूसँग समय नभएको भन्दै जवानको प्रस्ताव अस्वीकार गरे। तर वास्तविकता अर्कै थियो।

खास कारण हो- अल्लुलाई जवानमा केमियो भूमिका अफर गर्नु। केमियो भनेको छोटो समयका लागि पर्दामा देखिने भूमिका हो।

यद्यपि अल्लुको लागि तय गरिएको केमियो महत्त्वपूर्ण भएको दावी गरिएको छ। तर पुष्पा न परे, बलिउड फिल्म भन्दैमा कहाँ झुकिहाल्थे र!

शाहरुखकै पठानमा पनि सलमान खानको केमियो भूमिका थियो। विभिन्न कलाकारको केमियो भूमिकालाई लिएर विभिन्न दृष्टिकोण छ। कसैले यसलाई आफ्नो उपस्थिति देखाउने दरिलो माध्यम मान्छन् भने कसैले स्टारडम खस्कन्छ भन्ने मान्यता राख्छन्।

जवानको शुटिङ करिब करिब सकिएको छ। जुन २ मा चलचित्र रिलिज गर्ने तयारी छ। चलचित्रमा शाहरुखसँगै दक्षिण भारतीय अभिनेत्री नयनतारा मुख्य भूमिकामा छिन्।

फागुन २०, २०७९ शनिबार १०:११:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।