होलीमा घर जानेहरूसँग बढी भाडा लिने पाँच जना बल्खु काउन्टरबाट पक्राउ

होलीमा घर जानेहरूसँग बढी भाडा लिने पाँच जना बल्खु काउन्टरबाट पक्राउ

काठमाडौं: यात्रुसँग निर्धारितभन्दा बढी भाडा असुल्ने पाँच जनालाई शनिबार बिहान काठमाडौंको बल्खुबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता एकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले आज बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएको भन्दा बढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सुविधा काउन्टरका कामदार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका- ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- १ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउन्टरका कामदार काठमाडौंको चन्द्रागिरी नगरपालिका- ९ का ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका- ८ का २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउन्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर- ४ का २४ वर्षीय कृष्णबहादुर योञ्जन रहेका छन्।

होलीको अवसर पारेर काठमाडौंबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउण्टरबाट निर्धारितभन्दा बढी भाडा लिने गरेको जनगुनासो आएपछि कार्यालयबाट सादा पोशाकमा समेत जनशक्ति परिचालित हुँदै आएका छन्।

निर्धारण गरिएको भन्दा बढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा आएका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन्।

फागुन २०, २०७९ शनिबार ०९:३८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।