छक्का पन्जा ४ को तुलनामा छड्केको कमजोर ओपनिङ
काठमाडौं : दुई ठुलो ब्यानरका फिल्म छक्का पन्जा ४ र छड्के २ शुक्रवार एकसाथ प्रदर्शनमा आए। एकातिर दीपकराज गिरी सहितको समूह। अर्कोतिर अनमोल केसी।
यी दुवै फिल्म दर्शकका लागि प्रतीक्षित नै हुन्। अनमोलको एकल फ्यान फलोइङ अनि छक्का पन्जा समूहको ब्रान्डको फ्यान फलोइङका कारण दुवै फिल्ममध्ये कसले दर्शकको मन जित्ला भन्ने चासो हुनु सामान्य नै भयो।
पहिलो दिन शुक्रवार दुवै फिल्मले मल्टिप्लेक्सहरुमा पाएको शो अनि फिल्म हेर्ने दर्शकको प्रतिक्रिया हेर्ने हो भने 'छक्का पन्जा' हाबी देखिन्छ।
शुक्रवार छक्का पन्जा ४ ले अधिकांश मल्टिप्लेक्समा धेरै सो टाइम पायो। छक्का पन्जा ४ को तुलनामा २.० छड्केले कम सो टाइम पायो।
कमलपोखरीमा रहेको बिग मुभिजले शुक्रवार छक्का पन्जालाई १० ओटा सो दियो। छड्केलाई पाँच सो मात्र। त्यस्तै वान् सिनेमाज्ले बानेश्वरमा छक्का पन्जाका लागि ९ सो र कालीमाटीका लागि ६ गरी १५ सो दिएको छ।
२.० छड्केका लागि बानेश्वरमा ६ र कालीमाटीमा ४ गरी १० ओटा सो दिएको छ। क्युएफएक्सको प्राथमिकतामा पनि छड्केको तुलनामा छक्का पन्जा ४ नै परेको छ।
शुक्रवार पहिलो दिन छक्का पन्जाका सबैजसो सोहरूमा दर्शकको उल्लेख्य उपस्थिति देखियो। तर छड्केले सोचेजस्तो दर्शक बटुल्न सकेन।
भोलि शनिवारको अनलाइन बुकिङ हेर्ने हो भने छड्केमा दर्शक खासै आकर्षित देखिएनन्। छक्का पन्जाका अधिकांश सो छिट्टै भरिने अवस्थामा देखिए।
फिल्म हेरेका दर्शकहरूले सामाजिक सञ्जालमा व्यक्त गरेको प्रतिक्रिया पनि छड्केका लागि सुखद देखिएन। अधिकांशले अनमोलको अभिनयको प्रशंसा त गरे तर फिल्मको कथा र पटकथाको भने आलोचना गरे। त्यस विपरीत छक्का पन्जा ४ पहिलो दिन हेर्न अधिकांश दर्शक सन्तुष्ट नै देखिए।
फागुन १९, २०७९ शुक्रबार २२:२५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।