आशिफ सम्हालिँदा पीएनजीविरुद्ध नेपालको संघर्षपूर्ण जित

आशिफ सम्हालिँदा पीएनजीविरुद्ध नेपालको संघर्षपूर्ण जित

काठमाडौं : आसिफ शेखले सम्हालिएर खेल्दा आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय सिरिजमा पीएनजीलाई तीन विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ।

शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्यु गिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाई पूरा गरेको हो।

नेपालका लागि आसिफ सेखले सर्वाधिक ८६ रन बनाए। त्यस्तै सन्दीप लामिछानेले ३५ रन बनाए। नेपाललाई १०५/७ को अवस्थाबाट जित दिलाउन आसिफ शेख र सन्दीप लामिछानेको साझेदारी महत्त्वपूर्ण रह्यो।

आसिफ र सन्दीपले ८औं विकेटका लागि ७७ रनको साझेदारी गरे। एकदिवसीय अन्तर्राष्ट्रियमा ८औं विकेटका लागि यो अहिलेसम्मकै उच्च साझेदारीसमेत हो।

नेपालले सुरुमै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। भुर्तेल खेलको दोस्रो इनिङ्सको पहिलो बलमै रोयल डक भएका थिए। कुशल मल्लले भने २३ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

पपुवा न्यु गिनीका लागि असद भालाले सर्वाधिक ३ तथा सेमो कामिया र सेसे बाउले समान २÷२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनी ४९.२ ओभरमा १ सय ७९ रनमा अलआउट भएको थियो।

ओपनर टोनी उराले पपुवा न्यु गिनीबाट सर्वाधिक ३९ रन बनाए।अर्का ओपनर किप्लन डोरिगाले २६ रन बनाए। सेसे बाउ र कप्तान असाद भाला समान ११ रनमा आउट भए।

हिरी हिरीले ३१ रन बनाउँदा गौडी टिका १५, नोर्मन भानुआ १४, चाड सोपर र रिलेय हेकुरे समान ९ रनमा आउट भए।

दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २–२ विकेट लिँदा करण केसी, कुशल मल्ल र सन्दीप लामिछानेले १–१ विकेट हात पारे।

लिग–२ मा नेपालले पपुवा न्यु गिनीविरुद्ध यसअघि भएका तीन खेल नै जितेको थियो। तीनै खेल दुबईमा भएको थियो।

एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउन नेपालले आफ्नो बाँकी रहेको ५ मध्येको ३ खेल जित्नुपर्नेछ। नेपाल ३१ खेलमा ३० अंकसहित सात राष्ट्र सहभागी प्रतियोगितामा छैटौं स्थानमा छ।

लिग–२ को शीर्ष तीन टोली जुलाई जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै पुग्ने छन् भने शीर्ष ५ राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छन्।

अमेरिका ३६ खेलमा ३५ अंकसहित चौथो र यूएई ३० खेलमा ३१ अंक जोडी पाँचौं स्थानमा छ। पपुवा न्यु गिनी ३१ खेलमा ७ अंकसहित पुच्छारमा छ।

फागुन १९, २०७९ शुक्रबार १९:५२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।