प्रदेशको नामाकरणपछि जसपाको आपत्ति, भन्यो– ‘कोशी हुनुपर्छ भनेर कहिँ कतै आन्दोलन भयो?’

प्रदेशको नामाकरणपछि जसपाको आपत्ति, भन्यो– ‘कोशी हुनुपर्छ भनेर कहिँ कतै आन्दोलन भयो?’

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले प्रदेश १ को नाम ‘कोशी’ राखिएकोमा आपत्ति जनाएको छ।


फागुन १७ गते प्रदेश अध्यक्ष दीपक याक्खा र १९ गते पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति निकालेर कोशी प्रदेश नामकरणको विरोध गरेका हुन्।

‘कोशी प्रदेश हुनुपर्छ भनेर कहिँ कतै आन्दोलन भएन। कहिँ कतैबाट नमागेको नाम जबरजस्ती थोपर्नु कत्तिको न्यायोचित हुन्छ?’ विज्ञप्तिमा भनिएको छ।

प्रदेशको नाम ऐतिहासिक थाकथलो, भाषा, संस्कार संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी लिम्बुवान किरात शेर्पालुङ प्रदेश हुनुपर्ने माग गर्दै समितिले पहिचानको आधारमा नामकरण नभएसम्म संघर्षंमा होमिने चेतावनी दिएको छ।

शुक्रबार पार्टी सम्बद्ध पहिचानमा आधारित राष्ट्रिय समितिले पनि विज्ञप्ति निकालेर कोशी प्रदेश नामकरणपछि राजनीतिक कोर्स परिवर्तन भएको र त्यसले विद्रोहको दिर्घकालीन विजारोपण गरेको उल्लेख गरिएको छ।

साथै, जसपा, नेपालको सांसद्लाई मत दिन बञ्चित गरिएको भन्दै समितिले यसबारेमा सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग मागसमेत गरेको छ।

विज्ञप्तिमा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, प्रवास विशेष प्रदेश समितिका इन्चार्ज आङ्काजी शेर्पा, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, मधेस राष्ट्रिय समितिका अध्यक्ष जयराम यादव, शिल्पी विशेष राष्टिय समितिका सह इन्चार्ज दलमर्दन कामी, शेर्पालुङ राष्ट्रिय समिति प्रदेश १ का संयोजक नुर्वु शेर्पाले हस्ताक्षर गरेका छन्।

फागुन १९, २०७९ शुक्रबार १६:५९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।