कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला

कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला

सुर्खेत : कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा आएको छ। प्रयोगशाला सञ्चालनमा आएसँगै कुनै पनि रोगको परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ।

शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईले प्रयोगशालाको उद्घाटन गरे। उद्घाटनका क्रममा उनले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गरिने बताए।

मन्त्री पछाईले प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै  प्रयोगशालालाई अन्वेषण केन्द्रको रूपमा पनि विकसित गरिने बताए।

प्रयोगशालाका निर्देशक वृष बहादुर शाहीले जनस्वास्थ्य सम्बन्धी रोगको छिटो पहिचान गरी रोग नियन्त्रणमा सघाउने बताए। उनले अब अन्य प्रदेशमा परीक्षण हुन नसकेको काम पनि यही प्रयोगशालाबाट हुने उल्लेख गरे। उनका अनुसार अब रोगको परीक्षण गर्न बाहिर जानुपर्दैन।

प्रयोगशालामा नौ जना प्राविधिकको दरबन्दी भए पनि हाल तीन जना मात्रै पूर्ति भएको छ। प्राविधिक र प्रशासनसमेत गरेर कूल १६ जना जनशक्ति अहिले प्रयोगशालामा छन्।

प्रयोगशालामा रगत, दिसा-पिसाब, खकार लगायतको परीक्षण हुने ल्याब टेक्निसियन एवं सूचना अधिकारी घनश्याम गिरीले जानकारी दिए।

फागुन १९, २०७९ शुक्रबार १४:२४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।