ग्रीस रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५७ पुग्यो

ग्रीस रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५७ पुग्यो

एजेन्सी: मध्य ग्रीसमा गत मङ्गलबार राति भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ। ग्रीसमा दुई रेल एकआपसमा ठोकिएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार स्थानीय अधिकारीहरूले जानकारी दिएका हुन्।

उ​​​​​​क्त घटनामा यसअघि नै ३६ जनाको मृत्यु भएको थियो। घाइतेमध्ये ६६ जना अस्पतालमा भर्ना भएका थिए। बिहीबारसम्म थप घाइतेको मृत्यु भएको थियो।

मध्य ग्रीसको टेम्पी नगरपालिकामा मङ्गलबार मध्यराति मालबाहक रेलमा ठोकिएर दुर्घटना भएको यात्रुवाहक रेलमा  ठक्करपछि अघिल्लो भाग आगोको लप्कामा फसेको थियो।

रेल सेवाका अधिकारीले दिएको जानकारीअनुसार उक्त यात्रुवाहक रेलमा ३४६ यात्रु सवार थिए। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

ग्रीस प्रहरीका प्रवक्ताका अनुसार अझै पनि सो दुर्घटनामा परेका ४८ जना घाइते अस्पतालमा छन्। ती घाइतेमध्ये ६ जना गम्भीर अवस्थामा रहेका र उनीहरूको आईसीयूमा उपचार भइरहेको छ।

फागुन १९, २०७९ शुक्रबार १३:२५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।