फ्राइडे रिलिज : अनमोलको आडमा छक्कापञ्जाको रेकर्ड भत्काउने छड्के टिमको दाउ

फ्राइडे रिलिज : अनमोलको आडमा छक्कापञ्जाको रेकर्ड भत्काउने छड्के टिमको दाउ

काठमाडौं: आज शुक्रबार राजनीतिक विषयलाई मूल कथा बनाएको फिल्म 'छक्कापञ्जा– ४' र आपराधिक घटनामा आधारित फिल्म 'छड्के– २' एकै पटक रिलिज भएको छ। दुवै सिक्वेल फिल्म हुन्।

हेमराज विसीले निर्देशन गरेको फिल्म 'छक्कापञ्जा- ४' मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिसा हमाल, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्यलगायत कलाकारको अभिनय छ।

दीपकराजले तयार पारेको कथालाई पहिला 'माग्ने राजा' नामाकरण गरिएको थियो। तर, स्थापित भइसकेको नाम भन्दै अन्तमा छक्कापञ्जाकै सिरिजको नाम राखियो। फिल्ममा 'मुन्द्रे' नामले परिचित जितु नेपाल यसपटक छैनन्।

दीपेन्द्र खनियाँ र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन्।

यता अनमोल केसीको 'लभर बोय'को छवि भत्काउन ग्याङस्टर लुक्सको परीक्षण गरिएको फिल्म 'छड्के- २' पनि शुक्रबारै रिलिज भएको छ। फिल्म निर्भाण फिल्म स्कुलले बनाएको हो।

प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निर्माण रहेको छड्के– २ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्मको प्रचारका लागि निर्माण टिमले र्यापर भिटेनको प्रोमोशन गीत सार्वजनिक गरेको थियो।

अटोट्युनको प्रयोगले गीत त्यति प्रभावकारी हुन सकेन। यो यसअघि अनमोल अभिनित फिल्म 'ए मेरो हजुर- ४' मा जिबबले गाएको गीत जत्तिको प्रभावकारी देखिएन।

छक्कापञ्जा सिरिजले नेपाली फिल्म हलमा राम्रो व्यापार गर्दै आएको छ। छक्कापञ्जा नेपालमा सर्वाधिक सफल फिल्म सिरिजमध्ये पर्छ।

छड्केले पनि प्रिक्वेलमा ठीकै व्यापार गरेको थियो। पहिलो भागमा सौगात मल्ल, विपीन कार्की, दयाहाङ राईको अभिनय थियो।

अलग-अलग दिन रिलिज गर्नसक्ने विकल्प भए पनि अन्तमा छड्के टिम छक्कापञ्जासँग भिड्न तयार भएको हो। अब अनमोलको आड लिएर छक्कापञ्जालाई रोक्ने छड्केको दाउ कत्तिको सफल हुन्छ त्यो हेर्न बाँकी नै छ।

फागुन १९, २०७९ शुक्रबार ०९:२०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।