रामचन्द्रलाई राष्ट्रपतिमा जिताउन आज बागमती प्रदेश सभाका सांसदलाई अभिमुखीकरण

रामचन्द्रलाई राष्ट्रपतिमा जिताउन आज बागमती प्रदेश सभाका सांसदलाई अभिमुखीकरण
आठ दलीय गठबन्धनको बैठक । फाइल तस्बिर

काठमाडौं: आठ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपति निर्वाचनमा विजयी गराउन आज बागमती प्रदेश सभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ। यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरू समेत रहेको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ।

संयन्त्रको निर्णयबमोजिम बागमती प्रदेशका आठ वटै राजनीतिक दलका प्रदेश सभा सदस्यका लागि आज दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ बानेश्वरमा अभिमुखीकरण कार्यक्रम गरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यस बाहेक सबै प्रदेशमा सोहीअनुसारको राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम हुने कांग्रेसले जनाएको छ। यसअघि आठ दलले काठमाडौंमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफ्ना सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेका थिए।

१९ फागुन, २०७९, ०७:४६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।