साथीहरूसँग गफ गरेर बसेको बेलामा जब प्रेमिका टुप्लुक्क आइपुगिन् डा. विप्लव ढकालको सासै रोकियो
भोजपुर जिल्लाको अरुण गाउँपालिकामा जन्मिएका डा. विप्लव ढकाल सानोमा हलो बनाउन रमाउँथे। किसान परिवारका सन्तान। आफैँले बनाएको हलोले खेत पनि जोत्थे। बर्खाको समयमा जोत्ने, बिउँ काट्ने, आली खन्ने काममै उनको दिन बित्थ्यो।
नौ जना सन्तानमा उनी जेठो। अहिले उनी प्रोफेसर भइसकेका छन्। तर आफ्नो विगततिर फर्कँदा रमाउँछन्।
'विगत मेरो पुँजी हो' उनले भने।
वर्षमा डेढ देखि दुई सय मुरीसम्म धान भित्र्याउने ढकालको पिता तोयानाथ दिनभर जस्तो खेतमै हुन्थे। उनकी आमा पुष्पा उनीहरूकै स्याहारसुसारमै व्यस्त।
ढकाल हजुरआमा र फुपूबाट लोककथा सुन्दै हुर्किए। आफू जेठो भएको नाताले भाइबहिनीको जिम्मेवारी पूरा गर्दै हुर्किए। बाआमाको जेठो सन्तान भएकै नाताले पुलपुलिएँ पनि।
हुर्काइका हिसाबले संयुक्त परिवारमा हुर्किनु आफ्नो सौभाग्य भएको बताउँछन् उनी। उनलाई लाग्छ,'ठुलो परिवारमा हुर्किनुको बेफाइदा भन्दा बढी फाइदा छ।'
'क' को कथा
ढकालको पढाइको सुरुवात आमा मार्फत भयो। उनले क लेख्न आमाबाटै सिके।
भन्छन्, 'आमा नै मेरो पढाइको पहिलो गुरु हो। मैले 'क' लेख्न आमाबाटै सिके। म आफूलाई एकदमै भाग्यमानी ठान्छु।'
अहिले पनि उनी आफ्नो आमालाई सोध्ने गर्छन्, 'म बाल्यकालमा कस्तो थिएँ? मेरो स्वभाव कस्तो थियो?' उनकी आमा खुसी हुँदै सुनाउने गर्छिन् 'कमेरो र माटोले लिपपोत गरेको घरको भित्ताभरि सिन्काले 'क' लेख्ने गर्थिस्। अलिअलि मात्रै हो र पूरै घरभरि। तेरो बाले परबाट देखेर पिट्न आउँथे। तर, तैँले लेखेको 'क' देखेर खुसी हुन्थे।'
काठको फल्याकमा रातो माटोको झोल बनाएर बाँसको सिन्काले 'क' लेखेको याद छ उनलाई। लेख्नै, मेट्दै फेरि लेख्दै थप अक्षर चिन्न उनले पाटीको प्रयोग गरे। खरी ढुङ्गाको प्रयोग गरे। यसरी 'क' ले सानै देखि आफ्नो जीवनमा कथाको भूमिका निर्वाह गरेको उनको अनुभव रहेछ।
उनले आफ्नो बाल्यकालमा जस्ता खेलहरू खेले अधिकांश खेलहरू हराइसके। अहिलेका बाल्यकालका रहेकाहरूका लागि अधिकांश नामहरू नै नौला बनिसके।
बाल्यकालमा ढकाल झर्झरी खेल खेल्ने गर्थे। जहाँ दुई पक्षले तानातान गर्थे। नदेख्ने गरेर घेरा तानिन्थ्यो। त्यो घेरा भेट्टाउन नसक्नेले हार्दथ्यो। यो बाहेक उनी खोपी खेल्थे। पैसाको चाल चिन्ने खेल खेल्थे। लुकामारी खेल्थे अनि ककफाइट, कबड्डी, हाँडी फुटाई खेलाहरू पनि।
फरक खेल खेल्न मन लाग्दा हामीहरू समूह बनाएर पुतलीको बिहे गर्थ्यौँ। झुम्राको दुलाहा पुतली, दुलही पुतली बनाउँथ्यौ,' उनी बाल्यकालको स्मृतिमा फर्किए' दुलाहा पक्ष, दुलही पक्ष जन्ती जाने गर्थ्यौ। बिहे गरेर दुलहीलाई अन्माएर पठाउँदा रोएको अभिनय गर्थ्यौँ। उनीहरूको सुहागरात मनाई दिन्थ्यौँ। खुब रमाइलो हुन्थ्यो।'
चराको बच्चा खोज्न जङ्गल-जङ्गल
ढकाल पढाइमा मध्यम विद्यार्थी। उनी अलि माथिल्लो तहमा पुग्दै गएपछि चराको बच्चा खोज्न जङ्गल-जङ्गल चहार्न थाले। मिहिनेत गरेर ढुकुरका बच्चा, सुगाका बच्चा खोजे।
चराका बचेरा खोजेपछि उनी बुबालाई घरमा पिँजडा बनाउन लगाए। सबै चराहरूलाई घरमा नै ल्याएर राखे। अरू साथीहरू स्कुल छुटेपछि खाजा खान दौडेर घर आउँथे। उनी भने चराको आहार किराहरू खोज्न खेत-खेत दौडिन्थे।
'मैले उनीहरू माथि अन्याय होइन प्रेम गरेको थिएँ। तर अन्याय जस्तै लागेर होला एक दिन म स्कुलबाट फर्केर आउँदा मेरी हजुरआमाले तिनीहरूलाई छोडी दिनु भएछ। त्यो बेला तीन दिन खाना खाएको थिइनँ रोएर' उनले भने।
दुई तीन क्लास देखि नै लाइब्रेरी
ढकाल सानै देखि लाइब्रेरी जान रुचाउँथे। त्यहाँ गएर उनी घण्टौँ पढ्थे। बाल पुस्तकहरू उनको मन पर्ने पुस्तक। लाइब्रेरीमा मात्र होइन उनी रुखमा चढेर पनि पढ्थे। उनको स्वभाव अलि एकोहोरो, जिद्धी स्वभावको भएकाले आफूलाई मन पर्ने कुरा गरिछाड्थे।
पुस्तक पढ्दा-पढ्दै उनले ६, ७ कक्षाबाट नै कविता लेख्न थाले। कवितामा उनी देश प्रेमका कविता लेख्थे। चराहरूका कविता लेख्थे। हिमालहरूका कविता लेख्थे। रामायण, महाभारत, भागवद् गीता लगायतका थुप्रै पुस्तक आफ्नो पिताले कण्ठ सुनाएकाले उनका साहित्यिक चेत धेरथोर सानैमा बढेको थियो। जसले उनलाई साहित्य लेखनमा रुचि बढाउँदै लग्यो।
'साहित्यिक कार्यक्रममा म प्राय: सधैँ प्रथम हुने गर्थे। कतिले मैले लेखेको कविता नै होइन भन्दै मलाई तत्काल लेख्न लगाउँथे। म लेखिदिन्थे। पछि बिस्तारै मेरो कविता रेडियो नेपालमा वाचन हुन थाल्यो। मधुपर्कमा छापिन थाल्यो। त्यसपछि गाउँमा मेरो छुट्टै शान हुन्थ्यो। म खुसीले गद्गद् भएर फेन्ट मात्र हुन सक्दैनथे। सबै जना मेरो वरिपरि झुम्मिन्थे। मलाई बोक्ने गर्थे' फुरुङगहुँदै उनले सुनाए।
गीत गाउने रहर
ढकाललाई सानैदेखि गीत गाउन पनि खुब रहर लाग्थ्यो। उनलाई लाग्थ्यो, गीत भनेको शास्त्रीय सङ्गीत हो। उनी गोठालो जाँदा पूरै हा..हु..हु..गरेर बस्थे अरे। जसले गर्दा उनका नजिकका साथीहरू अचम्म मानेर उनलाई हेर्थे। उनको यो स्वभाव देखेर उनकी आमालाई पनि छोरो बौलाउने डर थियो अरे।
उनलाई अकस्मात् आफूले राम्रो गाउन नसकेको र आफू गायक हुन नसकेको चिन्ताले सताउन थालेछ। अरू शास्त्रीय गीत सुन्दा तर्सिएर भागे पनि उनी घरको पालीमा रेडियो बजाएर शास्त्रीय सङ्गीत सुनेर रियाज गर्न प्रयास गर्न थाले।
'एक दिन गाउँ नजिकैको जङ्गलको ओडारमा गएको थिएँ। त्यहाँ बसेर पूरै आँखा चिम्लेर शास्त्रीय सङ्गीत गाउन थाले। लगभग आधा घण्टासम्मै म आँखा चिम्लेर आफ्नै तालमा गाइरहेको थिए,' उनले सुनाए'जब मेलै आँखा खोले मेरो अघि घाँस काट्न हिँडेका थुप्रै महिलाहरू देखिए। ती मलाई पूरै आत्तिएर हेरिरहेका थिए। म भने लाजले पूरै रातो भएँ। उनीहरू भने मलाई भूत लागेको हो कि भनेर शङ्का गरिरहेका थिए। कसैले केही लगाई दिएको हो कि भन्थे। तर म आफैँमा मग्न हुन्थे।'
प्रेम पत्र लेख्दा
ढकाल पहिलो पटक आफू प्रेममा परेको महसुस आठ कक्षा पढ्दा भएको बताउँछन्। त्यो भन्दा अघि देश भक्तिका कविता लेख्ने उनी एक्कासि प्रेमको कविता लेख्न थालेछन्। उनी त्यसलाई अहिले प्रेम भन्दा पनि आकर्षणको संज्ञा दिन्छन्। तर, त्यो बेला उनले आफूले मन पराएको केटीको लागि कविता लेखेछन् र साथीहरूलाई सुनाएछन्। त्यो कवितापछि साथीहरूले उनलाई खुब जिस्काए। अनि त्यसपछि उनी प्रेमको कविता लेख्न डराउन थाले।
'मैले आफ्नै हृदय पगालेर धेरै जनाको लभ लेटर लेखेको छु। मैले अर्काको नामबाट कसलाई लभ लेटर लेखिरहेको छु भन्ने पनि थाहा हुन्थ्यो। कतिपय अवस्थामा उसले जसको लागि लभ लेटर लेख्न लगाइरहेको हुन्थ्यो उनी आफूलाई पनि मन परेको हुन्थ्यो,' उनले सुनाए' त्यसपछि त म आफैँ डुबेर पनि पत्र लेखेको छु। तर मैले म भएर लेखिन। अर्काको लागि लेखिदिएँ। त्यो सम्झँदा अहिले मलाई अनौठो लाग्छ।'
लाल बिहे
ढकाल आफ्नो वैवाहिक जीवनलाई लाल बिहे भन्न रुचाउँछन्। अर्थात् 'LAL' पहिले लभ भयो। त्यसपछि एरेन्ज म्यारिज भयो र फेरि लभ पर्यो। उनको श्रीमतीको नाम डा.पद्मा अर्याल। उनी रमेश विकलकी नातिनी पनि हुन्। उनीहरूको भेट एमए पढ्दा भएको थियो। त्यति बेला उनीहरू त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्ने गर्थे।
ढकाल आफूहरूले एक अर्कालाई थाहै नभई मन पराएको बताउँछन्। उनीहरूको प्रेम बस्दा बिहे गर्ने पक्का भएको थिएन। उनलाई देख्दा आवाज काप्ने, डर लागे जस्तो हुने, मुटु छिटो-छिटो चले जस्तो हुने हुन्थ्यो रे।
सबै साथीहरूको अघि खुलेर बोलिरहँदा अकस्मात् उनी आफ्नो छेउ टुपुक्क आइपुग्दा सास रोकिएको पल अझै याद छ रे उनलाई।
'म कुनै दिन कलेज गइनँ भने उनले नोट बनाउँदा कार्बन राखेर मेरो लागि पनि बनाई दिन्थिन्। उनले गजल लेख्थिन्। म उनलाई सुन्थे। पढ्थे' उनले सम्झिए।
नदी टाढा जाऊ तिमी छोडिने त किनार छ
जहाँ भेट्छु जिन्दगी यो अँधेरीको दिवार छ।
श्रीमतीले आफ्नो लागि लेखेको गजल अझै याद छ उनलाई। ढकाल बेलाबेला आफ्नो घर भोजपुर जान्थे। उनीहरू चिठीमा आफ्ना भावनाहरू अभिव्यक्त गर्थे। अहिले पनि त्यो चिठीहरू आफूहरूसँग क्रमानुसार सुरक्षित छ रे उनीसँग।
फागुन १८, २०७९ बिहीबार १९:०८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।