युएइबाट नेपालले पायो २ सय ८ रनको चुनौती

युएइबाट नेपालले पायो २ सय ८ रनको चुनौती

काठमाडौं : आइसिसी क्रिकेट विश्वकपको लिग टु अन्तर्गतको दोस्रो खेलमा नेपालले युएईबाट २०८ रनको चुनौती पाएको छ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा युएईले टस हारेर ब्याटिङ पाएको थियो। उसले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो।

यूएईका लागि आसिफ खानले सर्वाधिक ७२ रन बनाएका थिए। रोहन मुस्ताफाले अविजित ५२ रन बनाए।

प्रतियोगितामा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएका थिए। उनले पहिलो ओभरमै ओपनर मुहम्मद वासिमलाई नेपालका करण केसीले बोल्ड गरेका थिए।

दोस्रो विकेटका लागि भृत्य अरभिन्दसँग ४६ रनको साझेदारी गरेका थिए। १८ रन जोडेका अरभिन्दलाई लामिछाने कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए।

तेस्रो विकेटका लागि आसिफ खानले कप्तान सिपी रिजवानसँग ४३ रनको साझेदारी गरे। २२ रन बनाएका कप्तान रिजवानलाई कुशल मल्लले दीपेन्द्र ऐरीबाट क्याच आउट गराएका थिए।

आसिफले रोहन मुस्ताफासँग चौथो विकेटका लागि ५० रनको साझेदारी गरेर बाहिरिए। आसिफ खानले ९९ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाएका थिए।

उनलाई सन्दीपले करण केसीबाट क्याच आउट गराएका थिए। आलिसान शाराफुलाई आसिफ शेखले बोल्ड गरेका थिए। मुस्ताफा र आर्यल लाक्राले छैटौँ विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए।

४९ औँ ओभरमा सन्दीपले लाक्रालाई बोल्ड गर्दै साझेदारी तोडे। लाक्राले २८ रन बनाएका थिए। मुस्ताफाले अन्तिमसम्म ७६ बल खेल्दै २ चौकासँगै ५२ रन बनाएका थिए। 

फागुन १८, २०७९ बिहीबार १६:४९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।