छोराकै अगाडि गोली हानेर बुवाको हत्या

छोराकै अगाडि गोली हानेर बुवाको हत्या

एजेन्सी: अष्ट्रेलियामा एक १२ वर्षीय किशोरका अगाडि गोली हानेर उनकै बुवाको हत्या भएको छ। मार्शल आर्ट जिममा प्रवेश गर्ने योजनामा रहेका एक व्यक्तिलाई उनकै कारभित्र गोली हानी हत्या गरिएको साउथ वेल्स राज्यको प्रहरीले जनाएको छ।

गोली प्रहारका बेला उनका छोरा साथमै रहेका प्रहरीले एक विज्ञप्ति निकालेर बताएको छ।

प्रहरीले यसलाई सङ्गठित अपराधको लक्षित आक्रमण भएको आशङ्का गरेको छ। ४० वर्षीय ती व्यक्तिलाई गोली लागेको अवस्थामा भेटिएको तथा चिकित्सा सहायकहरूको प्रयासका बावजुद उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

हत्याको कारण खुलेको छैन। प्रहरीले अनुसन्धान जारी राखेको छ।

हिंसात्मक आक्रमण देखेका ती किशोरलाई भने मानसिक आघात पुगेको ठानिएको छ। आक्रमणकारी माज्दा कार चढेर आएका र उनीहरूले हत्यापछि कार जलाएको बताइएको छ।

प्रहरीले त्यस सम्बन्धी सीसीटीभी फुटेजका लागि स्थानीय बासिन्दासँग अनुरोध गरेको छ।

फागुन १८, २०७९ बिहीबार १६:१६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।