नक्कली अमेरिकी डलरबारे सिटिजन्स बैङ्कको दाबी' जानकारी नै आएको छैन', राष्ट्र बैङ्क अझैँ मौन

नक्कली अमेरिकी डलरबारे सिटिजन्स बैङ्कको दाबी' जानकारी नै आएको छैन', राष्ट्र बैङ्क अझैँ मौन
बोर्डका कर्मचारीले सिटिजन्स बैंकबाट डलर साटेको प्रमाण

काठमाडौँ : दुबई जान चलचित्र विकास बोर्डका कर्मचारीले साटेको अमेरिकी डलर नक्कली परेकोबारे बैङ्कलाई कुनै जानकारी नआएको सिटिजन्स बैङ्कको दाबी छ।

बैङ्कका प्रवक्ता नारायणराज अधिकारीले बोर्डका दुई कर्मचारीले बैङ्कमा साटेको पाँच सय अमेरिकी डलरमध्ये केही नोट नक्कली परेकोबारे औपचारिक रूपमा जानकारी नै नआएको दाबी गरे।

उनले उकेराको समाचारमा बोर्डका पदाधिकारी नक्कली डलर परेर झन्डै थुनिएकोबारे पढे पनि त्यसबारे बोर्डले बैङ्कलाई औपचारिक रूपमा जानकारी नगराएको बताए।

‘समाचारमा त हामीले पढ्यौँ। यसबारे हामीलाई औपचारिक जानकारी नै छैन,’अधिकारीले भने, ‘औपचारिक जानकारी नआई हामीले राष्ट्र बैङ्कमा खबर गर्ने कुरा पनि आएन’ उनले दाबी गरे।

दुबईमा आयोजित नेपाल फिल्म फेस्टमा सहभागी हुन बैङ्कको कपन शाखामा लिएको अमेरिकी डलरमध्ये दुई जना कर्मचारीले बोकेको अमेरिकी डलर दुबई विमानस्थलमा स्थानीय मुद्रामा साट्न खोज्दा सुरक्षाकर्मीले नक्कली डलर बोकेको भन्दै नियन्त्रणमा लिएको थियो।

फेब्रुअरी १२ देखि दुबइमा हुने फेस्टमा सहभागीका लागि त्यही शाखाबाट डलर साटिएको थियो। बोर्डका कर्मचारी गिरीश शर्माले एक हजार डलरको ट्राभल्स कार्ड लिए भने पाँच सय अमेरिकी डलर नगदै लिए। उता र हरिसिंह राइखोलाले आठ सय डलरको ट्राभल्स कार्ड र पाँच सय डलर नगद लिएका थिए।

उनीहरूले बैङ्कबाट आधिकारिक रूपमा लिएको डलर स्थानीय मुद्रामा साट्न खोज्दा नक्कली देखिएपछि अनुसन्धानको दायरामा परेका थिए। नेपालको बैङ्कमा साटेको डलर भएको प्रमाण पेस गरेपछि उनीहरूलाई दुबई को सुरक्षाकर्मीले नियन्त्रण मुक्त गरेको थियो।

यसबारे उकेराले शर्मासँग जानकारी लिँदा बैङ्कबाट आधिकारिक रूपमा लिएको डलर पनि नक्कली देखिएको भन्दै दुबईमा आफूहरूले बेकारमा दुख पाएको स्वीकार गरेका थिए।

यो घटनाले नेपालको बैङ्किङ च्यानलमै नक्कली डलर रहेको देखिए पनि बोर्डका जिम्मेवार अधिकारीहरू यसबारे मौन बसेका छन् भने नेपाल राष्ट्र बैङ्कका अधिकारीहरू समेत जानकारी आएको छैन भन्दै पन्छिरहेका छन्।

फागुन १८, २०७९ बिहीबार १५:४१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।