बुटवलका घरभेटीले घटाए घरभाडा
बुटवल: रुपन्देहीको बुटवलमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन भएका घरमा घरभाडा घटाउन थालिएको छ। कोरोना सङ्क्रमणले समस्यामा परेका पर्यटन व्यवसायी आर्थिक मन्दीका कारण थप समस्यामा परेपछि घरभेटीहरूले घरभाडा घटाएका हुन्।
होटल तथा पर्यटन व्यवसायीले घरभाडा महँगो भएको भन्दै घटाउन माग गरेका थिए। जसअनुसार बुटवलको ट्राफिक चोकमा रहेको होटल डिलाइट, देउराली होटल, सनराइज होटललगायत दर्जन बढी होटल सञ्चालन भइरहेका घरका घरभेटीहरूले ३० प्रतिशतसम्म भाडा घटाएका छन्।
महँगो भाडा तिरेर बैंकको ब्याज समेत तिर्नुपर्ने हुँदा समस्यामा परेका व्यवसायीहरू अहिले भने खुशी भएका छन्।
बैङ्कहरूले व्यवसायीको मर्म नबुझे पनि आर्थिक समस्यामा परेर व्यवसायबाटै विस्थापित हुन लागेका व्यवसायीका समस्या घरधनीहरूले बुझेको भन्दै होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ रुपन्देहीका पूर्व अध्यक्ष समुद्र जीसीले बताए।
जीसीका अनुसार बुटवलमा ठूला, साना गरी करिब १ हजार होटल सञ्चालनमा छन्। तिनमा तीन अर्ब बढीको लगानी छ।
यस्तै महँगो भाडा तिर्न नसकेको अवस्थामा असल घरधनीहरूले भाडामा छुट दिएपछि पर्यटन व्यवसायी उत्साहित बनेको होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताएका छन्।
फागुन १८, २०७९ बिहीबार १५:२८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।