मेलमिलापको नीति लिएर फर्केका बिपीको मन्तव्य: राष्ट्रको अस्तित्व बचाउन देश फर्किएका छौं

मेलमिलापको नीति लिएर फर्केका बिपीको मन्तव्य: राष्ट्रको अस्तित्व बचाउन देश फर्किएका छौं

यस तथ्यलाई अरूले पनि स्वीकार गरेका छन्। बखत–बखत महाराजाधिराजलगायत सबैले राष्ट्रिय अस्तित्वमाथि परेको खतराको चर्चा गरेका छन्। हामी यो गम्भीर वास्तविकतालाई बुझेर स्वदेश फर्कदै छौं। हाम्रो विचारमा अस्तित्वको सङ्कट आइपर्नुको मुख्य कारण राष्ट्रिय एकताको अभाव हो। त्यसले गर्दा हाम्रो देशमा विदेशी तत्वहरू कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन्। 

सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियानबाट मात्र राष्ट्रिय एकता स्थापित हुन्छ। त्यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ। राष्ट्रिय एकता कोरा नाराले मात्र हुने भए बितेका १६ वर्षमा त्यो यसरी छिन्न–भिन्न भएर देशले यस्तो सोचनीय स्थितिमा पुग्नुपर्ने थिएन। 

आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलबाला छ। यस्तो परिस्थितिमा सबैभन्दा पहिले राष्ट्रियताको हत्या हुन्छ।

हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निमित्त मात्र थियो। त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं। आज यसमा एउटा नयाँ आयाम थपिएको छ। नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ। त्यो दोस्रो जिम्मेवारी देशको अस्तित्वको रक्षा गर्ने हो। हामीले वर्तमान नेपालको परिस्थितिको दुईमुखे स्वरूप देखेका छौं।

'राष्ट्रियता र प्रजातन्त्र' भन्नुको तात्पर्य के हो भने प्रजातन्त्रको प्राप्ति र राष्ट्रको रक्षा गर्ने दुवै जिम्मेवारी नेपालीले लिनुपरेको छ। हामीले यीमध्ये एउटा मात्र जिम्मेवारीको कुरा गयौं भने हामी एकपक्षीय भएर गलत बाटोतिर लागेका हुनेछौं। 

त्यस्तै, हामीले प्रजातन्त्र प्राप्तिमा मात्र जोड दियौं भने राष्ट्रिय सङ्कटको निवारणमा हाम्रो योगदान रहँदैन। त्यति मात्र होइन, यस्तो एकपक्षीय कार्यले हामी विदेशीहरूको चालमा पर्ने अवस्थामा पनि रहन्छौं। त्यस्तै, हामीले केवल राष्ट्रियताको मात्र चर्चा गर्यो भने १६ वर्षदेखि चल्दै आएको खोक्रो राष्ट्रियताको नाराबाजीमा पुग्छौं र अधिनायकवादको पक्षधर हुन पुग्छौं। 

यस्तो खोक्रो राष्ट्रियताले देशबासीमा राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोबल पैदा गर्न सक्दैन। त्यसो हुनाले हामीले राष्ट्रिय एकता प्रजातन्त्रको जगमा खडा हुनसक्छ, प्रजातन्त्र र विकास वा उन्नति एकअर्कामा आधारित तत्व हुन भन्ने कुरा पनि बुझ्नुपरेको छ।

नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि नै बेलाबेलामा देशहितका लागि ऐतिहासिक र गम्भीर निर्णय लिएको सबैलाई थाहा छ। २००७ सालमा क्रान्तिको निर्णय र त्यसको कार्यान्वयन, त्यसपछि आमचुनावको सदाका लागि महत्त्व रहने कुरालाई दृष्टिगत गरेर चुनाव गराउने राष्ट्रिय अभियानको नेतृत्त्व पनि यसैले लियो। 

त्यस आन्दोलनमा हामीलाई अरू धेरै दलहरूको सहयोग पनि प्राप्त भएको थियो। २०१७ सालमा प्रजातन्त्रमाथि निर्मम एवम् सांघातिक प्रहार भएपछि नेपाली कांग्रेसले प्रजातन्त्रको पक्षमा संघर्ष गयो। र, आज हामीले देशमाथि खतरा आइलागेको बुझेर नेपाली कांग्रेसको परस्पराको अनुरूप यो अर्को ऐतिहासिक निर्णय लिएका छौं।

प्रत्येक राष्ट्रको इतिहासमा त्यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर राष्ट्रको अस्तित्वको रक्षा गर्नुपर्ने घडी पनि आउँछ। आज नेपालमा त्यस्तो घडी आएको छ भन्ने हामीलाई लाग्छ। हाम्रा शुभचिन्तकहरूले नेपाल फर्किने हाम्रो चाहनामा निहित खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएकोमा उनीहरूलाई हामी भन्दछौं– 'हामीमाथिको सम्भावित व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खतराको सामु नगण्य भन्ठानेर नै हामीले यो ऐतिहासिक निर्णय लिएका हौं।' नेपाली कांग्रेसका कार्यकर्ताहरूले पनि पार्टी निर्देशनअनुसार देश फर्केर अपूर्व साहस र देशप्रेमको उदाहरण प्रस्तुत गरेका छन्।

यस राष्ट्रिय सङ्कटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ। हाम्रो कार्यक्रम 'राष्ट्र रहेन भने हामी रहन्नौँ' भन्ने भावनाले प्रेरित हुनुपर्छ। 

देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा हामी सबै एकमल भएर लागौं। मैले अवसर पाएको खण्डमा महाराजाधिराजका समक्ष पनि आफूलाई लागेका कुरा राख्नेछु। राष्ट्रलाई बचाउने हामी सबैको जिम्मेवारी हो।

जय नेपाल।

(२०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्र शाहले जननिर्वाचित बिपी कोइराला सरकारलाई अपदस्थ मात्रै होइन निर्दलीय व्यवस्था लादेर राजनैतिक कु गरेका थिए। तत्कालिन प्रधानमन्त्री बिपी कोइराला, सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंह लगायतका कांग्रेसका शिर्षस्थ नेता बन्दी बनाइए। ८ वर्ष बन्दी जीवन बिताएका कोइराला त्यसपछि भने भारतमा निर्वासनमा बसे। २०३३ सालमा मेलमिलाप नीति लिएर उनी नेपाल फर्किए। र यो मन्तव्य दिएका थिए।) 

मंसिर २४ गतेदेखि काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनलाई केन्द्रित गरी हामीले कांग्रेसको इतिहाससँग सम्बन्धित सामग्रीहरु विभिन्न पुस्तकहरुबाट साभार गरेका छौं।
- सम्पादक 

२३ मंसिर, २०७८, १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।