नेपाली राष्ट्रिय कांग्रेसलाई प्रतिबन्ध लगाउँदा यस्तो थियो मोहन शमशेरले जारी गरेको इश्तिहार

नेपाली राष्ट्रिय कांग्रेसलाई प्रतिबन्ध लगाउँदा यस्तो थियो मोहन शमशेरले जारी गरेको इश्तिहार

काठमाडौंः १४औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेस २००७ सालको क्रान्तिमा अग्रमोर्चामा थियो। जहानियाँ राणा शासन ढालेर प्रजातन्त्र ल्याउनुमा कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण थियो। 

२००६ साल फागुन १२ गते नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस एकीकरण भएर नेपाली कांग्रेस भएको हो।  

नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्त्व गरेका थिए- मातृकाप्रसाद कोइरालाले। यता नेपाल प्रजातान्त्रिक कांग्रेसको नेतृत्त्व गरेको थिए- महेन्द्र विक्रम शाहले। 

त्यतिबेला नेपालमा कुनै राजनीतिक दल खोल्न पाइँदैन थियो। यसभन्दा अघि १९९३ साल जेठ २० गते स्थपना भएको थियो- नेपाल प्रजा परिषद्। यो पार्टी पनि प्रतिबन्धित नै थियो। 

नेपाली राष्ट्रिय कांग्रेसलाई पनि तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले प्रतिबन्ध लगाएका थिए। वि.सं. २००४ चैत्र ३१ गते इश्तिहार जारी गर्दै प्रतिबन्ध लगाएका थिए। 

इश्तिहार यस्तो छ: 
आफैं नेपाली राष्ट्रिय कांग्रेस नाम लिई खडा भएको संस्था वा त्यसका सदस्यहरूलाई नेपाल राज्य भर हद गरिबक्सेको छ।

आगे नेपालराज्यभर मुलुकका भाइभारदार, रैती, दुनियाँ, साहू, महाजन गैन्डके, स्वयं घोषित नेपाल राष्ट्रिय कांग्रेसले हत्याकाण्ड मचाउने मनसायले गैरकानूनी संस्था खडा गर्ने, मुलुकको ढुङ्गाको खलल गर्ने, निजी ईर्ष्या र लोभले देशकै स्वाधीनता गुमाउन तत्पर हुने, वर्तमान सरकारउपर नानाप्रकारको झुटा अफवाह लगाइ सरकारप्रति दुनियाँको मनमा द्वेष र घृणा पैदा गराउन खोज्ने, डर, त्रास र लालचा देखाइ सरकारी कर्मचारीहरूलाई ऐन बर्खिलाप काम गर्न उत्तेजित गराउने, पल्टन भड्काउने लक्ष्य लिई सरकारउपर कैयन निमकहरामी र अभक्ति पैदा गराउने उद्देश्यले पर्चाहरू बाँड्ने, देशको शान्ति भङ्ग गर्ने मनसायले बलसमेत प्रयोग गर्न धम्की दिने यस्तै अरु किसिमका कारबाही गरेकाले सरकार स्वयं घोषित नेपाली राष्ट्रिय कांग्रेसलाई नेपाल राज्यभर हद गर्न आवश्यक ठहयाई हद गरिबक्सेको छ।

स्वयं घोषित नेपाली राष्ट्रिय कांग्रेसलाई सरकारी वा गैरसरकारी संस्था वा संघको सदस्य चुन्न वा बन्न र अब प्रचलित हुने नयाँ बैधानिक कानूनबमोजिमका हक अधिकारहरू नपाउने गरिबक्सेको छ।

अरू कुनै संस्था वा संघलाई पनि माथि लेखिएको स्वयं घोषित नेपाली राष्ट्रिय कांग्रेसको उद्देश्य र नियमहरू कायम राखी नेपाल राज्यभित्र खडा हुन मनाई गरिबक्सेको छ।

इति संवत् २००४ साल चैत्र ३१ गते रोज २ शुभम्

इश्तिहार, आगे नेपाल राज्यभर मुलुकका भाइभारदार, रैती, दुनियाँ, साहू, महाजन, गैहके २००५ साल वैशाखदेखि चालू हुने मौलिक हकहरूमध्ये प्रकाशन स्वतन्त्रता, वाक् स्वतन्त्रता, सभा स्वतन्त्रता, संघस्वतन्त्रता, यही वैशाखदेखि बक्सेकाले सोसम्बन्धी ऐन कानून प्रकाशित भएका छन्। ती ऐनभित्र रही छापाखाना राख्न र सभा संघ र भाषण गर्न हुन्छ।

इति सम्वत् २००४ साल चैत्र ३१ गते रोज २ शुभम् 

(मङ्सिर २४ गतेदेखि काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनलाई केन्द्रीत गरी उकेराले कांग्रेसको इतिहाससँग सम्बन्धित सामग्रीहरू विभिन्न पुस्तकहरूबाट साभार गरेको छ। यो इश्तिहार 'नेपाली कांग्रेसको ऐतिहासिक दस्ताबेजहरू'बाट साभार गरिएको हो।)
 – सम्पादक 

२१ मंसिर, २०७८, १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।