प्रहरी हेडक्वाटरभित्रको बाटोमा दर्जा अनुसारको 'विभेद' ,आइजी सचिवालय अगाडिको बाटो हिँड्न पाउँदैनन् जुनियर प्रहरी

प्रहरी हेडक्वाटरभित्रको बाटोमा दर्जा अनुसारको 'विभेद' ,आइजी सचिवालय अगाडिको बाटो हिँड्न पाउँदैनन् जुनियर प्रहरी

प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालय अगाडिको बाटोबाट कार्य विभाग लगायतका कार्यालय जान चार दोबाटोसम्म सबै तहका प्रहरी कर्मचारीले बाटोको प्रयोग गर्दै आएका थिए। प्रहरी महानिरीक्षकको सचिवालयले एकाएक प्रहरी निरीक्षकभन्दा तल्ला तहका प्रहरी कर्मचारीलाई अमर प्रहरी स्मारक रहेको चार दोबाटोसम्मको बाटो प्रयोगमा रोक लगाएको हो।

पहिला सबै तहका प्रहरी कर्मचारीले एक कार्यालयबाट अर्को कार्यालयमा जान प्रहरी महानिरीक्षकको सचिवालयको अगाडि रहेको बाटोबाट चार दोबाटोसम्म पुगेर दायाँ र बायाँको बाटो प्रयोग गर्थे। सोही बाटोबाट सिधै प्रहरी महानिरीक्षकको सचिवालयमा जान भने पाइँदैनथ्यो।

अब भने चार दोबाटोसम्म जान पनि दर्जा अनुसार विभेद सुरु गरिएको छ। स्रोतका अनुसार प्रहरी निरीक्षक भन्दा तल्ला दर्जाका प्रहरी कर्मचारीका हकमा प्रहरी प्रधान कार्यालयको मुख्य ढोकाभित्रबाट प्रवेश गरेपछि अब सिधै दायाँतिरको छेउको बाटो या बायाँतिरको पम्पतिरको बाटोको मात्र प्रयोग गर्न आन्तरिक निर्देशन जारी भएको छ।

' सिधै प्रहरी महानिरीक्षकको सचिवालय जाने बाटोको प्रयोगमा रोक लगाउनु भिडभाड हुने भएकाले ठिकै हो। तर बिचसम्मको बाटोको प्रयोगमा यसरी दर्जा अनुसार विभेद गर्नु ठिक हो र ?,' एक अधिकृतको टिप्पणी छ' बोलीसँगै व्यवहार समेत सङ्गठनमैत्री बनाउन निर्देशन आइरहँदा बाटोको प्रयोगमै विभेद हुँदा कसरी समानता होला र!'

प्रहरी प्रवक्ता  वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षकको सचिवालयको अगाडिको बाटो सार्वजनिक प्रयोजनका लागि नभई कार्यालयमा आउने भिआइपी, सचिवालय र महिला बालबालिका महाशाखाका प्रहरी कर्मचारीको प्रयोगका लागि भएको बताउँदै त्यसरी दर्जा नै छुट्ट्याएर बाटो नतोकिएको दाबी गर्छन्।

'त्यो बाटो सार्वजनिक प्रयोगका लागि बनाइएको हैन। निश्चित व्यक्ति र कार्यालयका कर्मचारीका लागि पहिल्यैदेखि तोकिएकै हो,' उनले भने' भिडभाड हुने भएकाले सार्वजनिक प्रयोगका लागि बनेका बाटो प्रयोग गर्न आग्रह गरिएको हुनसक्छ। तर दर्जा तोकेकै कुन बाटो कुन दर्जाले प्रयोग गर्ने भन्ने निर्णय भएको छैन। यो निर्णय गर्ने विषय पनि हैन।'

२३ कात्तिक, २०७८, १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।