काम नगरेको भन्दै मेयरले ‘मुक्का’ खाए, तर आइएनजिओले दियो उत्कृष्टको उपाधि

काम नगरेको भन्दै मेयरले ‘मुक्का’ खाए, तर आइएनजिओले दियो उत्कृष्टको उपाधि

बुटवलः लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल अस्तव्यस्त छ। सडकमा खाल्डै खाल्डा छन्। सवारी चालक र पैदल यात्रीले सास्ती व्यहोरेका छन्। छाडा चौपायाको व्यवस्थापन हुन सकेको छैन, सडकभरि देखिन्छन्।

ट्राफिक जाम पनि त्यस्तै। घाम लागे धुलाम्मे, पानी परे हिलो र पोखरीमय हुन्छ मुख्य सडक। भित्री सडकको अवस्था झन् दर्दनाक। कुनै पनि सडक निर्माण सम्पन्न भएका छैनन्।

दशैं तिहार जस्ता चाडपर्व नजिकै आइसक्यो। तर व्यापारिक क्षेत्र पनि उस्तै भद्रगोल छ। व्यापारिक चहल पहल हुने अमरपथ, नेपालगञ्ज रोड, हाटबजारमा पनि अहिले सडक निर्माणकै क्रममा छ।

यता ४ असोजमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले नगरबासीकै हातबाट ‘मुक्का’ पनि खाए। भदौ ११ देखि १४ गतेसम्म गएको चुरे पहिरोलाई व्यवस्थित गर्न नसकेको भन्दै एमाले कार्यकर्ता समेत रहेका गणेश पंगेनीले मेयर सुवेदीलाई ‘मुक्का’ हानेका थिए। 

चुरे पहिरो व्यवस्थापनमा चासो नदिएको भन्दै मेयर सुवेदीमाथि अहिले पनि आलोचना भइरहेको छ। सफा र चिटिक्क नगर बनाउने घोषणा गरेका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख सुवेदी अहिले चुपचाप छन्।

तर अस्तव्यस्त बुटवल उपमहानगरपालिका उत्कृष्ट नगर घोषणा भएको छ। काम नगरेको भन्दै नगरप्रमुखमाथि मुक्का प्रहार भएको १५ दिन नबित्दै बुटवल उपमहानगरपालिका उत्कृष्ट भएको खबरले धेरै अचम्मित भएका छन्। ‘नागरिकलाई धुलो र हिलो दिएर’ उत्कृष्ट भएको भन्दै व्यङग्य पनि भइरहेकाे छ।

‘कुनै पनि बाटो हिँड्न लायक छैन। चौराहदेखि गोलपार्क जाँदा लगाएका कपडा एक पटकमा मैला हुन्छन्। भित्री सडक वर्षौँदेखि बनेका छैनन्। तर फेरि बुटवल उत्कृष्ट भयो भन्ने सुन्दा अचम्म लाग्यो’ बुटवलको ट्राफिक चोकमा कम्प्युटर पसल सञ्चालन गरिरहेका सुरेश भट्टराईले भने।

बुटवल उपमहानगरपालिका हालसालै लगानी र व्यावसायिक वातावरण निर्माण भएको नगरका रूपमा उत्कृष्ट भएको हो। व्यावसायिक वातावरण सूचकमा देशभरका नगरलाई उछिन्दै बुटवल उत्कृष्ट भएको उपमहानगरपालिकाको दाबी छ।

जर्मन सहयोग नियोग (जीआईजेड)ले विषयगत विज्ञहरूमार्फत देशभरका ११ वटा नगरपालिकाको सर्वेक्षण गरेको थियो। तीमध्ये जनघनत्व र आर्थिक केन्द्रका रूपमा विकास भइरहेका ११ वटा नगरलाई छनौट गरी त्यहाँको लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर सर्वेक्षण गरिएको जीआईजेडकी नेसनल टीम लिडर दिप्ति खकुरेलले बताइन्। 

स्थानीयस्तरमा रोजगारी सिर्जनाको अवस्था, नयाँ लगानीका क्षेत्र, विद्यमान लगानीको अवस्था र नयाँ वातावरण निर्माण, उद्यमशीलताको विकास, जीविकोपार्जनमा सहजता ल्याउन गरिएका प्रयासलाई मूल्यांकनको आधार बनाइ सर्वेक्षण गरिएको जीआईजेडले जनाएको छ। सोही मूल्यांकनका आधारमा बुटवल देशकै उत्कृष्ट भएको हो।

जीआईजेडले बुटवललाई उत्कृष्ट नगरपालिका घोषणा गरेसँगै अहिले सामाजिक सञ्जालमा विभिन्न ट्रोलहरू बनिरहेका छन्। कतिपयले उत्कृष्ट घोषणा हुनुलाई ‘जोक’ भनिरहेका छन् भने कतिपयले उत्कृष्ट नगरको यो हालत भए अन्यत्रको अवस्था कस्तो होला भन्दै टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा रमेश कार्की लेख्छन्– ‘एक पटक गम्भीर भएर सोच्नुपर्ने भयो, किनभने उत्कृष्टको अवस्था यस्तो छ भने अरूको अवस्था कस्तो होला?’ 

त्यस्तै पदम ज्ञवालीले ‘बुटवलको उत्कृष्टको मापन बुटवलको सडकको अवस्था, ढल निकासको अवस्था हेरेर भएको हुन सक्छ’ भन्दै व्यङग्य गरेका छन्।

यता प्रेम तिवारी नामका सामाजिक सञ्जाल प्रयाेगकर्ताले बुटवल उत्कृष्ट भएकाे खबरलाई 'गुड जाेक'काे संज्ञा दिएका छन्।

२० असोज, २०७८, १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।