घरेलु सिरिजमा नेपालको क्लिन स्विप, लिग–२ मा पहिलो पटक सिरिजको चारै खेल जित्न सफल
काठमाडौं: नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको घरेलु सिरिजमा क्लिन स्विप गरेको छ। लिग–२ अन्तर्गतको कुनै पनि सिरिजमा नेपालले सबै, चारवटै खेल जितेको यो पहिलो पटक हो।
स्कटल्यान्ड र नामिबिया समेत सम्मिलित सिरिजको अन्तिम खेलमा नेपालले लिग–२ को च्याम्पियन बनिसकेको स्कटल्यान्डलाई २ विकेटले हराउँदै सिरिज क्लिन स्विप गर्यो।
जितका लागि पाएको २१३ रनको मध्यम लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो। नेपालको जितमा कप्तान रोहित पौडेल र करण केसीले उत्कृष्ट ब्याटिङ गरे।
रोहितले १०१ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ९५ रनको योगदान गर्दा करण केसीले ३७ बलमा २ चौका र १ छक्कासहित ३१ रन जोडे।
कुनै समय ३१.५ ओभरमा मात्र १३८ रन जोड्दा नेपालको ८ विकेट खसिसकेको थियो। तर करण केसी र रोहित पौडेलले नवौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै नेपालको जित पक्का गरे।
यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६.१ ओभरमा २१२ रनमै अल आउट भएको थियो।
स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्शेले ५० बमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६० रन जोडेका थिए। मुन्शे बाहेक अन्य ब्याटरले गतिलो स्कोर बनाउन सकेनन्।
नेपालका लागि बलिङतर्फ सानदार खेल देखाएका सन्दीप लामिछानले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए।
त्यसैगरी करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिंदा ललित राजवंशी र कुशल मल्लले एक/ एक विकेट झारेका थिए।
यो घरेलु सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो। त्यसैगरी, नामिबियालाई भने नेपालले क्रमशः ३ र २ विकेटले हराएको थियो।
लगातार चौथो जितपछि नेपाल २८ खेलमा २६ अंकका साथ लिग-२ को छैटौं स्थानमा कायमै छ। स्कटल्यान्डले भने सबै ३६ खेल खेलेर कुल ५० अंकका साथ लिग-२ को उपाधि जित्यो।
सबै खेल खेलिसकेर ४४ अंक रहेको ओमान दोस्रो स्थानमा छ। यी दुवै सोझै एकदिवसीय विश्वकप छनोटमा पुगेका छन्।
लिगको शीर्ष ३ टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने नियम छ। नेपालले पनि अब बाँकी सबै ८ खेल जितेमा तेस्रो हुँदै सोझै विश्वकप छनोट खेल्न पाउने छ।
फागुन ९, २०७९ मंगलबार १६:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।