फोटो खिच्ने स्थल बन्दै १ अर्ब लागतमा बनेको सम्मेलन केन्द्र, कार्यविधि नबन्दा पाँच महिनामा जम्मा चार कार्यक्रम
बुटवल : गत भदौमा नै उद्घाटन गरिएको बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले ५ महिना बितिसक्दा पनि पर्याप्त काम पाउन सकेको छैन।
हालसम्म कार्यविधि बन्न नसक्दा बुटवल मण्डपमा निर्माण भएको सम्मेलन केन्द्रमा कार्यक्रमहरु सञ्चालन हुन सकेका छैनन्। जसले गर्दा मासिक लाखौं रुपैयाँ विद्युत् र सरसफाईका लागि मात्र खर्च भइरहेको छ।
गत भदौ ११ गते तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले केन्द्रको उद्घाटन गरेका थिए।
यसपछि सम्मेलन केन्द्रमा संविधान दिवसको अवसरमा प्रदेश सरकारले एउटा कार्यक्रम गरेको थियो। गत पुस १५ र १६ गते यहाँ रोट्याक्ट क्लबहरुको सम्मेलन भएको थियो।
त्यसैगरी उपमहानगरपालिको प्रथम भेला पनि सम्मेलन केन्द्रमा भएको थियो भने पुस ७ गते नृत्य दिवसको कार्यक्रम गरिएको थियो। त्यसबाहेक अहिलेसम्म कुनै पनि कार्यक्रम सम्मेलन केन्द्रमा भएका छैनन्।
यी कार्यक्रम पनि कार्यविधि नबनेको र हलको स्वामित्व कसैले नलिएको अवस्थामा भएका थिए। कार्यविधि छिटो बने केन्द्रको उपयोगिता अझ बढ्ने भएपनि अहिले कार्यविधिकै कारण त्यहाँ सोचेअनुरुप कार्यक्रम हुन सकिरहेको छैन।
निकै महत्त्वका साथ निर्माण सुरु गरी उद्घाटन गरिएको केन्द्रले ५ महिनामा केवल घाटा मात्र व्यहोर्नु परेको छ। १ अर्ब ११ करोडको लागतमा तयार भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले विजनेस पाएको छैन।
प्रर्दशनी केन्द्र स्थलसँगै रहेको सम्मेलन केन्द्र हाल आकर्षणका कारण फोटो खिच्ने स्थल मात्र बन्न पुगेको छ।
उद्घाटन भएपनि केन्द्रले विजनेस नपाएपछि केन्द्र सञ्चालन कार्यविधि परिमार्जनका लागि विज्ञसहितको टिम गठन गरी अहिले कार्यविधिको मस्यौदा तयार गरिएको छ।
अर्थमन्त्री विष्णु पौडेलले सम्मेलन केन्द्रको कार्यविधिलाई विजनेश प्लान सहित पेश गर्न सहरी विकास मन्त्रालयलाई आदेश दिएपछि अहिले मस्यौदालाई अर्थमन्त्रालयमा पेश गरिएको छ।
सहरी विकास मन्त्रालयका भवन शाखाका सिनियर डिभिजन ईन्जिनियर चन्द्रशेखर महतोले कार्यविधिको मस्यौदा बनाएर सहमतिको लागि अर्थ मन्त्रालयमा पठाएको बताए।
सभाहल सञ्चालन सम्बन्धी सरकारले बनाएको मापदण्ड अनुसार ५ सय सिट क्षमतासम्मको सभाहललाई गाउँपालिका वा नगरपालिकाले सञ्चालन गर्ने उल्लेख भएको उनको भनाइ छ।
त्यस्तै, उपमहानगरलाई ७ सय सिट क्षमता सम्मको र महानगरपालिकालाई १ हजार सिट क्षमताको सभाहल सञ्चालन गर्न दिन सक्ने उल्लेख छ। त्योभन्दा माथिको विकास समितिमार्फत सञ्चालन गर्न सकिने मापदण्ड छ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मुख्य हल १ हजार सिट क्षमताको छ। मापदण्ड अनुसार उपमहानगरले ७ सय सिट क्षमताको हल मात्र सञ्चालन गर्न पाउने भएपछि विकास समितिमार्फत सञ्चालन गर्ने गरि कार्यविधि परिवर्तन गरेको सम्मेलन केन्द्रका आयोजना प्रमुख धर्वेन्द्र पन्थीले बताए।
‘महानगरपालिका भए बुटवलले सञ्चालन गर्न सक्ने अवस्था हुन्थ्यो। उपमहानगर भएकाले मापदण्ड अनुसार विकास समितिमार्फत चलाउनुपर्ने भयो,’ उनले भने।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा नआउँदा पनि रेखदेख र सरसफाइ खर्च हुने गर्दछ। हाल निर्माण कम्पनीकै तर्फबाट सम्मेलन केन्द्रमा सरसफाइको खर्च भइरहेको आयोजनाका ईन्जिनियर सुमन दर्लामीले जानाकारी दिए।
त्यस्तै, विद्युत् बापतको मासिक ८४ हजार रुपैयाँ भने आयोजनाले तिर्ने उनको भनाइ छ।
‘सञ्चालनको मोडालिटी एक वर्षभित्र बनेको अवस्थामा अहिले लाग्ने खर्च निर्माण कम्पनीले तिर्छ। अन्यथा हामीले कर्मचारीले राखेर भएपनि यसको सरसफाई गनुपर्ने हुन्छ,’ उनले भने।
बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले भने उक्त सम्मेलन केन्द्र आफूहरुलाई दिएमा चलाउन तयार रहेको बताए।
उनले अहिले कार्यविधि नै नहुँदा केन्द्रले विजनेश पाउन नसकेको स्वीकार गर्दै संघ सरकारले गर्ने निर्णय अनुसार आफूहरु अघि बढ्ने बताए।
यस्तो छ सम्मेलन केन्द्र
सम्मेलन केन्द्रको सभाहलमा १ हजार ११४ जना अटाउने मुख्य सम्मेलन हल रहेको छ। सभाहलमा लिफ्टको समेत व्यवस्था छ।
त्यसैगरी ५०/५० र १/१ सय क्षमताका दुइटा लेक्चर हल, ५ सय क्षमताका ६ वटा मिटिङ हलका साथै भीआइपी, भिडिओ, अडिओ र ट्रान्सलेटर लगायतका कक्ष रहेका छन्।
बुटवल उपमहानगरपालिकाले संरक्षण गर्दै आएको बुटवल मण्डपमा पूर्वतर्फ बुटवल सम्मेलन केन्द्र र पश्चिमतर्फ अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने निर्णय २०६५ सालमा सरकारले गरेको थियो।
२०७६ जेठ १३ गते पूर्व अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेपछि सम्मेलन केन्द्रको काम अगाडि बढाइएको थियो।
बुटवल मण्डपको १६ विघामध्ये पश्चिमतर्फको ६.४ विघा क्षेत्रमा एक अर्ब दुई करोडको लागतमा बुटवल प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ।
फागुन ८, २०७९ सोमबार १९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।