महबुबले गरेको प्रतिम्याच ६ लाखको ‘फिक्सिङ’ अफरमा धन्न फसेनन् आरिफ शेख

महबुबले गरेको प्रतिम्याच ६ लाखको ‘फिक्सिङ’ अफरमा धन्न फसेनन् आरिफ शेख

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी महबुब आलमले नेपाल टी-२० लिगमा फिक्सिङ गराएको स्वीकार गरेका छन्।

नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ गरेको आरोपमा सोमबार जिल्ला अदालत काठमाडौंमा उनीसँगै आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध मुद्दा दर्ता गरिएको छ।

महबुबले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँगको बयानमा आरिफ शेख र हासिम अन्सारीलाई फिक्सिङका लागि प्रस्ताव गरेको बताएका हुन्।

महेबुबका अनुसार उनका छिमेकी भाई रवि माझीले उनलाई नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गराउन ह्वाट्स एप नम्बरबाट सम्पर्क गरेका थिए। 

माझीले लिगमा पोखरा एभेन्जर्सका खेलाडी आरिफ शेख र फार वेस्ट युनाइटेडका हासिम अन्सारीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन दिए उनीहरूलाई ६ लाख नेपाली रुपैयाँ दिने प्रस्ताव राख्न महेबुबलाई भनेका थिए।

त्यसपछि महेबुबले मोबाइलबाट तत्कालै आरिफ शेखलाई रवि माझीको प्रस्तावबारे जानकारी गराएका थिए। सो प्रस्तावबारे आरिफ शेखले तत्काल निर्णय नदिए पनि पछि भने ‘मबाट यो काम हुँदैन’ भनि जवाफ दिएका थिए।

महेबुबका अनुसार उनले आरिफलाई लिगमा बाँकी रहेको ६ म्याचमा प्रतिम्याच ६ लाखका दरले ३६ लाख पैसा आउने लोभ देखाएका थिए।

तर धन्न यो लोभमा आरिफ फसेनन्। नत्र उनको करियर त बर्बाद हुन्थ्यो नै नेपाली टिमले पनी एक भरपर्दा अलराउण्डर गुमाउँथ्यो।

रवि माझीले ६ लाख रुपैयाँमध्ये आफूलाई २ लाख दिने प्रस्ताव गरेका कारण महेबुबले हासिम अन्सारीलाई भने ४ लाख रुपैयाँ दिने बताएका थिए। सीआईबीका अनुसार हासिमले उनको प्रस्ताव मानेर स्पट फिक्सिङमा सामेल भएका थिए।

फागुन ८, २०७९ सोमबार १६:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।