साप्ताहिक शेयर समीक्षा : मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि खस्कियो शेयर बजार

साप्ताहिक शेयर समीक्षा : मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि खस्कियो शेयर बजार

काठमाडौं : यस साता नेप्से परिसूचकमा भारी अंकको वृद्धि देखिएको छ। अघिल्लो साता ८८.०७ अंकले बढेर २१८२.६१ विन्दुमा पुगेको नेप्से यो साता ११२.२० अंकले घटेर २०७०.४१ विन्दुमा आइपुगेको छ।

यो साता नेप्से घट्नुसँगै कारोबार रकममा उल्लेख्य कमी आएको देखियो। सोमबार सार्वजनिक विदा परेकाले चार दिन मात्रै शेयर कारोबार भएको थियो। 

गत शुक्रबार आएको राष्ट्र बैंकको मौद्रिक नीति शेयर बजारको अनुकुल नभएको निष्कर्ष निकालिएको थियो। त्यसको प्रभाव शेयर बजारमा आइतबारदेखि नै परेको देखियो।

आइतबार शेयर बजार ६०.७७ अंकले घटेर २१२१.८७ विन्दुमा पुगेको थियो। सो दिन कारोबार रकममा भने खासै कमी आएको देखिएन। दिनभरमा करिब ३ अर्ब भन्दा बढीको कारोबार भएको थियो।

गएको मंगलबार पनि शेयर बजार १६.४० अंकले घटेर २१०५.४७ विन्दुमा पुगेको थियो। मंगलवार करिब १ अर्ब ७६ करोडको कारोबार भएको थियो। कतिपयले यसलाई शेयर बजारको करेक्सनका रुपमा लिन्छन्।

शेयर बजार बुधबार पनि झिनो अंकले ओरालो लागेको थियो। त्यस दिन नेप्से सूचक १३.९० अंकले घटेर २०९१.५६ को विन्दुमा पुगेर रोकियो।

नेप्सेले पार गर्ने २१०० विन्दुलाई शेयर बजारका विज्ञहरु गौंडोका रुपमा लिन्छन्। त्यो दिन नेप्सेले २१०० को गौंडो काटेर तल ओर्लनुलाई जानकारहरू शेयर बजारले पुनः ‘बियरिस’ यात्रा तय गरेको बताउँछन्।

त्यो दिन कारोबार रकममा पनि वृद्धि देखिएन। त्यस दिन दिनभरमा करिब १ अर्ब ६९ करोड बराबरको कारोबार भएको थियो।

बिहीबार पनि नेप्सेमा गिरावट कायमै रह्यो। नेप्से सूचक २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा पुग्यो। त्यस दिन करिब १ अर्ब ६८ करोडको कारोबार भएको थियो।

साताभरिको कारोबारको मूल्याङ्कन गर्दा शेयर बजार घट्नुसँगै कारोबार रकममा पनि कमी आएको देखिन्छ। यसको अर्थ कम मूल्यमा शेयर बिक्री गर्न लगानीकर्ता इच्छुक छैनन् भन्ने हो। यसले शेयर बजारको भविष्य बलियै भएको बुझाउँछ। 

अदूरदर्शी मौद्रिक नीति

अघिल्लो शुक्रबार राष्ट्र बैंकले अर्धवार्षिक मौद्रिक नीति सार्वजनिक गरेको थियो। सो मौद्रिक नीतिमा बैंकको ब्याजदरका सम्बन्धमा कुनै उल्लेख गरिएको थिएन।

बैंकहरुले ऋणीहरु माथि लगाउँदै आएको चर्को ब्याजदरलाई राष्ट्र बैंकले सम्बोधन गर्नु आजको आवश्यकता थियो। कतिपय अर्थविद्हरू यस मौद्रिक नीतिलाई गरिबमारा बताउँछन्। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले निजी क्षेत्रको मनोबल आशा अनुरुप उच्च गर्न नसकेको नेपाल उद्योग परिसंघले जनाएको छ।

अर्थतन्त्रमा निष्क्रिय कर्जामा भइरहेको वृद्धि, उच्च ब्याजदर लगायतलाई कमी ल्याई बजार चलायमान बनाउने गरी मौद्रिक नीतिको समीक्षा आउने सबैले अपेक्षा गरेकामा आशा अनुसार नआएको परिसंघको धारणा छ।

यस सातामा भएको समग्र शेयर बजारको गतिलाई हेर्दा मौद्रिक नीति समीक्षापछि लगानीकर्ताले नकारात्मक प्रतिक्रिया दिएको देखिन्छ।

केन्द्रीय बैंकले समीक्षामार्फत शेयर बजार सुधारका लागि ठोस नीतिगत व्यवस्था गर्ने आँकलन गरिए पनि व्यवहारमा त्यस्तो नभएपछि लगानीकर्ता निराश बनेको आम बुझाई छ।

पछिल्लो समय अर्थतन्त्रका सूचकहरु सबल बन्दै गएका छन्। विशेषगरी अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार आएको छ।

यता, बैंकहरुमा पनि तरलता सहज हुँदै गएको छ। अन्तर बैंक ब्याजदर निरन्तर घटिरहेको छ। ट्रेजरी बिलको ब्याजदर पनि घटेको छ।

यी परिप्रेक्ष्यमा केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बजार सुधारका लागि केही ठोस नीतिगत परिवर्तन गर्न सक्ने आम लगानीकर्ताको अनुमान थियो।

विशेषगरी १२ करोडको सीमा परिमार्जन र १५० प्रतिशतको जोखिमभार घटाएर १०० मा झारिन सक्ने लगानीकर्ताले अनुमान गरेका थिए, तर व्यवहारमा त्यसो हुन सकेन।

यस्तै, वाणिज्य बैंकहरुले फागुनका लागि ब्याजदर यथावत् राख्नु शेयर बजारका लागि अर्को दबाब हो। यिनै कुराहरुको तत्काल प्रतिक्रिया स्वरुपः सेयर बजारमा गिरावट आएको मानिएको छ। 

अझै पनि लगानीकर्ताले आशा गर्ने ठाउँ भने बाँकी नै रहेको छ। मौद्रिक नीति समीक्षामा आएका विषयवस्तु कार्यान्वयनका लागि केन्द्रीय बैंकले सकुर्लर जारी गर्न सक्छ। यसो हुन सकेमा बजारले फेरि गति लिन सक्ने अर्थविद्हरुको भनाई छ। 
 
थोरै मात्र सकारात्मक नीतिगत परिवर्तन हुने हो भने पनि बजार अघि बढ्न सक्ने अवस्था रहेको विश्लेषकहरु बताउँछन्।

बजारले लामो ‘बियरिस’ यात्रा पार गरिसकेको अवस्था छ। यता, अर्थतन्त्रका सूचकहरु पनि सबल बन्दै गएकाले अब आम लगानीकर्ताको मनोविज्ञान सुधार्ने खालका नीति र कार्यक्रम चाहिएको छ।

फागुन ५, २०७९ शुक्रबार १२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।