रास्वपालाई पुनः सरकारमा ल्याउने तयारीमा सत्ता गठबन्धन, लिङ्देन भन्छन् -‘केही प्राविधिक समस्यामा छलफल भइरहेको छ’

रास्वपालाई पुनः सरकारमा ल्याउने तयारीमा सत्ता गठबन्धन, लिङ्देन भन्छन् -‘केही प्राविधिक समस्यामा छलफल भइरहेको छ’

काठमाडौं : पार्टी सभापति रवि लामिछानेको अवैध नागरिकता प्रकरणका कारण सरकार छाड्न परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुनः सरकारमा ल्याउन सत्ता गठबन्धन छलफलमा जुटेका छन्।

आइतबार भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे छलफल भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

उनले भने, ‘रास्वपालाई पुनः सरकारमा ल्याउने बारेमा छलफल भइराखेको छ। उपयुक्त समयमा रास्वपा सरकारमा आउन पनि सक्छ। यसबारेमा केही प्राविधिक समस्या छन्, जसको छलफल भइरहेको छ।’

अवैध नागरिकताका कारण रविको सांसद र गृहमन्त्री पद गुमेको थियो। अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रकृयामा नगइ पुरानै नागरिकताले चुनाव लडेकाले उनको पद गुमेको थियो।

यसपछि रविले पुनः नागरिकता लिइसकेपछि फेरि गृहमन्त्री पद मागेका थिए। तर प्रधानमन्त्री दाहालले दोस्रो पटक गृहमन्त्रालय नदिएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो।

उता बैठकमा लामिछानेले भने सरकारमा फिर्ताभन्दा पनि प्रधानमन्त्री दाहालसँग चितवन-२ को उपनिर्वाचन छिटो हुनुपर्ने माग राखेका थिए।

गत  मंसिर ४ को निर्वाचनमा चितवन-२ बाट निर्वाचित भए पनि अवैध नागरिकताका कारण उनको सांसद पद खारेज भएको थियो।

माघ २९, २०७९ आइतबार १५:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।