नेपाली वायुसेवा आइकाओको परीक्षणमा उत्तीर्ण, तर कालाेसूचीबाट हटाउँदै-हटाउँदैन ईयू

नेपाली वायुसेवा आइकाओको परीक्षणमा उत्तीर्ण, तर कालाेसूचीबाट हटाउँदै-हटाउँदैन ईयू

काठमाडौं : नेपाली वायुसेवामाथि प्रतिबन्ध छिट्टै हटाउने भन्दै गतवर्ष नोभेम्बर २८ मा युरोपेली युनियन (ईयू)को राजदुत नोना डिप्रेज र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले संयुक्त विज्ञप्ति निकाले।

विज्ञप्तिमा अन्तर्राष्ट्रिय सूरक्षा मापदण्ड नेपालले पूरा गर्दै गइरहेको भन्दै यसलाई ईयूले ध्यान दिएको उल्लेख थियो। प्राधिकरण पनि केही महिनामै नेपाली वायुसेवा ईयूको कालो सूचीबाट हट्नेमा विश्वस्त थियो।

तर, जनवरी १५ अर्थात माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भयो।

यो घटनापछि ईयू नेपाली वायुसेवालाई कालोसूचीबाट हटाउने निर्णयबाट पछि मात्र हटेन ईयूबाट हुने भनिएको भ्रमणसमेत स्थगित गर्याे। यसको जानकारी २३ जनवरीमा ईयू र प्राधिकरणको संयुक्त बैठकपछि निकालिएकाे विज्ञप्तिमा उल्लेख छ।

‘सन् २०२३ मा ईयूको सुरक्षा सूचीबाट हट्छौं होला भन्ने आशा थियो,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘यती एयरलाइन्सको जहाज दुर्घटनापछि तत्काललाई कालो सूचीबाट हट्ने संकेत देखिँदैन।’

ईयूले देखेको सुरक्षा चुनौती
हवाइ सुरक्षा अन्तर्राष्ट्रिय चासोको विषय रहने नै भयो। नेपाल नागरिक उडड्यन प्राधिकारणले इन्टरनेशनल सिभिल एभिएनस अर्गानाइजेशन (आइकाओ) अन्तर्गतको नियमहरू मान्नुपर्छ। सन् १९९८ देखि आइकाओले नेपालको हवाइ सुरक्षा तथा अडिटसमेत गर्दै आएको छ।

पहिलोपटक हवाइ सुरक्षा सम्बन्धी परीक्षण आइकाओले सन् २००९ मा गर्यो। सुरक्षामा नेपालले १ सय पूर्णाङ्कमा ४३ नम्बर पायो। त्यसपछि सन् २०१३ मा फेरि अनुगमन गर्दा ५५ अंक ल्यायो। न्यूनतम पनि ६० नम्बर ल्याउनुपर्नेमा नेपाल असफल भएपछि आइकाओले पनि कालोसूचीमा राख्यो।

तर, सन् २०१७ मा गरेको अनुगमनमा भने नेपालले ६६ अंक ल्यायो। ६० नम्बर कटाएसँगै आइकाओले कालो सूचीबाट हटायो। तर, ईयूले भने अझै पनि कालोसूचीमा राखिरहेको छ। गतवर्ष मात्रै आइकाओले अनुगमन गर्दा ७० नम्बर नेपालले प्राप्त गरेको छ।

प्राधिकरणका सूचना अधिकारी भुल भन्छन्, ‘आइकाओले हटाउँदा पनि ईयूले हटाउँदैन। उनीहरूसँग बुझ्दा दुर्घटना नै मुख्य कारण भएको बताउँछन्।’

नियमन र अनुगमन गर्ने एकै संस्था भएर ईयूले सूचीबाट नहटाएको हो कि भन्ने उकेराको प्रश्नमा सूचना अधिकारी भूल विश्वास गर्दैनन्।
‘हाम्रो देशमा मात्रै होइन फ्रान्समा पनि यहि अभ्यास छ,’ उनले भने, ‘प्राधिकरणको संरचनाको कारणले हामीलाई सूरक्षा सूचीबाट नहटाएको भन्ने सत्य होइन।’

२०६९ असोज १२ गते काठमाडौंको मनहरामा नदीमा सीता एयरको विमान दुर्घटना हुँदा ८ जना विट्रिस नागरिकसहित १९ जनाको मृत्यु भएको थियो।

अन्तर्राष्ट्रिय संस्थाले नै सुरक्षित भनेको विमान सेवालाई मापदण्ड पूरा गरेर चलाउँछौं भन्दा पनि युरोपमा चलाउन नदिनु नियमसंगत नभएको भूलको तर्क छ।

माघ २६, २०७९ बिहीबार १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।