जब भूकम्प गएको दुई दिनपछि भग्नावशेषबाट पूरै परिवारलाई जीवितै निकालियाे

जब भूकम्प गएको दुई दिनपछि भग्नावशेषबाट पूरै परिवारलाई जीवितै निकालियाे

एजेन्सी: उद्धारकर्मीहरूले भूकम्प गएको दुई दिनपछि भग्नावशेषमा पुरिएका एक सिरियाली परिवारका सबै सदस्यलाई जीवितै उद्धार गरेका छन्।

सोमबार टर्कीको पूर्वी भाग र छिमेकी देश सिरियामा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियाे। जसमा करिब ६ हजार भन्दा बढी भवन भग्नावशेषमा परिणत भएका छन्।

एकातर्फ भूकम्पले गरेको विनाश भय‌ंकर छ भने अर्कातर्फ हालको अत्यधिक चिसो मौसमका कारण त्यहाँकाे अवस्था झन् जटिल बनेको छ।

भूकम्पको दुई दिन बितिसक्दा लगातार रुपमा खटिएका उद्धारकर्मीहरूले ती भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकाल्न सकिने आशा मार्दै जान थालेका थिए।

तर बुधबार बिहान, ४८ घण्टापछि, आफ्नै घरले पुरिएर रहको एक परिवारको सबै सदस्यहरूलाई जीवितै निकाल्न उनीहरु सफल भए।

भूकम्पकाे केन्द्रविन्दु नजिकै रहेको एक अपार्टमेन्टकाे भग्नावशेषमा पुरिएर रहेका ३ वर्षीय आरिफ खानलाई सकुशल निकालिएको भिडियो हाल भाइरल भइरहेको छ।

यसअघि उनका बाबु र परिवारका अन्य सदस्यलाई पनि जीवितै उद्धार गरिएको एबीसी सेभेन न्यूजले जनाएको छ।

उनीहरू दुई दिनसम्म कठ्याङ्ग्रिने चिसो र अन्धकार भग्नावशेषमा च्यापिएर रहेका थिए।

यसैगरी, म‌ंगलबार पनि उद्धारकर्मीहरूले एक नवजात शिशुलाई जीवितै निकालेका थिए। ती शिशु भग्नावशेष भित्र आफ्नाे मरिसकेकी आमासँग टाँसिएर रहेका थिए।

भग्नावशेषले पुरिएर आमाको मृत्यु भए पनि भर्खरै जन्मेको बच्चा जीवितै रहनुलाई चमत्कारको रुपमा लिइएको छ।

त्यहाँ सोमबार ७.८ म्याग्निच्युडको भूकम्प गएको केही घण्टापछि नै झण्डै त्यति नै शक्तिशाली दोस्रो पराकम्प गएको थियाे।

जसका कारण हालसम्म ९ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भैसकेको छ। 

यस भूकम्पमा परी २० हजार मानिस हताहत भएको अनुमान उद्धार तथा राहतको समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले गरेका छन्। 

 

माघ २५, २०७९ बुधबार १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।