यौन दुर्व्यवहारमा दोषी भएका पाण्डेलाई मानव बेचबिखनमा सात वर्ष कैद

यौन दुर्व्यवहारमा दोषी भएका पाण्डेलाई मानव बेचबिखनमा सात वर्ष कैद

काठमाडौँ : सौन्दर्य प्रतियोगिताको नाममा बाल यौन दुर्व्यवहार गरेको र मानव बेचबिखनको अभियोग लागेका मनोज पाण्डेलाई सात वर्ष कैद सजायको फैसला भएको छ।

काठमाडौँ जिल्ला अदालतले उनलाई बाल यौन दुर्व्यवहारमा ६ महिना कैद सजाय सुनाएको थियो। सोही घटनामा उनीविरुद्धको मानव बेचबिखनको मुद्दामा भने ७ वर्ष कैद सजाय भएको छ।

उनी दुबै अभियोगमा दोषी ठहर भए पनि सोमबार मानव वेचविखनमा सजाय तय भएको हो। न्यायाधीश दीपक ढकालको एकल इजलासले पाण्डेलाई  ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय निर्धारण गरेको हो।

पाण्डे ग्लोबल भिसा सर्भिसेजका सञ्चालक हुन्। आठ वर्षअघि एक सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि बलात्कारको आरोप लगाएकी थिइन्।

टिकटक र इन्स्टाग्राममा भिडियो राख्दै एक युवतीले सौन्दर्य प्रतियोगितामा सहभागी गराउँछु भनेर पाण्डेले होटलको कोठामा लगेर बलात्कार गरेको र पछि विभिन्न होटेलमा बोलाएर आफ्नो साथीलाई समेत बलात्कार गर्न लगाएको आरोप लगाएकी थिइन्।

उनले भिडियोमा पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिनेक्रममा होटेलमा बोलाएर बलात्कार गरेको आरोप लगाएकी थिइन्। उनी पक्राउ परेपछि एक किशोरीले मोडलिङ गर्न सहयोग गर्ने भन्दै बोलाएर फोटो सेसन गराएर होटेल द्वारिकामा लगेर यौन दुर्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्।

आरोप सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेर बलात्कार मुद्दाको हदम्याद नाघेकाले उनीमाथि यौन दुरुपयोग  र मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो।

जिल्ला न्यायाधीवक्ताको कार्यालय काठमाडौँले असार १ गते पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको अभियोगमा १५ वर्षसम्म सजायको मागवादी गर्दै अभियोग पत्र दर्ता गराएको थियो।

माघ २३, २०७९ सोमबार १८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।