लुम्बिनीमा रामकथा वाचन गर्न लागेको विरोधमा प्रदर्शन, गैरबौद्ध क्रियाकलाप रोक्न माग

बुटवल : लुम्बिनीमा रामकथा वाचन गर्न लागेको विरोधमा सोमबार विहानैदेखि प्रदर्शन भएको छ।
संयुक्त बौद्ध धर्मालम्बी संघर्ष समितिले लुम्बिनीमा गैरबौद्ध क्रियाकलाप रोक्न माग गर्दै विरोध प्रदर्शन गरेको हो। उनीहरूले गैरबौद्व धार्मिक क्रियाकलाप लुम्बिनी क्षेत्रमा नगर्न आग्रह गर्दै प्रदर्शन गरेका हुन्।
मध्यान्ह केहिबेर आन्दोलनकारी र प्रहरीबीच भनाभन भयो। यद्यपि रूपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले प्रदर्शनमा तनाव नभएको दाबी गरे।
माघ २१ गते देखि २९ गतेसम्म लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने भनिएको प्रवचन विरोधको संकेत पाएपछि आयोजकले ३ दिन पछि सारेर माघ २४ गते देखि फागुन ३ गतेसम्मका लागि तयारी गरेका थिए।
यता लुम्बिनी विकास कोषले धार्मिक र सामुदायिक सद्भाव कायम गर्न सबैलाई अपिल गरेको छ। लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा वाचनका लागि कोषले अनुमति दिइसकेको छ।
कार्यक्रमबारे जानकारी पाएलगत्तै जनजाती महासंघका नेता आङ्काजी शेर्पा तथा बिशवेन्द्र पासवानले उक्त कार्यक्रम रोक्न दबाव दिँदै आएको लुम्बिनी विकास कोष स्रोतले जनाएको छ।
‘आङकाजी शेर्पा र बिशवेन्द्र पासवान बुद्धजन्मस्थलमा हिन्दुका कार्यक्रम गर्न किन दिएको भन्ने प्रश्न उठाउँदै कार्यक्रम नरोके जेसुकै हुनसक्ने चेतावनी दिएका थिए’, विकास कोष स्रोतले उकेरालाई भन्यो।
माघ २३, २०७९ सोमबार १५:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।