लुम्बिनीमा चढाइएको एक करोड १७ लाखको भेटी कागजको खोस्टो बराबर, राष्ट्र बैङ्कले साट्न मानेन विदेशी मुद्रा

लुम्बिनीमा चढाइएको एक करोड १७ लाखको भेटी कागजको खोस्टो बराबर, राष्ट्र बैङ्कले साट्न मानेन विदेशी मुद्रा

बुटवल: बुद्ध जन्मस्थल लुम्बिनीमा राखिएका दानपेटिकामा चढाइएको भेटी नेपाल राष्ट्र बैङ्कले साट्न सकेको छैन। विदेशी पर्यटकले चढाएका विदेशी मुद्राको भेटी नसाटिँदा ती केवल कागजको खोस्टो बराबर बनेको छ।

लुम्बिनीमा एक करोड १७ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा अहिलेसम्म साटिएको छैन। लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)का अनुसार गत पुष १ गतेसम्म एक करोड १७ लाख ९५ हजार ९६६ रुपैयाँ बराबरका विभिन्न ३९ वटा देशका मुद्रा राष्ट्र बैङ्कले सटही नगर्दा यत्तिकै थन्किएको हो।

नसाटिएका विदेशी मुद्रा लुम्बिनी विकास कोषले प्लास्टिकमा पोको पारेर राखेको छ। लुम्बिनी आउने पर्यटकले चढाउने भेटी लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको प्रमुख स्रोत मानिन्छ। तर, त्यही भेटीको रकम साट्न राष्ट्र बैङ्कले चासो नदिएको कोषाध्यक्ष भट्टराइले बताए। 

‘केही नीतिगत कुराहरू मिलाउनु पर्नेछन् भने मिलाउनुपर्छ। अहिले ३९ वटा देशका मुद्राहरू नेपाल राष्ट्र बैङ्कको मुद्रा सटही सम्बन्धी नीतिको कारण साट्न सकिएको छैन। यसमा विशेष ध्यान राष्ट्र बैङ्कले दिनुपर्छ’, उनले भने।

सटही नभई वर्षौँदेखि प्लास्टिकमा पोको पारेर राख्दा कतिपय मुद्रा फाट्ने र झुत्रा बन्दै गएकाले राष्ट्र बैङ्क, अर्थ मन्त्रालयमा पनि यसबारे जानकारी गराइएको लुम्बिनी विकास कोषले बताएको छ। 

राष्ट्र बैङ्कका अनुसार लुम्बिनी विकास कोषको अनुरोधमा राष्ट्र बैङ्कमार्फत विदेशी मुद्रा सङ्कलनको लागि पठाउने व्यवस्था छ।

सटही नभई थन्किएको अन्य विदेशी मुद्रामा पेरुको ६ लाख ५१ हजार ८३, भियतनामको चार लाख ९८ हजार ३९८, इण्डोनेसियाको दुई लाख ७० हजार ७४५, कम्बोडियाको एक लाख ९८ हजार ७०९, भुटानको एक लाख एक हजार ४९२ नेपाली रुपैयाँ बराबरको रहेको छ।

यसरी पठाइने मुद्राहरू सबै सटही हुने निश्चित नभएपछि पठाउन नसकिएको विकास कोषको भनाइ छ। नेपालमा विनिमय दर नतोकिएका मुद्राहरू राष्ट्र बैङ्कमा जम्मा गरेर विदेशस्थित सम्बन्धित देशको बैङ्क खातामा पठाएर पछि कोषलाई भुक्तानी दिन सकिन्छ।

कुन देशका कति छन् ?
दानपेटिकाबाट सङ्कलित मुद्रामध्ये सबैभन्दा धेरै म्यानमारका ‘क्याट’ रहेका छन्। त्यसपछि ओमान, पेरु, इण्डोनेसिया, भियतनाम, भुटानका छन्।

त्यसैगरी मङ्गोलिया, बङ्गलादेश, लाओस, पाकिस्तान, मेक्सिको, अर्जेन्टिना, फिलिपिन्स, अफगानिस्तान, मकाउ, ईरान, मोरिसस, युगान्डा, इराक, माल्दिप्स, चिली, स्वीडेन, रसिया, टर्की, ग्वाटेमाला, पोल्याण्ड, युक्रेन, ताइवान, जोर्डन, लेबनान, ब्राजिल, ईजिप्ट, ब्रुनाई, सियरा लिओन, नोर्गिज क्रोनर लगायत देशका मुद्रा छन्।

७३ लाख ४८ हजार १५८ नेपाली रुपैयाँ बराबरको ११ करोड ८० लाख ७९ हजार २५० क्याट सटही हुन सकेको छैन।

त्यस्तै पाँच हजार ३३९ ओमन रियाल सटही हुन सकेको छैन। जसको मूल्य नेपाली रुपैयाँ १७ लाख ७९ हजार ९६६ बराबर हुन आउँछ। 

यसैगरी आठ लाख ११ हजार ६८ नेपाली रुपैयाँ बराबरको २२ लाख ७७ हजार २३० श्रीलङ्कन रुपैयाँ पनि विकास कोषले प्लास्टिकभित्र पोको पारेर राखेको छ।

सटही नभई थन्किएको अन्य विदेशी मुद्रामा पेरुको ६ लाख ५१ हजार ८३, भियतनामको चार लाख ९८ हजार ३९८, इण्डोनेसियाको दुई लाख ७० हजार ७४५, कम्बोडियाको एक लाख ९८ हजार ७०९, भुटानको एक लाख एक हजार ४९२ नेपाली रुपैयाँ बराबरको रहेको छ।

नेपाल राष्ट्र बैङ्कले युरोप, अष्ट्रेलिया, हङकङ, कुवेत, क्यानडा, सिङ्गापुर, जापान, चीन, साउदी अरब, कतार, थाइल्याण्ड, यूएई, अमेरिका, मलेसिया, साउथ कोरिया, बहराइन लगायत २० वटा मुलुकका मात्र मुद्रा सटही गर्दै आएको छ।

लुम्बिनी भ्रमणका लागि मुलुकका विभिन्न स्थानबाट दैनिक आन्तरिक पर्यटक आइरहेका छन। लुम्बिनी बिकास कोषका अनुसार सन् २०२२ मा ६ लाख ४६ हजार ७८ जना आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। 

नेपाल राष्ट्र बैङ्कमा अन्य देशका मुद्राहरू सटही गर्ने व्यवस्था नभए पनि विकास कोषले भने हरेक पटक दानपेटिकामा सङ्कलन भएका मुद्रा गणना गर्दै राख्ने गरेको छ।

गत पुस १ गते गणना गर्दा दुई महिनाकै अवधिमा ६१ लाख २० हजार ८०६ रुपैयाँ सङ्कलन भएको थियो। लुम्बिनी विकास कोषले पाँच दिन लगाएर दानपेटीकाको भेटी गणना गरेको थियो।

अघिल्लो पटक तीन महिनामा एक पटक गणना गरिएकोमा यसपटक दानपेटिका छिट्टै भरिएकाले दुई महिनामा गणना गरिएको थियो। 

गत असोज ३० गते गरिएको गणनामा २७ लाख १८ हजार दानबापत रकम सङ्कलन भएको थियो।

लुम्बिनीमा विश्वभरबाट पर्यटक
पछिल्लो समय बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ। कोरोना महामारीका कारण सुनसान बनेको लुम्बिनीमा अहिले चहलपहल बढेको छ।

लुम्बिनी भ्रमणका लागि मुलुकका विभिन्न स्थानबाट दैनिक आन्तरिक पर्यटक आइरहेका छन। लुम्बिनी बिकास कोषका अनुसार सन् २०२२ मा ६ लाख ४६ हजार ७८ जना आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। 

कोषका अनुसार सन् २०२१ मा चार लाख ६३ हजार ९६३ जना लुम्बिनी आएका थिए। त्यसअघि सन् २०२० मा दुई लाख १० हजार आन्तरिक पर्यटक लुम्बिनी घुमेको तथ्याङ्क छ। 

दुई वर्षयता पर्यटकको सङ्ख्या बढदै गएको छ।

कोरोना सङ्क्रमण घट्दै अवस्था सहज बनेको कोषले जनाएको छ। मुलुकको सहज अवस्था, मोदीको लुम्बिनी भ्रमण र लुम्बिनीमा राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रम हुनाले पर्यटक, तीर्थयात्री, उपासकहरूको आगमन विस्तारै बढ्दै गएको पाइन्छ।

०००
विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी अत्यन्त महत्त्वपूर्ण तीर्थस्थल हो। हिन्दूहरूका लागि समेत लुम्बिनी महत्त्वपूर्ण धार्मिक गन्तव्य बनेको छ।

लुम्बिनीमा सबैभन्दा बढी आकर्षण मायादेवी मन्दिरमा छ। विभिन्न शताब्दीमा निर्मित मन्दिरका विभिन्न तहहरूले यसको महत्त्व तथा प्राचीनतामाथि प्रकाश पार्दछ। 

भगवान बुद्धको जन्मदृश्यसहितको प्राचीन मायादेवी मूर्ति यस मन्दिरभित्र छ। मन्दिरभित्रका भग्नावशेषहरू ई.पू. तेश्रो शताब्दीदेखि सातौँ शताब्दीसम्मका छन्।

माघ २३, २०७९ सोमबार ०८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।