रास्वपाले सरकार छाड्छ कि बस्छ?
काठमाडौं : सरकारमा बस्ने या छाड्नेबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय समितिको बैठक सकिए पनि निर्णय सार्वजनिक भएको छैन।
पार्टी सभापति लामिछानेको नागरिकतालाई सर्वोच्च अदालतले निष्क्रिय रहेको ठहर गरेसँगै उत्पन्न सङ्कटपछि सरकारमा सहभागिताबारे निर्णय गर्न पटक-पटक पार्टीको बैठक बसे पनि निर्णयमा पुग्न सकेको थिएन।
निर्णायक बैठक भन्दै शनिवार बेलुका साढे २ घण्टा बसेर राती ११ बजे पार्टीको बैठक सकिएको थियो। तर कुनै निर्णय आएन। आइतबार यसैबारे निर्णय गर्न प्रतिनिधि सभामा समेत नगएर पार्टीको बैठक राखिएको थियो।
यस अगाडिका बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव अनुसार नयाँ मन्त्रालय लिएर असल काम गर्ने र गृह मन्त्रालय नपाए सरकारमा बस्न नहुने पक्षमा केन्द्रीय समिति र संसदीय समिति विभाजित भएका थिए।
अधिकांशको मत सरकार छाड्नुपर्ने पक्षमा देखिएको थियो। आइतबार बैठक बस्नु अगाडि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटेर अन्तिम पटक गृह मन्त्रालय आफ्नो पार्टीलाई दिने या नदिनेबारे छलफल गरेका थिए।
प्रधानमन्त्री प्रचण्डको उही जवाफ आएपछि उनी पार्टी कार्यालय आएर बैठक सुरु गरेका थिए। लामिछाने अहिले सांसद छैनन्। तर उनी गैर सांसदको रूपमा छ महिना गृह मन्त्रालय सम्हालेर चितवन-२ बाट पुन निर्वाचित भएर आउने रणनीतिमा देखिन्छन्।
तर दोहोरो नागरिकता र राहदानी दुरुपयोगबारे जिल्ला प्रहरी परिसर काठमाडौँमा उनी विरुद्ध छानबिन जारी नै छ। रविले समेत आफू अमेरिकी नागरिक रहेकै बेलामा नेपाली राहदानी निकालेको स्वीकार गर्दै तर त्यसको प्रयोग नगरेको दाबी गर्दै आएका छन्। तर अध्यागमन विभागको रेकर्डमा उनले नेपाली राहदानी प्रयोग गरेर जापान, कोरिया र युएई गएको पुष्टि हुन्छ।
राहदानी दुरुपयोगको अनुसन्धान सकिएर जिल्ला अदालतमा मुद्दा पुगेका लामिछाने दोषी ठहर हुने सम्भावना बलियो देखिन्छ। तर उनी सोही अनुसन्धान प्रभावित पार्न गृहमन्त्रीका रूपमा आफैँ फर्कने या पार्टीका अन्य कुनै सांसदलाई पठाउने ढिप्पीमा बसेका थिए।
तर प्रधानमन्त्री प्रचण्ड पनि नागरिकताबारे सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशको पूर्ण पाठ नआएसम्म र राहदानी दुरुपयोगबारेको प्रहरी छानबिन टुङ्गोमा नपुगेसम्म उनको पार्टीलाई गृह र उनलाई मन्त्री बनाउन नसक्ने अडानमा बसेपछि सरकार र लामिछानेको सम्बन्ध तितो बनेको थियो।
माघ २२, २०७९ आइतबार १५:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।