रविको नागरिकता बहसमा न्यायाधीश-वकिलको रोचक सवाल-जवाफ' विदेशी नागरिक सांसद भयो भने उजुरी हाल्न को आउने हो?

रविको नागरिकता बहसमा न्यायाधीश-वकिलको रोचक सवाल-जवाफ' विदेशी नागरिक सांसद भयो भने उजुरी हाल्न को आउने हो?

काठमाडौँ : गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे प्रश्न उठाउँदै परेको रिटमा बुधवार बहसका क्रममा गृहसँगै सरकारी कार्यालयकोतर्फबाट बहस गर्न आएका सहन्यायाधीवक्ता सञ्जीव रेग्मी र न्यायाधीशहरुविच रोचक सवाल जवाफ भए।

रेग्मीले उम्मेदवार हुन नेपाली नागरिक भए हुने नेपाली नागरिकताको प्रमाण पत्र नचाहिने र उम्मेदवारबारे उसको प्रतिस्पर्धी बाहेक अन्यले योग्यताबारे प्रश्न उठाउन नपाउने तर्क गरेपछि इजलासमा रहेका न्यायाधीशसँग उनको सवाल जवाफ चलेको थियो। 

 

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संवैधानिक इजलासमा बुधबार बहस सुरु भएको थियो।

बुधवारको इजलासमा पहिला रिट निवेदकका पक्षधर कानुन व्यवसायीले बहस गर्दै विदेशी नागरिकता लिँदा नेपाली नागरिकता स्वतः निष्क्रिय हुने र पुन नेपाली नागरिकता लिन चाहनेले प्रक्रिया पुर्याएर लिन सकिने तर्क गरेका थिए।

लामिछानेको हकमा उनले अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः निष्क्रिय भएको तर उनले अमेरिकी नागरिकता त्यागेपछि सम्बन्धित निकायमा गएर नागरिकता पुन प्राप्तिको प्रक्रियामै नगएकाले उनले प्रयोग गरेको नागरिकताको प्रमाण पत्र अवैध हुने दाबी गरेका थिए।

रिटकर्ताको पक्षमा बहस सकिएपछि सरकारी निकायका तर्फबाट सहन्यायाधीवक्ता रेग्मीले बहस गर्दै रिट निवेदकहरूलाई लामिछानेको उम्मेदवारीको योग्यतामा प्रश्न गर्ने हक दैया नभएको भन्दै तर्क गरेका थिए।

प्रतिनिधि सभा ऐन तथा नियमावलीले प्रतिस्पर्धी उम्मेदवारले मात्र अर्को उम्मेदवारको अयोग्यतासम्बन्धी रिट दिने व्यवस्था गरेको दाबी गर्दै उनले रविको नागरिकताको विषय रिट निवेदनमार्फत नभई उजुरीका रूपमा संवैधानिक इजलासमा आउनुपर्ने तर्क गरेका थिए।

उनको तर्क सुनेपछि इजलासमा रहेका न्यायाधीश अनिलकुमार सिन्हाले कुनै उम्मेदवार अयोग्य हो भनेर जुन सुकै मान्छेले निवेदन दिन वा उजुरी गर्न पाउँदैन? भनेर प्रश्न गरेका थिए।

रेग्मीले जवाफमा उम्मेदवारको अयोग्यता सम्बन्धी विषय भएकाले ऐन नियमले प्रतिस्पर्धी उम्मेदवारले मात्र उजुरी गर्न पाउने दाबी गरे।

न्यायाधीश ईश्वर खतिवडाले कुनै तरिकाले विदेशी नागरिक सांसद भयो भने निवेदन लिएर उजुरी हाल्न को आउने हो? समानुपातिक सूचीमा रहेका उम्मेदवारको अयोग्यताबारे उजुरी कसले दिने? भनेर रेग्मीलाई प्रश्न गरेका थिए।

उनले नियम कानुनले सांसदको अयोग्यताको विषयमा प्रतिस्पर्धीले उजुर गर्ने सक्ने भनेको र यसलाई सार्वजनिक महत्त्वको इश्यु मान्ने कि नमान्ने भन्ने यही अदालतले व्याख्या गर्नुपर्ने बताए।

न्यायाधीश खतिवडा रोकिएनन्। उनले पुन प्रतिस्पर्धा गरेर हारेका उम्मेदवार उजुरी दिन नआए गैर नेपाली र अयोग्य मान्छे पनि सांसद भइरहने हो भन्दै प्रश्न सोध्दा रेग्मीले प्रस्ट उत्तर दिन सकेनन्।

रेग्मीले बहसमा नेपाली नागरिकता लिनु र नेपाली नागरिक हुनु फरक कुरा भएको तर्क गरेपछि न्यायाधीश खतिवडाले नेपाली नागरिकताको प्रमाण पत्र नलिएको व्यक्तिलाई पनि उम्मेदवार बनाउन मिल्छ भन्दै प्रश्न सोधेका थिए।

रेग्मीले नेपाली नागरिक भएको जनाउने अरू प्रमाण भए पनि पुग्ने तर्क गरेपछि न्यायाधीश खतिवडाले नेपाली नागरिक प्रमाणित गर्न अर्को कुन प्रमाणपत्र हुन्छ ?, तपाईँ लोकसेवा छिर्न नागरिकताको प्रमाणपत्र नभई मिल्थ्यो? भनेर सोधेका थिए।

उनले कानुनमा नागरिकताको प्रमाणपत्र नै चाहिन्छ भनेर लेखेको भए प्रमाण पत्र चाहिने भन्ने जवाफ दिएपछि खतिवडाले नागरिकता प्रमाणपत्र नलिएको व्यक्ति उम्मेदवार हुन पाउँछ कि पाउँदैन भनेर सोधेका थिए।

सहन्यायाधीवक्ता रेग्मीले संविधान र कानुनले नागरिक हुनुपर्ने भनेको तर नागरिकताको प्रमाणपत्र चाहिन्छ भनेर नभनेको तर्क गरेका थिए।

न्यायाधीश खतिवडाले प्रतिनिधिसभा नियमावलीको दफा ३ मा उम्मेदवारी दिँदा पेस गर्नुपर्ने कागजातमा नागरिकताको प्रमाणपत्र भनेर लेखिएको भनेपछि रेग्मीले 'त्यसो हो भने नागरिकताको प्रमाण पत्र पेस गर्नुपर्ने भनेर स्विकारे।

शुक्रबार यसबारे पुन बहस हुनेछ।

रवि लामिछाने नागरिकता सम्बन्धी समाचार

माघ ११, २०७९ बुधबार २३:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।